धादिङ बन्यो ‘ड्रागन फुड’ मय जिल्ला : फुल्दै गरेको फुल र टिपेर खाने अवस्थामा पुगेको फल हेर्न लायक
- भाद्र १०, २०८० मा प्रकाशित
शङ्कर श्रेष्ठ,
मलेखु (धादिङ) ।
ड्रागन फुडको जिल्ला बन्न थालेको धादिङमा अहिले ड्रागन फुडका व्यावसायिक खेतीले तिब्रता पाउन थालेको छ । नीलकण्ठ नगरपालिका–१ पात्ले र नीलकण्ठ –१२ साङ्कोषमा लगाइएको ड्रागन फुडको व्यावसायिक उत्पादन सुरु भएको छ ।
ती दुवै ठाउँमा अहिले धमाधम ड्रागन फुड टिप्ने बेला भइरहेको छ । राताम्मे भएर फलेको ड्रागन फुड टिप्ने सिजन सुरु भएको छ । यतिखेर कोपिला लाग्दै गरेको, फुल फुल्दै गरेको र टिपेर खाने अवस्थामा पुगेको फल हेर्न लायक छ । अघिल्लो वर्षबाट फल दिन सुरु गरेको बिरुवाले यो वर्ष राम्रो उत्पादन दिन थालेको नीलकण्ठ–१२ का छविन्द्रनारायण श्रेष्ठले बताए ।
उनले करिब १० रोपनी पखेरा बारीमा आठ सय बिरुवा लगाएका छन् । विसं २०७८ बाट ड्रागन फुडखेती सुरु गरेका उनले अहिले यसबाट लाभ लिन थालेका छन् । अहिले चार सय बिरुवाले फल दिन थालेको छ । ड्रागन फल लिन घरैसम्म मानिस पुग्ने गरेका छन् । उनले भने , “घरैमा पुग्नेलाई प्रतिकिलो रु पाँच सयमा बिक्री गरिरहेको छु ।”
टाढा–टाढाका मानिस खेती हेर्नकै लागि मात्रै पनि बारीमा पुग्ने गरेका छन् । किसान श्रेष्ठले फेसबुकमा ड्रागन फुड पाकेको सूचना हालेपछि यतिखेर ताजा फल खान र चाख्नैका लागि जनाउँदै फल किन्न बारीमै पुग्ने गरेका छन् । औषधीय गुण हुने र नेपालकै लागि नौलो किसिमको फल भएका कारण माग बढ्दै गएको भनाई उनको छ ।
विसं २०५० तिर शिक्षकको जागिर छाडेपछि कृषि पेसा अँगाल्दै आएका उनले ड्रागन फुडखेतीका लागि रु २२ लाख लगानी गरेका छन् भने यसलाई अझ विस्तार गर्ने सोच उनको रहेछ ।
काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत बनेका छन् व्यवसायी श्रेष्ठ । ड्रागन फुडको बजारमा माग थेरै रहेको हुँदा मागअनुसार ड्रागन फुडसमेत बजारमा नरहेको उनले बताए । युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनुपर्छ जनाउँदै ड्रागन फुडखेतीको सुरुआत गरिएको र ड्रागन फुडको उत्पादनभन्दा बजारमा माग बढिरहेको बताए । उनका अनुसार फूल फुलेको ३०औँ दिनमा फल पाकेर खानका लागि योग्य हुने र टिपेर राख्दा १० र १५ दिनसम्म नबिग्रिने हुन्छ ।
कृषिमा होमिएका किसानको बजारको चिन्ता नहुने गरी बजार प्रवर्द्धन गर्ने र उत्पादनमा आधारित भएर अनुदानलगायतका सहयोग पाउने वातावरण हुनुपर्ने श्रेष्ठको माग छ । नेताका पछि लागेकालाई दिने गरेको अनुदानले कृषि क्षेत्रको प्रवर्द्धन नहुने र उत्पादन पनि नबढ्ने भएकाले सबै वादभन्दा माथि उठेर किसानका लागि सहयोग गर्न आग्रह उनको छ ।
नीलकण्ठ –१ का गणेश गुरुङले पनि दुई वर्षअघिदेखि बिक्री गरिरहेका छन् । तीन रोपनी बारीमा दुई सय बोट ड्रागन लगाउनुभएका गुरुङले यो वर्ष पनि धमाधम बिक्री गरिरहेका छन् । भारतीय सेनाको जागिरबाट पेन्सन पकाएर ड्रागन फुडको खेती सुरु गर्नुभएका गुरुङले अहिले राम्रो आम्दानी गरिरहेका छन् ।
एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्न खेतीबालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने अनुभव गुरुङले बटुलेका छन् । गुरुङको बारीबाटै प्रतिकेजी रु पाँच सयदेखि छ सयसम्ममा बिक्री हुने गरेको छ । उत्पादन भएका फल धादिङबेँसी बजारमा नै खपत भइरहेको छ । जिल्लाभर एक दर्जन किसानले यसको खेती सुरु गरेका छन् ।
गर्मी समयको वैशाखदेखि मङ्सिरसम्म मुख्यरूपमा फल दिने ड्रागन फुड वर्षमा आठ महिनासम्म फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ । उहाँको बारीमा पहिलो र दोस्रो छिमालको फल फलेर बिक्री भइसकेको छ । तेस्रो छिमालका फलहरू अहिले फल्दैछन् भने चौथो छिमालको फल उत्पादनका लागि पनि कोपिला बसिसकेको छ । ड्रागन फुड रोपेको २५ वर्षसम्म उत्पादन लिन सकिन्छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments