धरानमा चलेको धार्मीक विवाद : वर्षौँदेखि कायम जातीय एवम् धार्मीक सद्भाव खलबलिन नदिने प्रयास

- भाद्र ९, २०८० मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौं ।

गोरुको मासु खाएको भनिएको घटनालाई लिएर धरानमा एउटा पक्षले आफ्नो जातीय, सांस्कृतिक र धर्मनिरपेक्षताले दिएको अधिकारको रूपमा व्याख्या गरेका छन् भने उता हिन्दू लगायतका धार्मीक संस्थाहरूले चाहिँ त्यसलाई धार्मिक र सामाजिक सद्भाव बिथोल्ने प्रयासका रूपमा त्यसलाई चित्रण गरेका छन् ।

एक साताअघि भएको भनिएको उक्त घटनाको फोटो र भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ।त्यसपछि घटनाको समर्थन र विपक्षमा सडक प्रदर्शन गर्ने विवरण सार्वजनिक भएपछि धरानमा सामाजिक सद्भावका लागि पहल थालिएको थियो।

यही विवादले चर्किएको धरान अशान्त बनेको छ । केही दिनदेखि चर्किएको उक्त विवादले शान्ति सुरक्षा र सामाजिक सद्भाव खलबलिनबाट रोक्न आवश्यक पहल भइरहेको जनाएको छ। धरानमा क्रियाशील विभिन्न राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गरी सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गरेका छन्।


उत्पन्न विवादपछि सम्भावित दुर्घटना टार्न धरान उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको बताएको छ।जिल्ला प्रशासन कार्यालय सुनसरीले सामूहिक रूपमा राजनीतिक, सामाजिक, धार्मीक भेला प्रदर्शन लगायतका गतिविधि गर्न रोक लगाइएको जनाएको छ।

धरान प्रवेश गर्ने सबै नाकाहरूमा सुरक्षा कडाइ गरिएको सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताए।गृह मन्त्रालयका अधिकारीहरूले धरानमा सुरक्षा व्यवस्था चुस्त राख्न प्रहरी प्रशासनलाई सतर्क तुल्याइएको जनाएका छन्। उक्त विषयलाई लिएर सङ्घीय संसद्मा समेत चर्चा र चिन्ता व्यक्त गरिएको थियो।

हिन्दू धर्मसँग सम्बन्धित विभिन्न संघसंस्थाको अगुवाइमा शनिवार धरानमा ‘गौहत्याविरुद्ध प्रदर्शन गर्ने’ घोषणा गरिएसँगै त्यसलाई रोक्न पहल भएका थिए।धरानका पूर्वजनप्रतिनिधिहरूले सबै पक्षसँग छलफल गरी सामाजिक एकता कायम गर्न पहल अघि बढाइएको बताएका छन्।

धरानका चारजना पूर्वनगर प्रमुखहरूले एउटा संयुक्त विज्ञप्तिमा भनेका छन्, “एकले अर्को समुदायमाथि द्वेष फैलाउने र सामाजिक सद्भाव खलबलाउने काम यसअघि कहिल्यै भएको छैन। वर्षौँदेखिको आपसी सद्भाव, भाइचारा र एकता कायम गरेका समाज र समुदाय नै धरानको सौन्दर्य हो, विशेषता पनि हो।”धरानका नगर प्रमुख हर्क साम्पाङ राईले पनि ‘आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न’ अपिल जारी गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “सामाजिक एकता र जातीय सद्भाव भाँड्ने कृत्य नगरौँ, नगराऔँ।”पूर्वनगर प्रमुख तिलक राईले विभिन्न राजनैतिक दल, सङ्घ–संस्था लगायतका सरोकारवाला पक्षहरूसँग छलफल आयोजना गरेर ‘वर्षौँदेखि कायम जातीय एवम् धार्मीक सद्भाव खलबलिन नदिने प्रयास गरिरहेको’ जानकारी दिए।

शुक्रवार भएको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम गर्न सबैलाई आग्रह गर्ने र पक्ष र विपक्षमा कुनै खाले प्रदर्शन नगर्न अनुरोध गर्ने निर्णय भएको नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेलले बीबीसीलाई बताए ।

स्थानीय प्रशासनले धरानमा केही दिनदेखि चर्किएको उक्त विवादले शान्ति सुरक्षा र सामाजिक सद्भाव खलबलिनबाट रोक्न आवश्यक पहल भइरहेको जनाएको छ।प्रशासन र सुरक्षा निकायहरूले पनि सतर्कता अपनाएका छन्। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जारी गरेको निषेधादेशमा ‘अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मीक, राजनैतिक सभा, र्याली/ भेला जम्मा/ प्रदर्शन लगायतका कुनै पनि कार्यक्रमहरू नगर्न/नगराउन’ भनिएको छ।

सुनसरीका प्रहरी उपरीक्षक ढकालले भने, “हामीले शान्ति सुरक्षा कायम गर्ने दिशामा सबैसँग समन्वय गरिरहेका छौँ।”यसअघि धरानमा हिन्दू धर्मावलम्बीहरूको मन्दिर क्षेत्र नजिकै इसाई धर्ममा आस्था राख्नेहरूका लागि चर्च बनाउने क्रममा पनि निकै विवाद देखिएको थियो।

सामाजिक क्षेत्रका अगुवाहरूले बेला बेला निम्तिने त्यस्ता धार्मीक एवं सांस्कृतिक विवादको बेलैमा समाधान नखोजे सामाजिक सद्भाव बिथोलिने र त्यसले समाजमा नराम्रो परिणाम ल्याउन सक्ने चेतावनी दिएका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर