हाम्रो कृषि : अदुवा र बेसारखेती निर्वाहमुखीबाट व्यवसायीकता तर्फ बढ्यो
- श्रावण ७, २०८० मा प्रकाशित
कासिन न्यूज
दमौली ।
घिरिङ–१ अत्रौलीका रोमनाथ पोख्रेलले केही समयदेखि निर्वाहमुखीरूपमा अदुवाखेती गरेकोमा अहिले त्यसलाई व्यावसायिक बनाउन थालेका छन् । हाल उनले दुई रोपनी क्षेत्रफलमा खेती गरिरहेका छन् । उनी भन्छन् , “ रोपनीभन्दा माथिको जग्गामा खेती गर्नेलाई अनुदान दिने व्यवस्था ल्याएपछि खेतीलाई विस्तार गरेँ । अनुदानले हामीजस्ता कृषकलाई राहत मिल्छ ।”
अहिले तनहँुको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित भएका छन् ।
गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति कार्यान्वयनमा ल्याएको छ ।
घिरिङ –२ चिन्नेखोलाका शेरबहादुर थापाले पनि सुरुमा निर्वाहमुखी रूपमा मात्रै अदुवाखेती गरेकोमा गत वर्षदेखि अदुवाखेतीलाई व्यावसायिक बनाएका छन् । घिरिङ गाउँपालिकाले अदुवाखेती गर्ने कृषकलाई अनुदानको व्यवस्था गरेपछि थापाले अदुवाखेतीलाई व्यावसायिक बनाएको बताए ।
उनले भने , “अदुवाखेती गरेको त थुप्रै वर्ष भयो तर बेच्ने हिसाबले भन्दा पनि आफैँले प्रयोग गर्ने गरी खेती गरिरहेको थिएँ । तर स्थानीय सरकारले व्यावसायिकरूपमा खेती गर्नेलाई अनुदान दिने व्यवस्था मिलाएपछि यसलाई व्यावसायिक बनाउनेतर्फ लागेँ ।” हाल उनले चार रोपनी क्षेत्रफलमा अदुवाखेती गरिरहेका छन्।
घिरिङ गाउँपालिकाले अदुवा र बेसारखेती गर्ने कृषकलाई अनुदानको व्यवस्था मिलाएपछि कृषक यसतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले एक सय ४४ जना अदुवा कृषकलाई प्रतिव्यक्ति रु पाँच हजारका दरले रु सात लाख २० हजार वितरण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङमा उत्पादित अदुवा विभिन्न जिल्लामा निर्यात गर्न सकिने बताउँदै कृषक व्यावसायिक बन्नुपर्ने उल्लेख गरे । प्याज पाँच सय किलो, लसुन दुई सय ५० किलो र बेसार पाँच सय किलोभन्दा बढी उत्पादन गर्नेलाई समेत रु पाँच हजार अनुदान दिने व्यवस्था गरिएको अध्यक्ष थापाले बताए । उनले भने , “कृषकलाई कृषिमा प्रोत्साहन गर्न यो कार्यक्रम सुरु गरिएको हो ।”
सबैभन्दा बढी वडा नं ५ का कृषकले सो अनुदान प्राप्त गरेका छन् । वडा नं ५ मा ८९ जना, वडा नं ४ मा दुई, वडा नं ३ मा ४७ र वडा नं २ का छ जना कृषकले उक्त रकम प्राप्त गरेको कृषि शाखा प्राविधिक सहायक समीक्षा ढकालले जानकारी दिइन ।
यसैगरी जिल्लाको व्यास नगरपालिका–८ रिस्तीका कृषक बेसारखेतीमा आकर्षित भएका छन् । अन्य खेती बाँदरले खाएर हैरान भएपछि त्यसको विकल्पमा कृषकले बेसारखेती सुरु गरेका छन् । बीस जना कृषकले दुई सय रोपनी जग्गामा बेसारखेती गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । जग्गा बाँझो नराख्न र आयआर्जनमा जोड्ने उद्देश्यले कृषकलाई बेसारखेतीका लागि प्रोत्साहन गरिएको तिवारीको भनाइ छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments