ललिता निवास प्रकरण : २९० जनालाई प्रतिवादी बनाएर अभियोगपत्र दायर

- भाद्र १०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बालुवाटार स्थित ललिता निवास भित्र रहेको जग्गा हिनामिना प्रकरणमा संलग्न विरुद्ध अदालतमा अभियोगपत्र दायर गरिएको छ । जिल्ला अदालत काठमाडौँमा २९० जनालाई प्रतिवादी बनाएर अभियोगपत्र दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि नेउपानेले कासिन सँगको छोटो कुराकानीमा बताए ।

जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्रसँगै थुनामा रहेका १८ जना प्रतिवादीलाई अदालतमा उपस्थित गराएको छ । १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ५७ दिनसम्म ‘संगठित किर्ते’ कसुरमा अनुसन्धान गरेर सोही कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर, ललिता निवासमा ‘संगठित कसुर’ आकर्षित नहुने भन्दैै सरकारी वकिलले ‘लिखत किर्ते’मा मात्रै सजाय र जरिवाना हुनुपर्ने मागदाबी लिएको छ ।
बालुवाटार स्थित ललिता निवास क्याम्पको १ सय ४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ । सीआईबीले पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छेदार सहित ४ जना पूर्वमन्त्रीहरुलाई प्रतिवादी बनाउन राय दिएको थियो ।

प्रहरीको राय अनुसार ४ जना पूर्वमन्त्रीलाई प्रतिवादी कायम गरिएको छ । सरकारी वकिलले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सह–सचिव सुशील वैद्यलाई पनि प्रतिवादी बनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर