राजनीति/ कोशी प्रदेश : विश्वासको मतको रणनिती – मुख्यमन्त्री थापाले बनाए ज्येष्ठ सदस्य गयानन्दलाई मन्त्री
- श्रावण ३१, २०८० मा प्रकाशित
कासिन न्यूज,
विराटनगर ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई कृषि राज्यमन्त्री नियुक्त गरेका छन् । राज्यमन्त्री मण्डलले बुधबार नै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
सभामुख विहिन भएको कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले उपसभामुख सृजना दनुवारको राजीनामा आए मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्थालाई टार्नका रणनीतिक रुपमा मण्डललाई राज्यमन्त्री बनाएको हो ।
साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौं १३ गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर कठिन बहुमतसहित मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १ गतेबाट प्रदेश सभा बैठक बोलाएका छन् ।
उपसभामुखले राजीनामा दिएको अवस्थामा ज्येष्ठ सदस्य भएका कारण मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने हुन्थ्यो । मण्डलले विश्वासको मत लिने बैठकको अध्यक्षता गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउन सक्दैन थिए ।
उपसभामुखले राजीनामा दिएको अवस्थामा प्रदेश सभा बैठकको अध्यक्षता एमालेकै ज्येष्ठ सदस्यलाई गराउने योजनासहित मण्डललाई गठबन्धनकाले राज्यमन्त्री नियुक्त गरेको हो । कांग्रेसका मण्डल ८० वर्षका हुन् । उनीपछि जेष्ठ सदस्य एमालेका ७२ वर्षीय रोहितबहादुर कार्की छन् । त्यसपछि पनि एमालेका सांसदहरू मालतीकुमारी लिम्बू, खड्गबहादुर बस्नेत र रामप्रसाद महतो ६८ वर्षका छन् ।
मण्डल सरकारमा गएका कारण ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आए एमालेका सांसद कार्कीले गर्नेछन् ।उपसभामुखको राजीनामा नदिई बिदामा बस्ने तयारी छ । बिदामा बसे उपसभामुखले अध्यक्ष मण्डलका सदस्यलाई बैठक सञ्चालनको जिम्मेवारी दिनसक्नेछिन् । तर गठबन्धन र प्रतिपक्षी दल दुवै दलबाट अध्यक्ष मण्डलको सदस्य बनेका सांसद जिम्मेवारी लिन तयार छैनन् ।
अध्यक्ष मण्डलमा राप्रपाबाट अम्बरबहादुर विष्ट, एमालेबाट मालती सुब्बा, कांग्रेसबाट इस्राइल मन्सरी र माओवादी केन्द्रबाट गीता तिम्सिना सदस्य छिन् । उपसभामुखले राजीनामा दिएको अवस्थामा भने अध्यक्ष मण्डल खारेज हुनेछ ।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेश सभामा मुख्यमन्त्रीको दल नेपाली कांग्रेसका २९ सांसद छन् । माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक सांसदको समर्थन थापालाई छ । विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाका ६ सांसद छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments