डेंगु प्रकोप : धरानमा स्वास्थ्य संकटकाल घोषणाको माग >संक्रमितको संख्या १० हजार माथि > संक्रमणका कारण ११ जनाको मृत्यु

- श्रावण २९, २०८० मा प्रकाशित


कासिन न्यूज,
धरान ।

गत बैसाख देखी स्वास्थ्य प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार माथि नाघेको छ । अहिले धरानमा मात्र यो संक्रमणले १० हजार भन्दा बढिलाई आक्रमण गरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता बताउँछन् । आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण देखिएको छ । परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको जानकारी महाशाखा प्रमुख मेहताले दिए ।

यही संक्रमणका कारण धरानमा मात्र ११ जनाको मृत्यु भै सकेको छ । मृत्यु हुने १० वर्षदेखि ८४ वर्षसम्मका छन् । मृतक ११ जनामध्ये एकजना उदयपुरका छन् । बाँकी १० जना धरानका हुन् ।
उपमहानगरपालिकाका महाशाखा प्रमुख मेहताले दिएको जानकारी अनुसार साउन १७ गते धरान १५ की ४६ वर्षीया एक महिला र साउन १८ गते धरान ११ का २१ वषर्षीय पुरुषको मृत्यु भएको छ । उनीहरुको मृत्युको जानकारी १० दिनपछि मात्रै उपमहानगरलाई भएको थियो ।

धरानमा डेङ्गुका कारण जेठ २३ गते ३० वर्षीय महिला, असार १५ गते ४०, वर्षीय महिला, साउन २ गते ७९ वर्षीय पुरुष र ८४ वर्षीय महिला, साउन ३ गते ५३ वर्षीय महिला, साउन ७ गते ५६ वर्षीय पुरुष, १० गते २९ वर्षीय महिला र साउन ११ गते १० वर्षीय बालिकाको मृत्यु भएको थियो ।

धरानमा घर–घरमा डेंगु संक्रमित छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र निजी स्वास्थ्य संस्था डेंगुका बिरामीले भरिएका छन् । संक्रमितको उपचारका लागि वडा कार्यालयहरुमा पनि बिरामीलाई राख्ने गरिएको छ । सभागृह र उद्योग वाणिज्य संघमा पनि संक्रमितलाई राखेर उपचार भइरहेको मेहताले जानकारी दिए ।

स्वास्थ्य संकटकाल घोषणाको माग
संक्रमण फैलिएपछि स्थानीय प्रशासनले धरानमा जनस्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धरानमा जनस्वास्थ्य संकटकाल घोषणाका लागि गृह मन्त्रालय र प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयमा आग्रह गरेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरानको अवस्थालाई मध्यनजर गर्दै ‘जनस्वास्थ्य आपतकालीन अवस्था’ घोषणाका लागि केन्द्र र प्रदेश सरकारलाई अनुरोध गरेको बताइन् ।
साउन २६ गतेको बैठकपछि संघ र प्रदेशलाई ‘जनस्वास्थ्यको आपतकालीन अवस्था घोषणाका लागि सिफारिस गरेको हो । त्यसअघि स्वास्थ्य कार्यालयले जनस्वास्थ्यको आपतकालिन अवस्था घोषणाका लागि विपद व्यवस्थापन समितिलाई पत्र पठाएको थियो ।
धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जिल्ला तहबाट केन्द्र र प्रदेशमा आपतकालीन अवस्था घोषणाका लागि अनुरोध भएको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर