कृषि/ बाख्रापालन : बाख्राले भरिएको चन्दको फार्म हाउस गाउँको लागि आर्कषक बन्न थाल्यो

- श्रावण २०, २०८० मा प्रकाशित


कासिन न्यूज,
बैतडी ।

भारतको राजस्थानबाट ल्याइएका सिरोही, तोतापरी, अजमेरी, बोयर, गुज्री जातका बाख्राले सुरेशचन्दका फार्म भरिएका छन् । त्यसैमा मिसिएको छ सिरोही जातको ‘भीम’ नाम गरेको बोका । जसको तौल एक सय ८० किलो छ ।
पेशाले निर्माण व्यवसायी रहेका बैतडी ग्वाल्लेकका सुरेशचन्द अहिले बाख्रा पालक भएका छन् । उनको बाख्रापालन सबैलाई आकर्षित गर्ने लोभलाग्दो खालको छ । सुरुवाती व्यवसायका लागि रू पाँच करोड लगानी गरेका चन्दको फार्ममा अहिले १ सय ५० उन्नत जातका बाख्राहरु रहेका छन् ।
उन्नत जातका बाख्रा छिटो बढ्ने र फाइदा पनि राम्रो हुने भएकाले स्थानीय जातभन्दा उन्नत जात छनोट गरिएको हो चन्दले बताए । चन्दले गत वर्ष मात्र ‘ग्वाल्लेक एग्रो फार्म प्रालि’स्थापना गरी स्थानीय खरी जातका बाख्राबाट व्यवसाय सुरु गरेका हुन् । “बाख्रा पाल्नका लागि चार तलाको पक्की घर निर्माण गरेर गत वर्षदेखि खरी जातका बाख्राबाट व्यवसाय सुरु गरेको थिए ।
कम्पनी दर्ता गरेर बाख्रापालन सुरु गरेका चन्दले छ जनालाई रोजगारीसमेत दिएका छन् । बाख्रा फार्ममा अहिले पशु प्राविधिकसहित छ जनाले रोजगारी पाएका छन् । उनले भने , “यहाँ भएका बाख्राको बिहान नियमितरुपमा स्वास्थ्य जाँचका लागि पशु प्राविधिक राखेका छौँ । बाख्राको स्याहार, सरसफाइ तथा चरनका लागि अन्य पाँच जनालाई रोजगारी दिएका छौँ ।”
बर्खायाममा चरनको समस्या हुने भएकाले फार्ममै मकैको साइलेज, गहुँको भुसा, स्थानीय घाँस र पिना खुवाउने गरिएको चन्दले बताए । पेसाले निर्माण व्यवसायी भए पनि कृषि क्षेत्रमा केही गर्ने उद्देश्यले गाउँमा बाख्रा पालन थालेको भनाई उनको थियो ।

“गाउँमा मलामी र विवाहका लागि युवा भेटिन छोडेका छन् । सबै युवा विदेश पलाएन भएका छन् । स्वदेशमै व्यवसाय गरेर पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि बाख्रापालन थालेको हुँ”, चन्दले भने । बाख्रापालनसँगै आगामी दिनमा कालिज, गाई, भैँसी र बङ्गुरपालन पनि गर्ने योजना रहेको उनले बताए । स्थानीयस्तरमा मासु र दूधमा आत्मनिर्भर बन्नु पर्ने उनको छ ।
बुवाबाजेको आठसय रोपनी जमिन रहेको बताउँदै चन्दले उक्त खाली जमिनलाई संरक्षण गरी बाख्रालाई चरनका लागि उपयोग गरिरहेको बताए । “नेपाल कृषि प्रधान देश भएकाले कृषिमै आत्मनिर्भर बन्ने उद्देश्यले बाख्रापालन थालेको हुँ, उनले भने ।”

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर