•  २५ पुष २०८१, बिहीबार

सिरियाली सेनाको बसमा आइएसको आक्रमण : २३ सैनिकको मृत्यु, कैयौँ सैनिक हताहत

- श्रावण २६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

युद्धग्रस्त सिरियाको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा २३ सैनिकको मृत्यु भएको छ ।

सन् २०१९ मा सिरियामा आफ्नो अन्तिम भू–भाग गुमाएपनि आइएसले सिरियाको विशाल मरुभूमिमा लुकेर बसेको स्थानबाट अक्कल झुक्कल आफ्नो उपस्थिति देखाउँदै आएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले इस्लामिक स्टेट (आइएस)का सदस्यले बिहीबार देइर एजोर प्रान्तमा एउटा सैन्य बसलाई निशाना बनाएको जनाएको छ ।

सिरियामा रहेका स्रोतको नेटवर्कमा निर्भर रहेको बेलायतस्थित उक्त समूहले पछिल्लो आक्रमणमा परी २३ सैनिकको मृत्यु हुनुका साथै अन्य १० जनाभन्दा बढी घाइते भएको जनाएको छ ।

सिरियाको विशाल बाडिया मरुभूमिमा रहेको देइर एजोर प्रान्तको मायादीन क्षेत्रमा जिहादीहरूले बसलाई घेरेर गोली चलाएपछि भएको झडपपछि दर्जनौं (अन्य) सैनिक सम्पर्कमा आउन सकेका छैनन् ।

सिरियाको सरकारी समाचार संस्था सानाले नाम नखुलाइएका एक सैन्य स्रोतलाई उद्धृत गर्दै उक्त ‘आतङ्ककारी हमला’का कारण कैयौँ सैनिक हताहत भएको जनाएको छ ।

सिरियाली सरकारी सेना र उनीहरूका सहयोगी इरानी समर्थित सशस्त्र समूहहरू शुक्रबार बिहान डेर एजोरमा तैनाथ उच्च सतर्कतामा रहेको अब्जरभेटरीले जनाएको छ ।

अब्जरभेटरीका रामी अब्देल रहमानले भने, “आइएसले सम्भव भएसम्म धेरैभन्दा धेरै मृत्युहरू निम्त्याउने लक्ष्यसाथ पछिल्लो समय आफ्नो घातक सैन्य आक्रमणलाई बढाइरहेको छ ।”

जिहादीहरूले यसो गरेर ‘आफ्ना नेताहरूमाथि लक्षित सैन्य कारबाही हुँदासमेत पनि’ समूह अझै सक्रिय र शक्तिशाली छ भन्ने सन्देश दिन खोजेका छन्,” उनले एएफपीलाई भने । गत साता इस्लामिक स्टेटले आफ्ना नेता अबु अल हुसेन अल हुसैनी अल–कुरैशीको मृत्यु भएको घोषणा गरेको थियो ।

समूहका प्रवक्ताले टेलिग्राम सन्देश एपमा आफ्नो च्यानलमा रेकर्ड गरिएको सन्देशमा अबु हफ्स अल–हाशिमी अल–कुरैशी भनिने नयाँ नेताको घोषणा गरेका छन् ।

सन् २०१९ को मार्चमा आइएसले सिरियामा आफ्नो कब्जामा रहेको अन्तिम भूभाग अमेरिकी नेतृत्वको गठबन्धनसमर्थित कुर्दिश नेतृत्वको प्रतिआक्रमणका कारण गुमायो, तर जिहादी अवशेषले घातक आक्रमण जारी राखेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर