•  २६ पुष २०८१, शुक्रबार

विश्व सेरोफेरो : एफ–१६ युद्धक विमान : “शक्तिशाली र उपयोगी दिन” को आगमन – लडाइँको प्रवृत्तिमा आधुनिकीकरण

- भाद्र १०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

युक्रेनलाई एफ–१६ युद्धक विमान उपलब्ध गराउने डेन्मार्क र नेदरल्यान्ड्सको तयारीलाई अमेरिकाले अनुमोदन गरिदिएपछि त्यसले लडाइँको प्रवृत्तिमा आधुनिकीकरण ल्याउने ठानिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जिलेन्स्कीले गत साता युरोपेली देशको भ्रमण गर्दा एउटा सहमति भएको थियो। त्यसअन्तर्गत युक्रेनले द नेदरल्यान्ड्सबाट ४२ र डेन्मार्कबाट १९ वटा जेट प्राप्त गर्दै छ।

त्यसलाई “शक्तिशाली र उपयोगी दिन” को संज्ञा दिएका युक्रेनी राष्ट्रपतिले दुवै देशलाई विशेष धन्यवाद दिएका थिए। उनले युक्रेनलाई निरन्तर सहयोग गरेकोमा अमेरिकालाई पनि धन्यवाद दिए। रुसी हवाई आक्रमणसँग जुझ्न र प्रत्याक्रमणका निम्ति आधुनिक युद्धक विमानहरूको खोजी गरिरहेको किएभका लागि यो महत्त्वपूर्ण जित हो।


रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनले आफ्ना विदेशी साझेदारहरूसँग आफूलाई लडाकु विमान उपलब्ध गराउन अनुरोध गर्दै आएको थियो।यसअघिको लेपर्ड ट्याङ्क र त्यसअघिको पेट्रिअट हवाई प्रतिरक्षा प्रणालीजस्तै अमेरिकामा निर्मित एफ–१६ जेटहरूको हस्तान्तरण लामो वार्ताको परिणाम हो।

पश्चिमा शक्तिहरू त्यसमा पनि विशेष गरी संयुक्त राज्य अमेरिकाले उक्त फाइटर जेट उपलब्ध गराउँदा त्यसले रुससँग प्रत्यक्ष मुठभेड निम्त्याउने भन्दै सङ्कोच व्यक्त गरेको थियो। यसअघि रुसी उपविदेशमन्त्री एलेक्सेन्डर गुरुसकोले युक्रेनलाई जेट आपूर्ति गरेर पश्चिमा देशहरूले ‘ठूलो जोखिम’ बेहोर्नुपर्ने बताएका थिए।
एफ–१६ कस्तो विमान हो?
एफ–१६ विश्वमै सबैभन्दा भरपर्दो ठानिएको लडाकु विमान हो। विमानको विभिन्न भूमिकाका कारण त्यसलाई ठ्याक्कै निसानामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र र बमहरूबाट सुसज्जित गर्न सकिन्छ।

अमेरिकी एअर फोर्सका अनुसार उक्त विमान २४ सय किलोमिटर प्रतिघण्टाको वेगमा उड्न सक्छ।एफ–१६ को निसाना लगाउने क्षमताका कारण उसले जुनसुकै मौसम र रातको समयमा पनि रुसी फौजहरूलाई आक्रमण गर्न सक्छ। उक्त जेटबाट आफ्नो निर्धारित लक्ष्यमा सटिक ढङ्गले हमला गर्न सक्ने ठानिन्छ।

युक्रेनसँग दर्जनौँ सैन्य विमान रहेको ठानिन्छ। त्यसमध्ये अधिकांश मिगहरू सोभियतकालीन हुन्। अर्कोतर्फ रुसले अझ माथिल्लो उचाइबाट उडान गर्न सक्ने र टाढैबाट अरू विमानहरू पनि पहिचान गर्न सक्ने आधुनिक विमानहरूको प्रयोग गर्छ।

“हाम्रो लडाकु विमानको तुलनामा रुसी जेटले उसको रडारमार्फत दुईदेखि तीन गुना परसम्म देख्छ,” युक्रेनी एअर फोर्स कमान्डका प्रवक्ता युरी आइनाटले वालस्ट्री जर्नलसँग भनेका छन्, “हाम्रो फाइटर अन्धो छ, यसले देख्दैन।”

नियमित र घातक रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट आफ्नो आकाशको सुरक्षा गर्न र आफूले सीमित सफलता पाएको दक्षिण र पूर्वी युक्रेनमा जारी प्रत्याक्रमणलाई समर्थन गर्न किएभलाई आधुनिक युद्ध विमानको आवश्यकता छ।

विमानहरू निर्माण गर्ने अमेरिकी सैन्य सामग्री उत्पादक लकहिड मार्टिनका अनुसार विश्वका २५ देशमा गरेर हाल ३,००० एफ–१६ छन्।युक्रेनी पाइलटहरूका लागि दीर्घकालीन तालिम कार्यक्रम डेन्मार्कबाट रुमेनिआ सारिने अपेक्षा गरिएको छ। हालै रुमेनिआले ३२ वटा प्रयोग भइसकेका एफ–१६ नर्वेबाट किनेको थियो। रुमेनिआले थप १७ वटा विमान पोर्चुगलबाट खरिद गरेको थियो।

बुखारेस्टले आफ्नो वायुसेवालाई अत्याधुनिक करण गर्ने प्रक्रिया अघि बढाएको छ जसअनुसार पुराना सोभियत मिग–२१ लडाकु विमानलाई विस्थापित गरिने छ।डच र डेनिश वायुसेवाले पनि आफूलाई अद्यावधिक गर्दै छन्। उनीहरूले पुराना विमान युक्रेनलाई सहयोगस्वरूप दिएर नयाँ अत्याधुनिक वायुयान खरिद गर्न खोजिरहेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर