पहेँले धातु माथि माओवादी नेताहरुको प्रेम : महरालाई अनुसन्धानमा तान्ने आँट छ प्रधामन्त्री दाहाल र गहृमन्त्री नारायणकाजीमा ?
- श्रावण २९, २०८० मा प्रकाशित
सुधीर नेपाल,
काठमाडौं ।
अहिले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अनौठो भूमरीमा परेका छन् । कम्युनिष्ट राजनीतिमा राम्रै नेताको चिनारी पाएका गृहमन्त्री नारायणकाजी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकै नजिकका कारिन्दाको रुपमा परिचित छन् ।
माओवादी केन्द्रमा हुने हरेक डिसिजनहरुमा अध्यक्ष दाहालले गृहमन्त्री नारायणकाजीलाई एउटा सल्लाहको पात्र बनाएका हुन्छन् । जति पटक प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व गरे त्यो बेला प्रधानमन्त्री दाहालको कवचको रुपमा अहिलेका गृहमन्त्री नारायणकाजी उभिएका हुन्थे । अर्थात प्रधानमन्त्री दाहालले गर्ने हरेक डिसिजनको पछाडी गृहमन्त्री नारायणकाजीको सल्लाहले ठूलो भूमीका खेल्ने नारायणकाजी निकट नेताहरु बताउने गर्छन् ।
अहिले देशको राजनीतिक माहोललाई राम्ररी अध्ययन गर्ने हो भने खासै मुलायम खालको छैन् । देशमा देखीएका विभिन्न भष्ट्राचारका काण्डहरुले अहिले देशको राजनीतिलाई पेशा बनाएर हिड्नेहरुको टाउको दुखाई भएको छ । भने देश कुन दिशामा जाँदै छ भन्ने टुँगो छैन् ।
देशमा देखीएका विभिन्न काण्डहरु जस्तै भुटानी शरणार्थी, ललिता निवास देखी अहिले १०० किलो सुनकाण्ड सम्म आइपुग्दा देशले कुन अवस्थामा आफूलाई बगाइरहेको छ भन्ने कुरा प्रमाणित हुन्छ ।
यी काण्डहरुका पछाडी राजनीतिमा आफनो अब्बलता ठान्ने ठूला दलका नेताहरुको प्रत्यक्ष संग्लनता भएका कुराहरु पनि बाहिरी रहेका छन् । तर अहिले सरकारको नेतृत्व गरेका माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री दाहाल आफै संकोचमा छन् ।
किनकी अहिले देखीएको जल्दोबल्दो १०० किलो सुनकाण्डको जालोको कारण उनकै दलका बरिष्ठ नेता उपाध्यक्ष कृष्ण बहादुर महरा सहित उनको छोरा राहुललाई तानेको छ ।
त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलका निरन्तर सम्वाद भएको कल रेकर्डमा देखीएको कुरा बाहिरीए पछि सुनमा महराको हात भएको आशंका गरिन थालिएको छ । सुनको जालोमा यसरी प्रत्यक्ष रुपमा संग्लन रहे पनि महरा छोरा बाउलाई प्रहरीले सोधपुछसम्म नगरेपछि सरकारमाथि पनि ठूलो प्रश्न उठेको छ ।
अहिले त्यही प्रश्न प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजी तर्फ सोझीएको छ । तर जति प्रश्न सोझीए पनि महरा माथि अनुसन्धान हुन्छ भन्ने कुरा तपसिल मात्र हो ।
मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा महराबारे कुरा उठेको एक पदाधिकारीले बताएका थिए । सुरुमा प्राप्त प्रमाणले महराको संलग्नता नदेखेको भए पनि अहिले कल डिटेल आएकाले अब महराले यसबारे प्रष्ट पार्नुपर्ने माओवादीका केन्द्रका नेताहरुको जोड छ ।
उता एक क्विन्टल सुन काण्डमा मुछिएका चिनियाँ नागरिकसँग जोडेर प्रश्न उठेपछि उपमहासचिव वर्षमान पुनले स्पष्ट पारेका थिए भने उपाध्यक्ष महरा भने चुपचाप छन् । सुन काण्डको बिषयलाई लिएर संसदमा हँगामा मच्चाई रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय समिति कस्तो हुन्छ भनेर पोहोर नै हेरिएको बताएका छन् । ‘सभापति उहाँहरुकै चाहिन्छ, बहुमत उहाँहरुकै चाहिन्छ’, । सुन तस्करीको कहानी नै गलत हो, प्रतिपक्षले बनाएको हो भन्ने बेर छैन ।’
शान्तिवार्ताको झोला बोकेर उपत्यकामा शान्तिको वार्ता गर्दै राज्यलाई जनयुद्धबाट पार लगाएका प्रधानमन्त्री दाहालले जसै आफनो दललाई सामूहिक राजनीतिक दलका रुपमा रुपान्तरित गरे । त्यसपछिका दिनहरुमा सत्ता र राज्यका सुख सुविधाले बिगतमा गरेका वाचाहरु विस्तारै बिस्मृत हुन् थाले ।
भने उनी र उनका दलका नेताहरुलाई राज्य दोहन गर्ने राम्रै मौका मिल्यो । त्यसमाथि जहिले राज्य सत्तामा आफनो प्रधानमन्त्री दाहालले आफनो पाउ राख्थे । उनका दरसन्तानहरुमा राज्यको ढुकुटी स्वाहा पार्ने र कसरी आर्थिक आफनो अब्बलता हासिल गर्ने सोच मात्र हुने गथ्र्यो ।
सत्ता र शासनको भूतले प्रधानमन्त्री दाहाल लगायत उनका दलका एक से एक नेताहरुलाई यसरी छोयो कि त्यो अब आजन्म नमेटिने भएको छ । अहिले बिगतमा अरुलाई सामन्ती र शोषकको संज्ञा दिने प्रधानमन्त्री दाहाल आफै यसका मतियार भएका छन् ।
माहुरीले छोपेर राखेको शासन र सत्तालाई पनि धपाएर माहुरीको मिठो महको स्वादमा लिन पल्केका प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजीमा उपाध्यक्ष महरा उनका छोरा माथि अनुसन्धान गर्ने आँट छैन पनि । यदी आँट हुँदो हो भने पनि उनीहरुले यो अनुसन्धान अगाडी बढाउँदैन् । बरु सुन काण्डको माहोललाई परिवर्तन गर्ने तर्फ प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजीको ध्यान केन्द्रित हुने कुरा स्पष्ट छ ।
यो प्रकरणमा प्रहरी र सरकारी वकिल कार्यालयले नै अस्वाभाविक नीति लिएका छन् । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा सुन तस्करीको विवरण कागज, अनुसन्धानका क्रममा खुल्न आएको ९ केजी ११.५२४ ग्राम सुनको बजार मूल्य ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रहेको भन्ने काठमाडौं सुनचाँदी व्यवसायी संघको पत्र र कल डिटेल रेकर्ड संलग्न छ ।
प्रहरीले महरा बाबुछोराले गिरोहका विभिन्न व्यक्तिसँग २ सय ५६ पटक संवाद गरेको भन्दै प्रहरीले ‘लिंक चार्ट’ नै बनाएको छ । त्यतिमात्र होइन, कृष्णबहादुर महरा र राहुल महरा पनि तस्कर समूहमा संलग्न भएका किटान नै प्रतिवेदनमा गरिएको छ । यही विवरण अदालतमा पेस गरिएको अभियोजनपत्रमा पनि उल्लेख छ ।
सुन विमानस्थलमा रोकिएको अवधिमा गिरोहसँग महराले छोरा निर्मलका नाममा रहेको मोबाइलबाट २२ पटक र अर्का छोरा राहुलले २ सय ३४ पटक टेलिफोन संवाद गरेको अनुसन्धानबाट खुलिसकेको छ । त्यतिमात्र होइन, महरा बाबुछोरा यो प्रकरणमा संलग्न रहेको भनेर पनि प्रतिवेदनमा स्पष्ट उल्लेख छ । तर, प्रहरीले न उनीहरूमाथि अनुसन्धान गरेको छ, न पार्टीले नै केही कारबाही गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments