जोगप्रसाद पाण्डे : पुस्तकालयको संरक्षण नै दैनिकी

- भाद्र १६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

जीवनभर विवाह नगरी ब्रह्याचारी रहनुभएका स्याङ्जाको अर्चलेबारीका जोगप्रसाद पाण्डेको दैनिकी पुस्तकालयमै बित्ने गर्छ । गाउँकै जनता माविमा पढेका पाण्डे सानैदेखि आध्यात्मिक स्वाभावका हुनुहुन्थ्यो । केही वर्ष भारतमा धार्मिक गतिविधिमा रहेर २०४३ सालतिर नेपाल फर्किएका उनको जीवन सात्विक रहेको छ । विसं २०४८ देखि प्याज, लसुन, नुनसमेत छाडी एकछाक चोखो खाने गर्नुभएका उहाँ पठन संस्कृतिका लागि अभियानकर्मी मानिन्छन् ।

मातृभूमि सामुदायिक पुस्तकालयका पर्याय बनेका पाण्डेलाई १६औँ राष्ट्रिय पुस्तकालय दिवस, २०८० का अवसरमा मूल समारोह समितिले शुक्रबार सम्मान गरेको छ । हुन त बिर्घा गाउँ पहिलेदेखि नै शैक्षिक उर्बरभूमिले परिचित गाउँ हो । राणा शासनको अन्त्यसँगै विसं २००७ पछि नेपालमा विद्यालय खुल्नेक्रमसँगै यहाँ पनि विद्यालय खुले तर पनि पुस्तकालय खुल्न नेपालको २०४६ को बहुदलीय व्यवस्था नै आउनुपरेको थियो ।

विसं २०४७ मा गाउँकै गोपाल पाण्डेको अगुवाइमा पुस्तकालय खोल्ने अभियानमा जोगप्रसाद पनि सक्रियरूपमा लागे । एउटा सानो कोठाबाट सुरु भएको पुस्तकालयले अमेरिकी नागरिक स्व एन्टोनिया न्यूवारको सहयोगमा मातृभूमि सामुदायिक पुस्तकालय सञ्चालनमा आयो ।

विसं २०५० देखि आफ्नै भवनबाट सेवा दिने गरी नियमितरूपमा पुस्तकालय सञ्चालनमा आयो । गाउँमा पुस्तकालय त खुल्यो जिम्मा लगाउने पाको मान्छे को भन्दा पुस्तकालयको स्थापना गर्ने कार्यमा महत्वपूर्ण योगदान पु¥याएका, स्वाभावले पनि आध्यात्मिक गाउँका सबैको सहमतिमा पहिलो कर्मचारीका रुपमा पुस्तकालयको जिम्मेवारी दिइयो । यो तीन दशकको दौडानमा पुस्तकालयमा धेरै कर्मचारी अदलबदल भए पनि जोगप्रसाद २०५० साल कात्तिक १३ गते नियुक्त भएयता निरन्तर सतिसाल झैँ हालसम्म कार्यरत छन्न् ।

गाउँकै पुरानो घर किनेर आफ्नो सेवा सुरू गरेको पुस्तकालयका झ्यालढोका पुराना भएकाले सुरूआती दिनमा उनले कैयौँ रात पुस्तक कुर्ने प्रयोजनका लागि एक्लै पुस्तकालयमै केबल गुन्द्रीमा सुतेर रात काट्छन्।

पुस्तकालय भवन, पुस्तक, पत्रपत्रिका भए पनि पुस्तकालयको सञ्चालनको नियमित आर्थिक स्रोत अभावका कारण २०५२ सालतिर पुस्तकालय सञ्चालक समितिले ‘पीसीओ’ फोन सेवा सञ्चालमा ल्याएको थियो । त्यसबाट हुने मुनाफाले कर्मचारीलाई तलब खुवाउने चलन हुन्थ्यो । करिब पाँच÷छ वर्षसम्म यो सेवा चल्यो ।

सो समयमा बेलाबेलामा फोनको टावरमा समस्या आउथ्यो । टावरमा समस्या आउँदा पाँच÷छ घण्टाको ठाडो उकालो हिँडेर गुल्मीको हिले जानुपथ्र्यो त कहिले ब्याट्रीमा समस्या आउदा चार्ज गर्न चार÷पाँच घण्टाको दूरीमा रहेको पाल्पा किन नहोस् पाण्डे खाली खुट्टा ब्याट्री बोकेरै जानुहुन्थ्यो र फोनसेवा दिएरै पुस्तकालयको नियमित खर्च चलाउन सहयोग पु¥याउथे ।

पुस्तकका अलावा पाठकको तीव्र रुचि विभिन्न दैनिक, साप्ताहिक तथा मासिक पत्रपत्रिका हुनेहुँदा पुस्तकालयले आफैँ किन्न नसकेको अवस्थामा वार्षिकरूपमा उनले दाता खोजी करिब दुई दर्जन पत्रपत्रिकाको व्यवस्थापन गरे । उनले यातायातको सुविधा नहुँदाको समयमा पनि तीन घण्टा लगाएर ९१ दिन मिर्मि बजारसम्म खालीखुट्टा पैदल गएर पनि पत्रपत्रिका ल्याएर पाठकलाई ज्ञान तथा सूचना बाँडे ।

विसं। २०७२ को विनाशकारी भूकम्पपछिको जीर्ण अवस्थाको भवनबाट भनौँ या कोभिड महामारीको अवस्थामा पनि आफ्नो ज्यानको प्रवाह नगरी पाठकको आवश्यकतालाई मध्यनजर राख्दै जोगप्रसादले निरन्तर सेवा दिए । उनले पुस्तकालयलाई बन्द हुने अवस्था हुन दिएनन् ।

नियमित आर्थिक सोत नहुँदा पुस्तकालय व्यवस्थापन समितिले मृत्युवरण भएका व्यक्तिका नाममा अक्षयकोष स्थापना गरी त्यसबाट आउने व्याजको रकम र आजीवन सदस्य शुल्कको रकमबाट सञ्चालन गर्नुपर्ने अवस्थामा उहाँले थुप्रै अक्षयकोष स्थापना गर्ने दाता तथा सदस्य खोजी गरी पुस्तकालय सञ्चालन खर्च जुटाए ।

पुस्तकालयको आर्थिक पक्ष कमजोरका कारण कतिपय समयमा जोगप्रसादले बिना पारिश्रमिकमा स्वयंसेवकका रुपमा काम गरेरै पनि पुस्तकालय सञ्चालन गरिदिए । उनले कतिपय समयमा न्यून पारिश्रमिकमा सेवा दिएकै कारणले पुस्तकालय नियमितरुपमा सञ्चालन भएको छ ।

स्थापनाकालदेखि हालसम्म पुस्तकालयको गरिमा जोगाइराख्न जोगप्रसादको महत्वपूर्ण भूमिका रहेको हुँदा नै आज मातृभूमिबाट हजारौँ पाठक लाभान्वित भएको कुरा नेपाल सरकारले सम्झिएको राष्ट्रिय पुस्तकालय दिवस, २०८० को मूल समारोह समितिको प्रचारप्रसार उपसमितिका संयोजक रामप्रसाद पाण्डेयले बताए ।

पुस्तकालयको नियमित आफ्नो जिम्मेवारी त थिए नै त्योबाहेक पुस्तकालयलाई जीवन्त राख्न ६५ वर्षीय जोगप्रसादले कुनै कसर बाँकी राखेनन् । आफ्नो नियमित साधना, घरधन्दा सकेर पुस्तकालय समयभन्दा पहिले पुग्ने र अन्तिममा निस्किनेमा उनी पर्छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर