पुल्चोक–गोन्द्राङ छ लेन सडकको काम वर्षाले प्रभावित
- भाद्र १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
चितवन ।
वर्षात्का कारण पुल्चोकबाट गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गअन्तर्गत छ लेन सडक निर्माणको काम प्रभावित बनेको छ । नारायणगढको मुख्य बजार क्षेत्रमा ‘ग्राभेलिङ’ गर्नुपर्ने बेलामा पानी जमेपछि काम प्रभावित बनेको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार बजार क्षेत्रमा पानीका कारण काम प्रभावित भएको छ । उनले भने, “चार–पाँच दिन पानी रोकियो भने काम गर्न सकिन्छ ।” अहिले पानी जमेपछि ग्राभेल बिच्छ्याएर रोलिङ गर्न नमिलेको उनले जानकारी दिए ।
यससँगै भरतपुर ओरालोमा खानेपानीको पाइप सार्ने काम भइरहेकाले सडकको काम प्रभावित बनेको छ । तत्कालका लागि काम गर्न बजेट रहेकाले आर्थिक कारण काम नरोकिएको उनले बताए ।
यस आर्थिक वर्षका लागि रु पाँच करोडमात्रै बजेट विनियोजन भएको छ । थप बजेटका लागि सडक विभागमा मौखिक कुरा भइरहेको जनाउँदै उनले कात्तिक महिनामा बजेट माग गरिने बताए ।
हालसम्म सो सडकखण्डको ७० प्रतिशत काम सम्पन्न भएको छ । विसं २०७७ असोज २६ गते भएको सम्झौताअनुसार ठेकेदार पक्षले विसं २०७९ फागुन १० गते निर्माणको काम गरिसक्नुपर्ने थियो । कोरोना, निर्वाचनलगायत विभिन्न कारणले गर्दा समयमै काम सम्पन्न हुन नसकेपछि समय थप गरिएको छ । नयाँ सम्झौताअनुसार आगामी मङ्सिरको २३ गतेसम्म सडक विस्तार गरिसक्नुपर्ने हुन्छ ।
रु एक अर्ब २३ करोडको लागतमा पुल्चोक–गोन्द्राङ सडक छ लेनमा विस्तारको काम भइरहेको हो । सडक निर्माण कम्पनीका प्रमुख सहदेव खड्काले वर्षात् र खानेपानीका पाइपका कारण कामलाई तीव्रता दिन नसकिएको बताउनुभयो । छिट्टै कामलाई तीव्रता दिने उनको भनाइ छ ।
कम्पनीसँग आवश्यक उपकरण, जनशक्ति र कच्चा पदार्थ रहेकाले पानी पर्न रोकिएसँगै कामले तीव्रता पाउने उनले बताए । भरतपुर र नारायणगढको मुख्य सहरी क्षेत्र हुँदै जाने सडक निर्माण प्रभावित भएपछि यहाँको व्यवसाय पनि प्रभावित बनेको छ । व्यवसायीहरूले यथाशीघ्र काम अघि बढाउन दबाब दिँदै आएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments