वैदेशिक रोजगारीको नाममा ठगी : विभिन्न मुलुकहरुमा रोजगारी दिलाई दिने नाममा ठगी गर्ने चार जना पक्राउ

- भाद्र ११, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अहिले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठग्नेहरुको समूह बढ्ने क्रममा रहेको छ । विदेशमा काम लगाई दिन्छु भन्दै आर्थिक चलखेल गरेर ठग्नेहरुलाई प्रहरीले आफनो कामको पहिलो सूचीमा राखेको छ । विभिन्न व्यक्तिहरुलाई विदेशमा रोजगारी दिलाईदिन्छु भन्दै ठग्दै हिड्ने चार जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेकाहरुलाई सार्वजनिक पनि गरेको छ ।
ठगीको क्रममा पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौँ टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले जानकारी दिए ।

एसपी केसीका अनुसार पक्राउ परेकामध्ये मगरले दुई जनालाई क्यानडा पठाइ प्रतिष्ठित मार्केटमा मासिक रु दुई लाख तलबमा काम लगाइदिने जनाउँदै पीडितहरुबाट रु पाँच लाख ४५ हजार ठगी गरेको, सुनुवारले एक जनालाई क्रोएसिया पठाइ फुड प्याकिङमा मासिक रु एक लाख तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु दुई लाख ठगी गरेको, खड्काले एक जनालाई कुँवेत पठाइ बाइक राइडरमा मासिक रु ५० हजार तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु एक लाख ९४ हजार ठगी गरेका आरोपमा पक्राउ गरिएको हो ।
यसैगरी गुरुङले एक जनालाई नेदरल्याण्ड पठाई सुपर मार्केटमा मसिक रु एक लाख तलबमा काम लगाइदिने जनाउँदै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी रु तीन लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा एसपी केसीले बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर