महिला विश्वकप : इंग्ल्यान्ड र स्पेन भिड्दै > बिगतका उपाधि बिजेता बाहिरीए संगै नयाँको बोलबाला
- भाद्र ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
फिफा महिला विश्व कप फुटबलको फाइनल खेल आइतबार हुँदैछ । फाइनल खेलमा उपाधिका लागि इंग्ल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे अष्ट्रेलियाको सिड्नीमा हुनेछ ।
सेमिफाइनलमा इंग्ल्याण्डले आयोजक अस्ट्रेलियालाई हराएको थियो भने स्पेनले स्वीडेनलाई पराजित गरेको थियो । यो महिला विश्व कपमा नयाँ टोली च्याम्पियन बन्दैछ । शनिबार तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २–० गोलले हराउँदै स्वीडेन तेस्रो भएको छ ।
गत जुलाई २० देखि अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको ३२ राष्ट्र सहभागी महिला विश्व कप फाइनल खेलसँगै समापन हुँदैछ ।
इंग्ल्यान्डले सेमिफाइनलमा अस्ट्रेलियालाई ३–१ ले हराएको थियो । समूह चरणका तीनै खेलमा हाइटी, डेनमार्क र चीनलाई हरायो । सरिनाको प्रशिक्षणमा इंग्ल्यान्डले ठूला प्रतियोगितामा हालसम्म हार बेहोर्नुपरेको छैन । नाइजेरियाको खेलाडीलाई मैदानमा कुल्चिएपछि दुई खेल निलम्बनमा रहेकी जेम्स फर्कंदा इंग्ल्यान्ड झनै बलियो देखिनेछ ।
अन्य खेलाडीमा कुनै परिवर्तन छैन । इंग्ल्यान्डकी कप्तान मिली ब्राइटले यो यात्रा निकै उत्साहपूर्ण रहेको बताइन् ।
यता, स्पेनले बलियो प्रतिद्वन्द्वीको रूपमा फाइनल यात्रा तय गरेको छ । जापानसँग समूह चरणमा पराजित भएयता टोली सतर्क छ । स्पेनले समूह ‘सी’मा कोस्टारिका र जाम्बियालाई हराएको थियो ।
प्रिक्वार्टरफाइनलमा स्विट्जरल्यान्ड, क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र सेमिफाइनलमा स्विडेनलाई २–१ ले हराएको हो । प्रशिक्षक जर्ज भिल्डाको प्रशिक्षणमा स्पेनले क्रान्ति गरेको छ । पछिल्लो वर्षदेखि १५ खेलाडीले भिल्डालाई हटाउन खोजेका छन् ।
खेलाडी प्रशिक्षकसँग असन्तुष्ट छन् । गोलपछि र खेल जितेपछि खेलाडीले प्रशिक्षकसँग खुसीयाली मनाएका छैनन् । तर, मैदानभित्र प्रशिक्षणको रणनीति लागू भएको छ । त्यस्तै, जित पनि निस्किरहेको छ । स्पेन पहिलोपटक विश्वकप ट्रफी उचाल्दै यो सबै विवाद टुंग्याउन चाहन्छ । स्पेनको टिममा १९ वर्षीया साल्मा पारालुइलोले उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् ।
नेदरल्यान्ड्स र स्विडेनविरुद्ध वैकल्पिक खेलाडी बन्दै मैदान प्रवेश गरेकी उनले दुवै खेलमा गोल गरेकी छिन् । उनले पहिलो एघारमा स्थान बनाउने सम्भावना छ । यस्तै, एलेक्सिया पुटेलासले टोलीको पहिलो एघारमा स्थान बनाउन सक्छिन् ।
आयोजक अस्ट्रेलियालाई २–० ले पराजित गर्दै स्विडेनले तेस्रो स्थान हासिल गरेको छ । शनिबार सनक्रप रंगशालामा स्विडेनलाई जित दिलाउन फ्रिडोलिना रोल्फो र कोसोभरे अस्लानीले समान एक गोल गरेका थिए । एकपटकको उपविजेता स्विडेनले चौथोपटक कांस्य पदकमा चित्त बुझाएको छ । यसअघि स्विडेनले सन् १९९१, २०११ र २०१९ मा तेस्रो स्थान हासिल गरेको थियो ।
हारपछि अस्ट्रेलियाका प्रशिक्षक टोनी गुस्टाभसनले टोलीलाई पदक जिताउन असफल भएको बताए । ‘हामीले घरेलु दर्शकमाझ पदक जित्ने योजना बनाएका थियौँ । तर, असफल भयौँ,’ टोनीले दुखेसो पोखेका छन् । ‘हामी पदक जित्न आएका थियौँ । यो निकै संघर्षपूर्ण कार्य थियो । तर, मलाई लाग्छ, पदकभन्दा यो स्थानसम्म पुग्नु ठूलो हो,’ टोनीले टोलीको प्रदर्शनमा चित्त बुझाए ।
ब्रिसबन मैदानमा घरेलु टोली स्विडेनविरुद्ध फिक्का देखियो । टोलीले गोलका केही अवसर बनाए पनि फिनिसिङमा चुकेको हो । खेलको ३०औँ मिनेटमा रोल्फोले पेनाल्टीमा गोल गरिन् । अस्ट्रेलियाकी रक्षकले स्विडेनकी स्टिना ब्ल्याकस्टेनिअसलाई बक्सभित्र लडाएपछि भिडियो सहायक रेफ्रीले पेनाल्टी मान्यता दिएको थियो । जहाँ रोल्फोले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएकी हुन् । दोस्रो गोल दोस्रो हाफमा सम्भव भयो । ६२औँ मिनेटमा अस्लानीले गोल गर्दै स्विडेनलाई कांस्य पदक दिलाएकी हुन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments