खर्कमै पुगेर बालबालिकालाई खोप

- भाद्र २, २०८० मा प्रकाशित


कासिन न्यूज,
हुम्ला ।

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियान सञ्चालन गरेको छ भने खर्कमा रहेका अन्य बिरामीको उपचार गरेको छ । स्वास्थ्यकर्मीले करिब तीन हजार पाँच सयदेखि चार हजार मिटर अग्लो पाटनमै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गरेको हो ।

हुम्लामा वर्षाको समयमा खर्क तथा अग्लो लेकमा चौँरीगाईसहित अन्य पशुवस्तु चरिचराउका लागि लैजनुका साथै खर्कमा बालबालिका र गोठाला जाने भएकाले उनीहरूको उपचारका लागि घुम्ती शिविर सञ्चालन गरेको हो । सिमकोट गाउँपालिका–१ चुवाखोला वन र सोही पालिकाको वडा नं ८ मा पर्ने रानीशैनामा रहेका खर्कमा पुगेर स्वास्थ्यकर्मीले बालबालिकालाई खोप र अन्य नागरिकको उपचार गरेको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताए ।

चुवाखोला र रानीशैना खर्कमा गरी आठ बालबालिकालाई बिसिजी, डिपीटी, पिसीभी, पोलियो, जेइ र मिजल्स रुबेला टाइफाइडलगायत आदि रोगविरुद्धको खोप लगाइएको संयोजक भण्डारीले बताए । यस समयमा खर्कमा बालबालिका पनि सँगै लैजाने भएकाले उनीहरू बसोबास गरिहेका खर्कमा पुगेर खोप लगाइएको हो । यस्तै यी दुईवटा वडामा रहेका उच्च पहाडी खर्कमा गोठाला बसेका ७५ गोठालाको स्वास्थ्य जाँच गरी औषधोपचार गरिएको हो ।

यसैगरी चुवाखोला खर्कमा सिमकोेट–१ मा रहेको स्वास्थ्य एकाइ दोजामका स्वास्थ्यर्की रत्न बोहरा, सोही वडामा रहेको कुम्ली आधारभूत स्वास्थ्य एकाइका धनजीत भण्डारी र वडा नं २ ठेहे स्वास्थ्यचौकीबाट खटिएका सविन भण्डारी र वडा नं ८ मा रहेका रानीशैना खर्कमा धरन शाही, खोल्सी स्वास्थ्य एकाइमा नवीन बुढालगायतको स्वास्थ्य टोली उपचारका लागि खटिएका थिए ।

बालबालिकालाई खोप लगाउनकै लागि आफूहरू डेढ दिन पैदल हिँडेर खर्कमा पुगेको ठेहे स्वास्थ्यचौकीबाट खटिएका स्वास्थ्यकर्मी सविन भण्डारीले बताए । जागिर खाएपछि नजिक टाढा नभनी काममा खटिएको उनीहरूको भनाइ थियो । बर्खायामको झरीसँगै कठिन यात्रामा खटिई सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई गाउँपालिका र स्वास्थ्य शाखाले धन्यवादसमेत दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर