फिचर /संगीत : युवा जोशले भरिन थाल्यो पाल्पामा संगीत क्षेत्र
- श्रावण १०, २०८० मा प्रकाशित
सुशीला रेग्मी,
रामपुर ।
यदी तपाई कुनै कुराको कारणले टेन्सनमा हुनुहुन्छ भने त्यसको मूल औषधी हो मधुर धुनमा एक लय बज्ने संगीत । हो यही संगीतले प्रेमीलाई उसको प्रेम उजगार गर्ने बाटो पहिल्याउने काम गर्छ । भन्नुको मतलव संगीतमा भावना लुकेको हुन्छ । जुन भावनाले तपाई एकतर्फी मोडमा लम्किन पनि सहयोग गरेको हुन्छ ।
अहिलेको कालमा सङ्गीत मन नपर्ने सायदै होलान् । संगीतले बालक भन्दैन न बृद्ध यसको रस कानमा पर्ने बित्तिकै कानको जाली उठी हाल्छ । यही संगीतको समुन्द्रमा डुबुल्की मारिरहेका छन् पाल्पा रामपुरका अनुप काफ्ले । उमेरले भर्खर १५ मात्र टेकेका काफ्लेलाई संगीत त्यसमा पनि बाधवादन सबैभन्दा प्यारो बनेको छ । संगीतको समुन्द्रमा डुबुल्की मारिरहेको यो ठिटो हरेक साँझ बाधवादनको छेउमा झुम्मिरहेको हुन्छ । बाधवादनको माध्यमबाट विभिन्न गीतहरुमा संगीत भर्ने देखी नयाँ नयाँ संगीतको परिकल्पना गर्न तल्लिन हुने यो ठिटाले आफनो दैनिकी चार वर्ष देखी यसरी नै बिताइरहेको छ ।
बाधवादनको माध्यमले गाउँसमाजमा राम्रै नाम कमाएको ठिटोले आफनो घरलाई नै बाधवादनको शिक्षा आर्जन गर्ने थलो बनाएको छ । आफूले जानेको ज्ञान अरुलाई बाढ्न पाउँदा खुशी महसुस गर्ने यो ठिटोका साथीहरु नै उसका चेला भएका छन् ।
अहिले पूरै घर नै संगीतमय वाताबरणमा रमेको छ । “सङ्गीत नभई बस्न सकिँदैन, घरमा बसेर विभिन्न ताल सिक्ने र यसमै आनन्द लिने गरिरहेको छु”, ठिटोले मिठो जवाफ दिँदै भन्यो , “घरमा बाजा पर्याप्त छन्, स्कुलमा सँगै पढ्ने तथा गाउँका साथी घरमै आउँछन्, उनीहरूलाई आफूले जानेको सिकाउने गरेको छु ।”
गाउँघरमा हुने भजनकीर्तन र महायज्ञबाट प्रभावित भएर घरमा मादल बजाउन सुरु गर्नुभएका काफ्लेले क्रमशः सारङ्गी, तबला, ढोलक, हार्मोनियम र अक्टोप्याड बजाउन सिक्नुभयो । अहिले उहाँ गाउँमा आयोजना गरिने महायज्ञ, भजनकीर्तन, धार्मिककार्यलगायतमा सहभागी भइ बाद्यवादनको काम गर्नुहुन्छ । घरमा रहेका विभिन्न थरिका बाजा बजाउन थालेपछि छुट्टै आनन्दको अनुभूति हुने गरेको रहेछ उनलाई । “विद्यालय समयबाहेक साँझ–बिहान घरमा बसेर सिक्ने गरिरहेको छु, अहिले गाउँका महायज्ञ, भजनकीर्तनजस्ता धार्मिक कार्यमा बोलाउनुहुन्छ, यस क्षेत्रमा धेरै आनन्द लागिरहेको छ”, उनले बताए ।
भजनकीर्तन र महायज्ञमा सहभागी भई आर्जन गरेको रकमले आवश्यक बाद्यवादनका सामग्री खरिद गर्ने गरेको ठिटोको भनाई थियोे ।धार्मिक कार्यमा सहभागी भएवापत आफूले एक घन्टाको समय बाद्यवादनमा खटिएवापत रु पाँच हजारसम्म रकम बुझेको बताउने काफ्लेले भविष्यमा राम्रो सङ्गीतकार बन्ने लक्ष्य राखेका रहेछन् ।
पारिवारीक साथ र सहयोग बिना केही नहुने मान्यता राख्ने काफ्ले पारिवारीक साथ राम्रो पाएको बताए । एसइई परीक्षा उत्तीर्णपश्चात सङ्गीत र संस्कृत शिक्षा पढ्ने योजना उनको रहेछ । यसैगरी काफ्लेको जस्तै रामपुरकै विष्णु पोखरेलको पनि सङ्गीतमा औधी रुचि छ । घरमा काका ऋषि पोखरेलबाट मादल बजाउन सिकेका १४ वर्षीय पोखरेललाई यतिबेला बाद्यवादनप्रति प्रेम नै बसेको छ ।
मादल, हार्मोनियम र गीतारमा उनी राम्रो ताल भर्छन् । पोखरेललाई यसका अलवा अन्य बाजाको मोह उत्तिकै छ । विद्यालय बिदाको समय अहिले उहाँ अन्य बाजा बजाउन सिकिरहेका छन् । पोखरेल भन्छन् , “सिक्न थालेपछि सङ्गीतबिना एकछिन बस्नै सकिँदैन, विद्यालय समयबाहेक घरमा बाजासँगै समय बिताउने गरेको छु, विद्यालयमा सङ्गीत कक्षा भएको भए सिक्न धेरै सजिलो हुन्थ्यो, तैपनि घरमा भएका तथा साथीसँग भएका बाद्यवादनका सामग्रीलाई आलोपालो गरेर सिक्दै छु ।”
पोखरेलको घरमा हार्मोनियम, मादल, खैजडी, सारङ्गी, बाँसुरी, गितारलगायत बाजा छन् । साँझ–बिहान यी बाजाका धुनले घर गुञ्जायनमा बन्दछ । भविष्यमा बाद्यवादनको क्षेत्रमा राम्रो गर्ने सोच उनको छ ।
यस्तै रामपुरकै शौरभबाबु घिमिरे पनि तीन वर्षदेखि सङ्गीतमै रमाएका छन् । घरमै बसेर मादल बजाउन सिकेका घिमिरेले साथीहरुसँग यससम्बन्धी ज्ञान आर्जन गरिरहेका छन् । पढाइ नबिग्रने गरी आफूलाई मनपर्ने बाजा साथीको घरमा गएर बजाउन सिक्ने गरेको घिमिरे बताउँछन् । मादल, किबोर्ड र गितारका धुनमा उहाँ खाली समय बिताउछन् ।
अक्टोप्याड, हार्मोनियमलगायत बाजामा ताल भर्न सिक्दै गरेका घिमिरे सङ्गीतको क्षेत्रमा केही गर्ने मनसाय बोकेर बाद्यवादनलाई निखारता दिन लागी परेका छन् । “उनको पनि परिवारले उनलाई राम्रै साथ दिएका रहेछन् । बाद्यवादनका सामग्री खरिदमा सहयोग गरेका उनका परिवारले गर्दा उनमा एक प्रकारको जोश जागेको छ । परिवारको सहयोग पाएकाले बाद्यवादन क्षेत्रमै नाम कमाउने धोको उनको छ ।
सङ्गीतले हरेक उमेरका व्यक्तिलाई तान्ने गर्दछ । मानिसमा भएका तनाव, पिर, दुःख, बोझलाई सङ्गीतको धुनले भुलाइदिएको हुन्छ । साहित्य र सङ्गीतका अनेकौँ रूप छन् । शब्दको सङ्गमबाट मर्मस्पर्शी गीत सिर्जित हुन्छ र सात सुर तथा सरगमको सङ्गमबाट सुमधुर सङ्गीत प्रवाहित हुन्छ । गीत–सङ्गीत–साहित्य मानव जीवनको प्राण नै हो । मानव मनभित्र पनि एक किसिमको सङ्गीत पैदा भएर तरङ्गित भइरहेको हुन्छ ।
रामपुर नगरपालिकाभित्र बाद्यवादनसम्बन्धी कक्षा नभएकाले धेरै यस क्षेत्रमा रुचि भएर पनि सीप सिक्नबाट बञ्चित छन् । एक स्थानीय तहमा एउटा विद्यालयमा सङ्गीतसम्बन्धी कक्षा सञ्चालन गर्न यस क्षेत्रमा भविष्य बुन्दै गरेका बालबालिका तथा किशोर किशोरीको माग छ । खासगरी मानिसको प्रत्येक समयको अनुभूतले मनमा त्यस्तै किसिमको सङ्गीत पैदा भइरहेको हुन्छ ।
दुःख, सुख, हाँसो, आँसु सबै किसिमको संवेग तथा परिस्थितिमा त्यसैमा मेल खाने सङ्गीतको झन्कार मनमा झङ्कृत भइरहेको हुन्छ । त्यसै समयमा मनभित्रको धुनसँग मिल्दोजुल्दो बाहिरी सङ्गीत सुन्न पाइयो भने त्यसले अभैm सार्थकता पाउँछ र गहिरोसँग सङ्गीतले हृदयमा छाप छोड्छ । त्यही बाहिरी सङ्गीत अथवा धुन कालान्तरमा गएर अतितको स्मरणमा सहयोगी सावित हुन्छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments