फिचर /मेहिनेतले नथामिएका हात : हथौंडा , फलाम तामाका भाँडामा अल्झेको सुशीलको जीवन

- भाद्र २, २०८० मा प्रकाशित


कासिन न्यूज,
बलेवा (बाग्लुङ) ।

बाग्लुङको काठेखोला गाउँपालिका वडा नं ५, बिहुँको राहले गाउँको सानो झुपडीमा तामाका भाँडा बनाउँदै गर्दा भेटिएका सुशील सुनारको जवानी पल्टनमा बित्यो । उमेरले डाँडा काट्नै थाल्यो तर केही गर्छु भन्ने हुटहुटीले छोडेको छैन । निधारमा पसिना बगेकै छ ।
शरीरका कपडा धुलै–मैलै छन् । हातमा हथौंडा र फलाम तथा तामाका भाँडा चलेकै छन् । केही बेरको संवादमा सुशील पटक–पटक फ्ल्यासब्याकमा पुगे र आफनो अतितका केही किस्साहरु खोतल्न थाले । अभाव अभावले झेलिएको बालापन । अवसरले घेरिएको यौवनसँगै चुनौतीको सामना गर्न तयार बुढ्यौलीको अनुभव उनी सँग छ ।
गाउँमा उनी मात्र एक्ला मेहनती भने होइनन । गाउँभरि कालीगढ छन् । धेरैले तामा र फलामका भाँडा बनाउँछन् तर, गाउँकै अरु मेहनती कालीगढभन्दा उनी केही विषयले फरक छन् ।सानै छँदा उनका पिता पुर्खाले तामा र फलामका भाँडा बनाउँथे । बालिघरे प्रचलन रहेकै बेला विष्टका घरका भाँडा बनाउने बेला हजुरबुबा र बुबाहरुबाट सुशीलले सीप सिके । पन्ध्र वर्षको उमेरमा सिकेको सीपले जीवन चलाउन त्यो बेला कठिन थियो । साथीसङ्गी र परिस्थितिले उनलाई भारतीय सेनामा पुर्यायो ।

सानै उमेरमा भारतीय सेनामा भर्ती भए । २१ वर्ष भारतीय सेनाको जागिरबाट अवकाश हुँदा उनी युवा उमेरकै थिए । सन् २००० मा आरमोर पल्टनमा हवल्दार रहनुभएको सुशील अवकाश भएर घर फर्किए । एक्काइस वर्ष दुःख गर्दा आर्जेको धन सुशीलले बालबच्चाकै हेरचाह र घर खर्चमा सकियो ।

“मलाई गर्मी मन पर्दैन, बरु गाउँमै जग्गा जोडेँ बाहिर गइन्”, उनले भने , “बरु हथौडाकै साहरा लिउँ भन्ने लागेको थियो, तै पनि एक पटक विदेश जाउँ भनेर घर छोडियो ।” बीचको छ वर्ष बाउबाजेका पाला सिकेको सीप उहाँले काममा लगाए । गाउँमै बसेर तामा र फलामका भाँडा बनाए । सन् २००६ मा उनी मलेसिया पुगे । मलेसियाको क्वालालम्पुर सहरमा आठ वर्ष बिताए । “मासिक रु ८० हजार कमाउँथे, आठ वर्ष बसेपछि पुग्योजस्तो लागेर घर फर्कें,” सुनारले सुनाए , “सेक्युरेटी गार्डको जागिर सजिलै थियो ।” १५ वर्षको उमेरबाट सुरु भएको उनको मेहनतको यात्रा देश विदेश घुम्यो ।

मलेसियाबाट सन् २०१३ मा नफर्किने गरी घर फर्कनुभएका सुनार त्यसयता निरन्तर हथौडाको साथ लिइरहेका छन् । बिहानबेलुका घरको काम गर्छन । गोठभरि भैँसी छन् । दिउँसोे गाउँकै सामुदायिक भवन नजिकै रहेको झुपडीमा तामा र फलामसँग कुस्ती खेल्ने गर्छन् ।

“महिनामा ८०÷९० हजार त पेन्सन नै आउँछ, तर छोराहरुको भविष्यका लागि र आफ्नो सिपको सदुपयोगका लागि मेहनत गरिरहेको छु”, सुनारले भने , “खान नपुगेर होइन, जीवन क्रियाशील राख्न र व्यवस्थित बनाउनका लागि मेहनत गर्छु ।”

अक्सर मानिस पेन्सन पाएपछि सुखको जीवन खोजी गर्छन् । बसेर आराम गर्छन् तर, सुनारलाई सुविधा, आरामको पटक्कै चाहना छैन । “आफूले दुःख पाइयो, छोराहरुले भोग्न नपरोस् भनेर म मेहनत गर्छु”, उनले भने , “आरनमा बसेर मेहनत गर्दा मलाई आनन्द लाग्छ ।”

तामाका गाग्री, ताउलालगायतका भाँडा बनाउने सीप उनी सँँग छ । बञ्चरो, कोदाली, हँसियामा धार लगाउन उहाँ सीपालु छन् । “यहाँ अरुले रु तीन हजार पाँच सय किलोदेखि पाँच हजारसम्म प्रतिकिलो तामा बिक्री गर्छन्, मेरो एउटै रेट छ, तामाका भाँडाको मूल्य प्रतिकिलो रु तीन हजार”, सुशील भन्छन् , “भाँडा बनाई नसक्दै घरबाटै बिक्री हुन्छन् ।”

उनले आफूले काम गर्दा गाउँलेले सुविधा पाएको र आफूलाई पनि आर्थिक आम्दानीसहित व्यस्त हुने बहाना मिलेको सुनाए । काम निरन्तर गर्न पाउँदाको महिनामा उहाँले रु ७० देखि ८० हजार कमाउछन् । “रु ४०÷५० हजार त नचलेको महिना पनि कमाइ हुन्छ”, सुनारले सुनाए ।

बागलुङ बजारमा रु एक हजार चार सय किलोमा पाइने तामालाई भाँडाको आकारमा ढालेपछि रु तीन हजार प्रतिकिलो लिन र दिन कोही पनि नहिच्किचाउने उनले बताए । सुनारका जेठा छोरा विदेशमा छन् । माइला छोराको काठमाडौँमा व्यवसाय छ । साइँला छोरा इञ्जिनियरिङ पढ्दैछन् भने कान्छा छोरा डाक्टरी पढ्दै छन् । “छोराहरुको पढाइ खर्च भाँडा बनाएरै पु¥याइरहेको छु, घर खर्च, आफ्नो खर्च पनि गज्जब चल्छ”, सुनार भन्छन् “मेहनत गरेपछि गाउँमै कमाउन सकिन्छ ।”

गाउँघरमा सामाजिक काम, मेला पर्व उनले छुटाउँदैनन् । गोठमा रहेका तीन भैँसी र दुई पाडापाडीको स्याहारसुसारमा पनि उहाँले जीवनसाथीलाई सघाउँछन् । सुशील बिहुँका एक कालीगढ मात्रै होइनन , परिश्रमिकका उदाहरण पनि हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर