कविता : ए आमा !

- श्रावण ३०, २०८० मा प्रकाशित


प्रदिप ढकाल

ए आमा,
च्याँच्याँ गर्दै धर्तीमा आएँ
सबै पराई सबै बिरानो
अत्तालिँदै चिच्याएर रोइरहेँ
अझै ठूलो बनाएर धर्तीमा ल्याएको भए
अझै धेरै वर्ष आँफूभित्रै समेटी
जन्मदेखि मृत्युपर्यन्त सहारा खोज्ने
असहाय रुपमा नजन्माएको भए
जीवनको स्वरुप पूर्ण पो हुन्थ्यो कि ?
आफ्नै जाति मानवसँग रहँदा
जीवन सुरम्य बन्थ्यो कि ?
प्रेमको ब्यथाले हृदयमा लागेको घाऊ
जीवनभरको व्यथा बन्दैनथ्यो कि ?
ए आमा,
प्राणी दुनिया हेर त –
हात्तीको छावा दौडिहाल्छ
गाइको बाच्छा उफ्रिहाल्छ
मृग शावक नाचिहाल्छ …
तर, मलाई हेर त –
सहारा नहुनासाथ
जीवन अस्तित्व नै नरहने
तिमी स्वयंपनि हरपल सतर्क रहनैपर्ने –
दौडिँदा चोट लाग्ला भन्ने डर
उफ्रिँदा पछारिएला भन्ने त्रास
सुतिरहँदा लुगा फालेर
चिसोले बिरामी होला भन्ने सन्त्रास
एक गास कम खाँदा
बिरामी भयो कि भन्ने पीर
अनि, पीरै पीरमा तिमी पनि त
चाउरी पर्दै गयौ नि …
ए आमा,
म सानो छँदा –
कता गएर गुल्टुङ खान्छ भनेर
सतर्क रहेकै थियौ
अलि ठूलो भएपछि –
बिरानो ठाउँमा
जीवनदेखि निराश भएर भौँतारिँदा
तिमीले चुपचाप आँशु बगाएकै थियौ …
ए आमा,
दुनियाको भीडमा डुलिरहँदा –
छिर्कनी हालेर लडाउने भेटिए
कूटिल मुस्कानले लुट्ने भेटिए
अँगालो हालेर छुरी रोप्ने भेटिए
बरु, शारीरिक रुपमा सबल भएपछि
मानसिक रुपमा अब्बल भएपछि
कूटिल मुस्कानभित्रको कपट
चिन्न सक्ने भएपछि
धर्तीमा ल्याएको भए –
तिमीसँगै हिँडेर
तिमीभित्रै समेटिएर
जीवनको स्वाद लिन्थेँ हुँला
जीवनको रंग बुझ्थेँ हुँला
जीवनको कला सिक्थेँ हुँला
इन्द्रेणी जीवन बाँच्थेँ हुँला ….
ए आमा,
चकमन्न रातमा चन्द्रमा र तारासँग
खेल्न सक्ने भएपछि
बादलसँगै उडेर
पहाड छुन सक्ने भएपछि
समुद्रको गहिराईमा पुगी मोती
ल्याउन सक्ने भएपछि
धर्तीमा जन्म दिने गर्नु न है
ताकि कोमल तनहरु,
सुन्दर मनहरु
जीवनको रंगमा रमाउन सकून् …–––

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर