सुन तस्करी प्रकरण : दुई सातामा आरपार होला त ? – चिनियाँ गिरोह पक्राउ परे पनि भारत लैजाने व्यक्तिसम्म अझै प्रहरी पुग्न सकेन

- भाद्र १५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)सँग दुई साता मात्र समय बाँकी छ भने ३३ जनाको प्रहरीको समूह संगठित अपराध उसले अनुसन्धानलाई तीव्रता दिएको छ । अनुसन्धानमा प्रहरी अधिकृत थप गरी बृहत् टिम बनाइएको छ । एआइजी किरण बज्राचार्य नेतृत्वको टिममा दुई डिआइजी, तीन एसएसपी तथा चार एसपी प्रत्यक्ष रूपमा संलग्न छन् ।

केही प्रहरी अधिकारी अनुसन्धानका लागि हङकङ र नयाँदिल्लीसमेत पुगेका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को पनि सहयोग लिइएको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायत बताउँछन् । अन्तरदेशीय अपराध भएकाले यसमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याउने सिआइबीको प्रयास छ । नेपालमा सुन ल्याउने चिनियाँ गिरोह पक्राउ परे पनि भारत लैजाने व्यक्तिसम्म अझै प्रहरी पुग्न सकेको छैन ।

साथै, यसमा संलग्न नेपाली व्यापारीविरुद्ध पनि अझै बलिया प्रमाण जुटाउनै बाँकी रहेको सिआइबी स्रोत बताउँछ । दावासँगै धेरै नेपालीको सम्पर्क देखिएको र उनीहरूलाई बोलाउँदै सिआइबीले सोधपुछ गरिरहेको छ । जसमा कर्मचारी, प्रहरी, नेतादेखि विभिन्न क्षेत्रका व्यक्तिहरू छन् । बेल्जियम र नेपालको पासपोर्ट भएका दावा नेपाली महिलासँग बिहे गरी विगत पाँच वर्षदेखि लगातार नेपालमा बस्दै आएका छन् । सुन तस्करी मात्र नभई जडीबुटीदेखि डलर तस्करीसम्मको काममा उनको संलग्नता देखिएको छ ।

साथै, यसअघि विद्युतीय चुरोटभित्र र गाडीको ब्रेकसुलगायतका सामानभित्र लुकाएर सुन ल्याउने समूहबीच पनि सम्बन्ध देखिएको छ । त्यसमा पनि प्रहरीले सँगै अनुसन्धान अघि बढाएको छ । चिनियाँ समूहले कम्तीमा दुई हजार केजी सुन ल्याएको सिआइबीको आकलन छ । तर, थप सुन बरामद हुन सकेको छैन । सुन निकालिएका ब्रेकसु भने बरामद भएका छन् । दुई साताभित्रै सबै अनुसन्धान पूरा नहुने भएकाले पहिलो चरणमा अनुसन्धान सकाएर पक्राउ परेकाविरुद्ध मुद्दा दायर गर्ने र अन्यको हकमा पछि अनुसन्धान गर्ने सिआइबीको तयारी छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर