मधेश / राजनीति : डा.राउत मय बन्न थाल्यो मधेश – ‘मिसन ८४’ मा उत्रियो जनमत पार्टी

- भाद्र ३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली राजनीतिमा नयाँ शक्तिको उदय हुने क्रम जारी रहेको बेला मधेशमा गत निर्वाचन देखी उदाएर एकाएक चर्चाको चुलीमा चढिरहेको जनमत पार्टीले आफनो संगठन बिस्तारमा तिब्रता दिन थालेको छ ।
‘मिसन ८४’ नै नाम दिएर मधेशमा संगठन बिस्तारको काममा सक्रियता देखाईरहेको डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो आधार क्षेत्र मधेसमा जनमत बढाउन आक्रामक अभियानमा जुटेको छ । चार वर्षपछि हुने निर्वाचनलाई केन्द्रमा राखेर जनमतले ‘मिसन ८४’ नामक अभियान नै चलाएको छ ।
मधेसलाई बेग्लै देश बनाउने एजेन्डाका कारण चर्चामा आएका डा. राउत पहिलोपटक १८ चैत ०६८ मा खुलामञ्चको आमसभामा भाषण गर्न मधेसी बुद्धिजीवीका रूपमा उभिएका थिए । तत्कालीन लोकतान्त्रिक मधेसी मोर्चाको कार्यक्रममा डा.राउतले मधेसलाई अलग देश बनाउने विखण्डनकारी एजेन्डा सारेका थिए । त्यतिवेला मधेसकै मूल मुद्दालाई कमजोर बनाएको आरोप खेपेका डा. राउत स्वतन्त्र र स्वायत्त मधेस अभियानका कारण सन् २०१४ देखि तीन वर्षको अवधिमा करिब २४ पटक हिरासत, दुईपटक जेल परेका थिए ।

राज्यविरुद्धको अपराधमा मुद्दा खेपिरहेका उनलाई जनकपुरमा कालो दिवस मनाएको १० दिनपछि २१ असोज ०७५ मा प्रहरीले घरमै ताल्चा फोडेर पक्राउ गरेको थियो । त्यसपछि करिब चार महिना जेल बसेका उनी २५ फागुन ०७५ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीको पहलमा सरकारसँग ११ बुँदे सहमति भएपछि छुटेका थिए ।
त्यसपछि मूलधारको राजनीतिमा आएर ४ चैत ०७५ मा उनले जनमत पार्टी गठन गर्ने निर्णय गरेका हुन् । गत प्रतिनिधिसभाको निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी २ मा भारी मतान्तरले हराउँदै उनी संसद् प्रवेश गरेका हुन् ।
जनमत पार्टीको सदस्यता लिएका र लिन इच्छुक धेरैजसो अध्यक्ष सिके राउतकै हातबाट सदस्यता लिन इच्छुक देखिन्छन् । त्यसैले राउत स्वयं जिल्लामा पार्टी प्रवेश कार्यक्रममा दौडिरहेका छन् ।

एक साताअघि मात्रै डा.राउतले सप्तरी पुगेर करिब तीन सयलाई पार्टीमा प्रवेश गराए । अघिल्लो महिना वीरगन्जको टाउन हलमा करिब एक हजारलाई आफ्नै हातबाट पार्टी प्रवेश गराए । जनमत पार्टीप्रति आकर्षित नेता–कार्यकर्ता तथा शुभेच्छुकले ‘राइट टु रिकल’को एजेन्डा मन पराएका छन् । यही व्यवस्थाअनुसार जनमतले २७ साउनमा आफ्नो दलबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूको जनताको चाहनाअनुसार काम गरे–नगरेको मूल्यांकन गर्न मतदान गराएको थियो । जसमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रुपन्देही, कपिलवस्तु र बर्दियाका २२ स्थानमा निर्वाचित भएका जनप्रतिधिको मूल्यांकन गर्न सम्बन्धित पालिकाका पार्टी सदस्यले मतदान गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर