फिचर / धार्मिक पर्यटन : बुढीगण्डकी र नेत्रावतीको रुप नारसिंह र ब्राह्मी मिलेर बनेको नरसिंह धाम

- भाद्र ११, २०८० मा प्रकाशित


शङ्कर श्रेष्ठ,
मलेखु (धादिङ), ।

भक्त प्रह्लादले तपस्या गर्दा भगवान् नरसिंहले नदीबाट प्रकट भएर दर्शन दिनुभएकाले त्यो नदीको नाम नारसिंहे भनेर रहन गयो र त्यो नदी नै अहिले नेत्रावती (आँखु) नामले चिनिन्छ । नेत्रावती नदी भगवान् शिवजीको आँखाबाट बगेकी हुन् भन्ने पनि जनविश्वास पाइन्छ ।
नरसिंह धामको २०६६ फागुनदेखि खोज अनुसन्धान सुरु भएको शास्त्रीय प्रमाणका आधारमा पं. मोहन लामिछाने स्थानीयवासीको सहयोगमा नरसिंह मन्दिरको स्थापना गरे । २०६७ सालमा आँपको फेदमा बसेर पुराण लगाएर उठेको पैसाले मन्दिरको संरचना निर्माण थालियो ।
मन्दिर बनाउने स्थान खार्ने क्रममा लिच्छबीकालीन सिक्का पैसा, इँट्टाका मूर्तिलगायत भग्नावषेश फेला प¥यो । त्यसपछि हरेक वर्ष पुराण लगाउन थालियो । २०७२ सालको भूकम्पले मन्दिर भत्किएपछि उत्खनन् गर्दा प्राचीन ढुङ्गा, इँटा र सिक्काहरू भेटिएको थियो । सल्यानटारको तल्लो क्षेत्र सबै बालुवा र ढुङ्गाको डाँडो जस्तो छ । तर यस ठाउँमा भने सात÷आठ फिट गहिरो खन्दा चिम्ट्याइलो रातो माटो र इँटाका अवशेष भेटिन्छन् ।

विसं २०७६ देखि रु २१ करोडको लागतमा नयाँ मन्दिरको सुरुवात गरिएको छ । मन्दिर निर्माणका लागि विभिन्न पालिकाहरुको लगानी रहेको छ भक्तजनबाट सङ्कलन भएको रकमबाट मन्दिरका अतिरिक्त गुरूकुल भवन, आवास गृह, प्रसादी गृह, गौशालालगायतका भौतिक संरचना निर्माण भइरहेको छ ।
नरसिंह स्फटिक खम्बाबाट धाम हुँदै आगिञ्चोकसम्म पुग्दा भगवान् नरसिंह प्रकट भएको स्थल, होलीको दहन भएको स्थल (आगिञ्चोक), नारदमुनिले प्रह्लादलाई उपदेश दिनु भएको स्थल पनि यही हो भनिएको छ । विभिन्न पुस्तकहरुमा लेखिएअनुसार यस स्थानलाई श्वेतवराह कल्पमा प्रह्लाद महाराजले तपस्या गरेर भगवान् नरसिंह प्रकट भई दर्शन दिनुभएको स्थल भनी उल्लेख गरिएको छ ।
पुरातत्वविद्ले खोज अनुसन्धानमा यहाँ लिच्छवीकालीन बस्ती भएको अनुमान गरिएको छ । अर्कोतर्फ वैदिक सनातन शास्त्रहरूमा भगवान् नरसिंहदेवको विभिन्न १२ वटा प्राकट्य स्थल र १२ वटा नरसिंह पीठमध्ये यो स्थानलाई पनि एक पीठको रूपमा वर्णन गरिएको छ । शास्त्रीय हिसाबले यी दुई नदी बुढीगण्डकी र नेत्रावतीलाई नार सिंह र ब्राह्मी भनेर स्कन्द पुराण र पद्म पुराणमा व्याख्या गरिएको छ ।
स्थानीय पाकाहरूको भनाइअनुसार घाटबेंसी जाने पुल बन्नुभन्दा पहिला मानिसहरू गण्डकी नदी पार गर्न जँगार तर्नुपर्दा यहाँ तल आउनुपर्ने बाध्यता थियो । त्यतिखेरसम्म यहाँ पूजाआजा हुने गर्दथ्यो । त्यतिबेला यहाँ मन्दिर थिएन । तर यहाँ नरसिंह देवता छन् भन्दै थुम्कामा फूलपाती र भेटी चढाएर जाने चलन थियो भन्ने कथन छ ।
त्यतिबेला कतिपय मानिसले जताततै इँटा देखिने हुँदा यस क्षेत्रलाई इँटको डाँडो भन्ने गरेको किंवदन्ती छ । पछिल्लो समय मन्दिर निर्माणको निम्ति उत्खनन् गर्दा पनि २०३५ सालभन्दा अगाडिका झण्डै २ पाथी जति सिक्का भेटिएको थियो । नरसिंह धाम पछिल्लो समय आन्तरिक पर्यटनको गन्तव्य बनिसकेको छ । साउन महिनाभर चलेको पुरुषोत्तम महायज्ञ कथा अर्चना तथा नृसिंह महायज्ञले यसलाई अझ परिचित गराएको छ । विभिन्न सामाजिक संजालहरुमार्फत पनि यसको प्रचार निकै भएको पाइन्छ ।
धादिङको सदरमुकाम धादिङबेसीबाट मुरलीभञ्ज्याङ, ज्यामिरेबजार हुँदै टारीबेसी पुगिन्छ । त्यसपछि देशकै चर्चिक टार सल्यानटार उक्लिएर नरसिंह धामको ओरालो झर्नुपर्छ । धादिङबेसीबाट सयानटारको बसको यात्रा करिब एक घण्टा ४५ मिनेको हो । धादिङबेसीबाट आरुघाट जाने बसले सल्यानटारको पानी ट्याङ्की भन्ने ठाउँसम्म पु¥याउँछ । त्यसपछि म्याजिक भ्यानबाट करिब २० मिनेट नरसिंह धाम परिसर पुग्न सकिन्छ ।

एकातिर बूढीगण्डकी अर्काेतिर नेत्रावती । यही दुई नदीको सङ्गममा छ नरसिंह धाम । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका छन् ।

गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने यी दुई नदी मिसिएको दोभान प्राचीन समयदेखि नै नरसिंह देवताको उत्पत्ति स्थलको रूपमा परिचित छ । यशोधरा भन्नाले बुढीगण्डकी र नेत्रावती भन्नाले आँखु खोला भन्ने बुझाउँछ ।

अघिल्ला वर्षहरुमा खासै चर्चामा नरहेको धाम एकाएक चर्चामा आएसँगै धार्मिक पर्यटकको चहलपहल निकै बढेको छ । साउन महिनामा मात्रै १० लाख बढी भक्तजनले नरसिंह धामको दर्शन गरेका छन् । नरसिंह धाम विकास संरक्षण मूल समितिका अध्यक्ष फणिकान्त छत्कुली भन्छन् –‘‘साउन महिनाको सुरुवातदेखि एक महिने विशेष मेला आयोजना गरियो । त्यसपछि देशका कुनाकाप्चा र भारतबाट पनि भक्तजन आउन थाले ।’’ हिजोआज दैनिक सयौं भक्तजन धाममा पुग्छन् । बिदाको दिन त सानाठूला गरी दुई सय सवारी त्यहाँ पुग्ने गरेको भनाई उनको छ ।

धाममा जाने भक्तजन बुढीगण्डकी र नेत्रावतीको दोभानमा नुहाउँछन् र नरसिंहको अवतारमा पूजापाठ गरी भेटी चढाएर फर्किन्छन् । धेरै भीड भएको दिन चार लाख रुपैयाँसम्म भेटी सङ्कलन भएको अध्यक्ष छत्कुलीले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर