फिचर/ पिठो मिठो पानीघट्टको : प्रविधिको विकास सँगै पानीघट्टप्रतिको आकर्षण घट्न थाल्यो
- श्रावण १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
कास्की ।
घट्टमा पिसेको पिठो र स्वादको बयान गरि साध्य छैन् । मूलतः गाउँघरको लागि घट्टको यात्रा सामान्य भएपनि शहरी रितमा भने यो एउटा अनौठो नै मान्नुपर्छ ।
कास्की की देउकुमारी तामाङको जीवनी नै घट्ट धाउँदै बित्न थालेको छ । देउकुमारीलाई घट्टमा पिसेको पिठोको ढिँडो खान औधी मन पर्छ । त्यसैले उनले जहिले पनि कोदोको पिठो घट्ट मै पिस्ने गरेकी छिन् ।
देउकुमारी एउटा देखीएको पात्र मात्र हुन् । सिदिङ गाउँका अधिकांश कोदो पिसाउन घट्टमै धाउने गर्छन् । तर आजकल भने पानी नपुग्ने तथा भएका घट्टको संरक्षण नहुँदा देउकुमारीको चिन्ता बढेको छ । आफूले थाहा पाउँदा गाउँमै तीन घट्ट भएकामा अहिले एउटा मात्र चालु अवस्थामा रहेको देउकुमारीले सम्झिन । “पहिले गाउँले सबैले घट्ट प्रयोग गर्थे । अहिले मिल आएको छ । त्यसले गर्दा यसको महत्व घट्दै गएको छ”, देउकुमारीले भनिन , “हाम्रै गाउँमा पनि तीन घट्ट थियो । अहिले एउटा भत्किसक्यो । अर्को चल्दैन । अब एउटा बाँकी छ । यो पनि कहिलेबाट नचल्ने हुन्छ ।”
सिदिङकी सरस्वती अधिकारीको परिवारले अझैसम्म पानीघट्ट सञ्चालन गरेका छन् । परिवारको प्रमुख आयस्रोत नै पानीघट्टबाट हुने आम्दानी रहेको छ । “गाउँमा जग्गा÷जमिन धेरै हुनेले खेती गर्छन्, हामीले घट्ट चलाउँछौँ”, अधिकारीले भनिन , “प्रतिपाथी पिसेको अन्नको ज्यालाबापत तीन पाथीको दुई माना अन्न राख्छौँ, यसैबाट हाम्रो परिवार धानेका छौँ ।”
परम्परागतरुपमा अन्न पिसानीका लागि घट्ट, जाँतो, ओखल तथा ढिकी प्रयोग हुने गथ्र्यो । पुर्खाले प्रयोग गरेको पानीघट्टले पिसेको पिठो स्वादिलो हुने र पौष्टिक तत्व खेर नजाने भएकाले आफूहरुले पनि यसलाई निरन्तरता दिएको भनाई उनको थियो । प्रविधिको विकाससँगै बिजुलीबाट चल्ने मिलमा पिस्न छिटो हुने भएकाले पानीघट्टप्रतिको आकर्षण घटेको उनले बताइन ।
विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा कास्कीका ग्रामीण भेगबाट रैथाने सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानीघट्ट लोप हुने अवस्थामा पुगेका छन् । कतिपय ग्रामिण भेगमा घट्ट लोप भइसकेको बताउँदै घट्ट सञ्चालिका अधिकारीले यसको संरक्षणका लागि सरकारी पक्षबाट योजना बनाउनुपर्नेमा जोड दिए ।
पछिल्लो समय आफूले आयस्रोतका लागि भन्दा पनि रैथानै सीप र प्रविधि जगेर्ना गर्ने उद्देश्यले घट्ट चलाइरहेको उनले बताइन । यो सञ्चालनका क्रममा धेरै समस्या भोग्नुपरेकाले यसको संरक्षण गरी निरन्तरताका लागि सरकारले सहयोग गरिदिए आभारी हुने भनाई उनको थियो ।
“हाम्रो गाउँमा भएका तीन घट्टमध्ये अहिले हामीले मात्र चलाएका छौँ । यसमा पनि कहिले पानी पुग्दैन । काठको मदानी छ बेलाबेलामा भाँच्चिन्छ”, अधिकारीले भनिन , “पानीका लागि पाइप अनि फलामको मदानी पाइन्छ कि भनेर वडामा भनेका छौँ । फलामको मदानी किन्न अनुदान पाइन्छ कि भन्ने आशा छ तर अहिलेसम्म पाएका छैनौँ ।” अघिल्लो जनप्रतिनिधिका समयमा अनुदानका लागि वडामा गएको भन्दै पनि नयाँ जनप्रतिनिधि आएपछि नगएको उनले सुनाइन ।
पानीघट्ट भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्नु आवश्यक रहेको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर अधिकारीले बताए । उनले भने घट्ट सञ्चालकलाई आवश्यक अनुदानको व्यवस्था गरेर रैथाने सीपको संरक्षण गर्नुपर्नेमा जोड दिइने छ । वडाभित्र रहेका घट्ट सञ्चालनका लागि पानीको स्रोत सुनिश्चितता गर्ने योजना रहेको जानकारी उनले दिए ।
वडाले फलामको मदानी दिने योजना बनाइरहेको भन्दै पानीको स्रोत, फलामको मदानीलगायत आवश्यक सामग्रीका लागि सहयोग गरिने वडाध्यक्ष अधिकारीले बताए । “हाम्रो वडामा भएका तीन वटै घट्ट सञ्चालनमा ल्याउनका लागि पानीको सुनिश्चितता गर्ने योजना बनाएका छौँ”, उनले भने, “हिउँदमा पनि चलाउन सकुन् भनेर पानीका लागि पाइपको व्यवस्था गर्ने तयारी भइरहेको छ ।”
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments