विचार : राजनीतिलाई तेस्रो प्राथमिकतामा राख्ने बौद्धिक नेता गिरि
- भाद्र ४, २०८० मा प्रकाशित
युवा नेताहरूलाई पार्टीभित्र ठाउँ दिनुपर्छ भन्ने पक्षमा कुरा गर्ने उनी बाट नयाँ पुस्ताले सिक्न सक्ने धेरै कुराहरु छन्
रामहरि खतिवडा,
काठमाडौं ।
नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाएका प्रदीप गिरि राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित छन् ।
अहिलेको जटिल राजनीतिक परिस्थितिमा गिरिको अनुपस्थिति सबैलाई खट्किएको छ । उनको निधनले नेपाली समाजले प्रजातान्त्रिक समाजवादको कसीमा नेपाली अर्थतन्त्रलाई डो¥याउनका लागि गरिने खबरदारी गर्ने व्यक्तिको अभाव भएको छ । उनमा रहेको बौद्धिकता, स्पष्टता, सादगीपनको स्मरण भइरहेको छ ।
नेपाली, अङ्ग्रेजी, हिन्दी र संस्कृत चारवटै भाषामा राम्रो ज्ञान भएका गिरिमा चारवटै भाषामा उत्तिकै रुपमा राम्रोसँग लामो समयसम्म बहस गर्न सक्ने क्षमत थियो ।उनी सँग मेरो पहिलो भेट कुपण्डोलस्थित कृष्णप्रसाद भट्टराईको निवास २०४२ भएको थियो । किसुनजीसँगै रहेको मलाई औंल्याउँदै उनले सोधेका थिए , तिम्रो घर कहाँ हो ? मैले ओखलढुङ्गा भएको बताएँ । उनले ओखलढुङ्गाका बलबहादुर राईलगायत थुप्रै नेताहरुको नाम लिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा ओखलढुङ्गाको योगदानको चर्चा गर्दा मेरो छाती गर्वले फुलेको थियो । त्यसपछि हामी नजिकिन थाल्यौं ।
प्रष्ट वक्ता र सरल शब्दचयन बिशेषज्ञ रहेका गिरिले बिपी, गणेशमान सिंह र किसुनजीसँग नजिक रहेर काम गरेका थिए । चित्त नबुझेका कुरामा उनले बिपी–गणेशमानसँग पनि फरक मत राख्ने गर्थे । जीवनको लामो समय राजनीतिमै बिताएका उनको राजनीति भनेको तेस्रो प्राथमिकता थियो भने पहिलो प्राथमिकता साहित्य थियो र दोस्रोमा अध्यात्म पथ्र्यो । राजनीतिलाई किन प्राथमिकतामा राख्नुहुन्न भन्ने जिज्ञाशामा उनले राजनीतिबाट ‘डिष्ट्रव’ हुन नचाहेको बताउँथे । राजनीति, समाजवादको चिन्तन र सोहीअनुसारको व्यवहारले समकालीन नेपाली नेताहरूमध्ये पृथक छवि थियोे उनको ।
उच्चस्तरको बौद्धिक नेता भएर पनि उनमा अचम्मको सादगीपन थियो । सामान्य किसिमको खानपिन रुचाउनु हुने उहाँ प्रायः सादा खाना, दही, दुई÷तीन वटा रोटी र समयअनुसारको तरकारी लिने गर्थे । कम मात्रामा मदिरापान गर्ने उनको मदिरा लुकाएर खाने बानी थिएन । धुम्रपान भने उनले गरेको देखीएन । २०६०÷६१ सालतिरदेखि नै उनले खाने कुरामा पथपरेजमा बस्ने गरेका थिए । सादा जीवन उच्च विचारको आदर्शबाट निर्देशित गिरिमा लपनछपन केही थिएन । भन्नुको मतलव स्पष्ट वक्ता थिए ।
आफू मात्रै अध्ययन गर्ने होइन, अरुलाई पनि अध्ययनमा गर्न प्रेरित गरिरहन्थे । भेट भएका युवालाई पञ्चतन्त्र, महाभारत जस्ता ग्रन्थ पढ्नका लागि उनले अभिप्रेरित गर्थे । निरन्तर पढिरहने बानी परेका उनले एकै दिनमा तीन÷चारवटा पुस्तक पढ्न भ्याउँथे । प्रत्येक पटक २०÷३० वटा पुस्तकसम्म किन्ने आदत थियो उनमा । । अत्यधिक पढ्न रुचाउने उनी कहिलेकाहीँ त राति अबेरसम्म पढ्ने भएकाले भोलिपल्ट अपरान्ह १२÷१ बजेसम्म पनि सुत्ने गर्थे ।
गिरिमा पद लोलुपता पटक्कै थिएन । त्यसैले सरकारका प्रवक्ता र मन्त्री हुन पटकपटक आग्रह गर्दा पनि कहिले पनि मानेनन । पदले आफ्नो व्यक्तिगत जीवन र स्वतन्त्रतामा हस्तक्षेप हुन्छ भन्ने ठानेर यस्ता पद नलिएको उनी बताउँथे ।
विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सिरहामा भाषण गर्दै चुनावमा जिताएर पठाए गिरिलाई परराष्ट्र मन्त्री बनाइदिन्छु भनेका थिए । तर उक्त चुनावमा उनी थोरै मतले पराजीत भएका थिए । त्यसपछि उनले भनेका थिए , “म भगवानलाई धन्यवाद दिन्छु, मलाई हराएर मन्त्री बन्नबाट रोकिदिनुभयो । जितेको भए मैले किसुनजीको आज्ञा मान्नुपथ्र्यो, मन्त्री हुनुपथ्र्यो, जुन मेरो जीवनको चाहना थिएन ।”
धेरैले गान्धीवादी नेताका रुपमा पनि चिन्दथे उनलाई । काठमाडौँमा बस्दा प्रायः डेरामै बस्ने गर्थे । घर बनाउने, बिलासी जीवन बिताउने मोह कहिल्यै मनमा आएन । उनको स्वभावसँगै जेलमा बसेका किसुनजीसँग पनि मिल्दथ्यो । “राजनीतिमा निष्ठाको बाटो कहिल्यै नछोड्न भनिरहने । हामी किसुनजीका अनुयायी हौँ”, इमानदारीपूर्वक जनताको सेवामा लाग्नुपर्दछ भन्ने गर्थे । सत्तामा गएर मन्त्री, प्रधानमन्त्री बन्नुभन्दा पनि म सधैँ आस्थाको राजनीति गर्छु भन्ने उनले राजनीति पद प्राप्तिका लागि होइन भन्नुहुन्थ्यो । नभन्दै जे बोल्नुभयो त्यो उनले निर्वाह गरे । पदीय र राजकीय पदमा जानु भएन ।
उनको अगुवाइमा सिरहा बस्तीपुरमा करिब हजार विरूवा हुर्किएका छन् । घरभन्दा करिब पाँच किमी पर उहाँले आश्रम पनि बनाउनु भएको छ । आफू मरेर गए पनि रूख बाँचिरहने र ती रूखका फल अरूले खाँदा आफूमा सन्तुष्टि मिल्ने भएकाले विरूवा हुर्काएको उनले बताएका थिए । आश्रममा बस्न निकै आनन्द लाग्ने बताउने गिरि शान्त ठाउँमा पढ्न रुचाउँथे । २०५१ सालमा किसुनजी सिरहा जाँदा म पनि उनी सँगै गएको थिएँ । त्यहाँ हामी पाँच दिन रहँदा गिरिजीको लहानस्थित बस्तीपुरको आश्रममा बसेका थियौँ । काठमाडौं हुँदा पनि उनी तपोवन गइरहन्थे ।
बिपीले परिकल्पना गरेको नेपालका सन्दर्भमा प्रजातान्त्रिक समाजवादको व्याख्या गर्न उनी अब्बल थिए भने उनमा व्यापक ज्ञान, सिद्धान्तप्रतिको अविचलित निष्ठा, समाजवादी समाज निर्माणप्रतिको प्रतिबद्धता, निर्भिक र स्पष्टवादी स्वभाव रहेको थियो । बिपीको देहावसानपछिको अवस्थामा गिरिले नै वौद्धिक वहसको परम्परालाई निरन्तरता दिएका थिए । तराईको सम्पन्न परिवारमा जन्मिएर पनि विलासी संस्कृतिको अवलम्बन नगर्नु उनको समाजवादप्रतिको सम्मोहको एउटा बलियो उदाहरण हो । उनको लामो आफ्नो राजनीतिक जीवनमा समाजवादको अध्ययन, विश्लेशण, चर्चा–परिचर्चा र संश्लेषण गरे । यसैमा रमाउनु चातुर्यता उनको थियो ।
उनी युवाहरूलाई पार्टी राजनीतिमा आकर्षण गर्नुपर्छ भन्ने विचार र सिद्धान्तलाई व्यवहारमा लागू गर्न सक्ने नेता थिए । राजनीतिलाई दर्शन, सिद्धान्त र विचारमा सधैं नै जोडिराख्थे । राजनीति भनेको सत्ताकै लागि होइन, जनता र देशका लागि गर्नुपर्ने सेवा हो भन्ने उनको कुरा नयाँ पुस्ताका लागि ठूलो सन्देश हो ।
युवा नेताहरूलाई पार्टीभित्र ठाउँ दिनुपर्छ भन्ने पक्षमा कुरा गर्ने उनी बाट नयाँ पुस्ताले सिक्न सक्ने धेरै कुराहरु छन् । पछिल्लो पुस्तासँग उनको बढी नै आशा र भरोसा थियो ।
भारतीय नेताहरूसँग नजिकको सम्बन्ध रहेको थियो । करण सिंहले उनलाई अत्यन्त आदर गर्थे । विशेषगरी गान्धीवादी विचारक गिरिको भारतका नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहियाहरूसँग नजिकको सम्बन्ध रहेको थियो । उहाँको सोनिया गान्धी, इन्दिरा गान्धी, राजीव गान्धीलगायतका नेतासँग पनि राम्रै सम्बन्ध थियो । भारतीय नेताहरू नितिश कुमार, लालुप्रसाद यादव, विपी त्रिपाठीलगायतका नेतालाई उनले प्रशिक्षण दिएका थिए । भारतमा इन्दिरा गान्धीको सङ्कटकालको समयपछि उनले भारतमै रहेर ‘सोसिइलिष्ट मुभमेन्ट’को नेतृत्व पनि गरेका थिए ।
सबै राजनीतिक दलप्रति उत्तिकै सद्भाव राख्ने उनमा कांग्रेस पार्टीको टिकटमा चुनिएका सांसद भए पनि राजनीतिमा उनको सर्वमान्यता स्थापित भएको थियो । कम्युनिष्टहरुलाई माक्र्सवाद र साम्यवाद पढाउँदै हिड्ने पात्र हुनुहुन्थ्यो उहाँ । उनी सबैको मान्छे अर्थात सर्वपक्षीय व्यक्तित्वयुक्त नेता थिए । अन्य दलका नेता, कार्यकर्ताहरु पनि उनका तर्कहरुबाट प्रभावित हुन्थे । उनका विचारहरुको कार्यान्वयन गर्न नसके पनि त्यसमा सहमति जनाउँथे । संसदमा उनले बोल्ने दिन निकै उत्सुकता छाउँथ्यो । उनी कहिल्यै एकपक्षीय रुपमा प्रस्ुत नभई आफूले देखेको स्पष्टसँग कुरा राख्थे उनका कुरामा तर्क र दम रहन्थ्यो ।
सादगीपनसँगै उनको इमान्दारिता, निष्ठा, अध्ययनशिलता वर्तमानमा जो कोही नेतृत्वले सिक्नुपर्दछ । गाउँगाउँमा कुटिर उद्योगमार्फत रोजगारी सिर्जना गर्नुपर्छ भन्ने विचार राख्ने गिरिले सधैँ गाउँ केन्द्रित राजनीतिका पक्षमा आवाज उठाए । समाजका सबै वर्ग र समुदायको समुत्थान हुनुपर्छ भन्दै उनले ‘कदमजम’ को नारालाई अघि सारेका थिए । राष्ट्रमा सबैको पहुँच स्थापना हुनुपर्ने भन्दै उनले कर्णालीको समस्या, दलित, महिला, जनजाति र मधेशीलाई समेट्दै अघि बढ्नुपर्ने विषयलाई जीवनपर्यन्त उठाई रहे । उनको विचारलाई गाउँगाउँसम्म पु¥याउन आवश्यक छ । उनको मूल्यमान्यतालाई जीवित राख्न सकिए भने मात्रै कांग्रेसलाई गतिशील बनाउन सकिन्छ ।
खतिवडा कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद हुन्
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments