साहित्यीक पाटो / कविता : अतीत

- भाद्र २२, २०८० मा प्रकाशित



प्रदिप ढकाल

सम्झनाहरु पनि अचम्मका छन् –
छोटै पलका लागि नै सही
जसले जीवनका कुनै क्षणमा सबैभन्दा सुन्दर प्रेम दियो,
त्यही छोटो पल
जीवनभरको लागि स्वर्णिम सम्झना बनेर बस्ने रहेछ ….
अनि जसले जीवनमा सबैभन्दा बढी दुःख दियो
उसकै सम्झना पीडा बनेर जीवनभर रहिरहने रहेछ ….

तर मनमा गहिरिएर हेर्दा त –
कथैकथाको स्मृतिले भरिएको त्यही समय ठीक
छुटेकै भएपनि त्यही प्यारो प्रीत ठीक
टुटेकै भएपनि तिनै मित ठीक
नहिँडेकै भए पनि तिनै गोरेटो ठीक ….

भोलि कहालीलाग्दो छ कि ?
त्यसैले त्यो डर भन्दा त त्यही हिजो नै ठीक ….
निष्फिक्री दौडिन पाइने, माटोमा लडीबुडी खेल्न पाइने
चोट किन लाग्यो भनेर जवाफ दिनु नपर्ने …

कटेरो बनाएको, कुलोमा पातको डुङ्गा चलाएको
कागजकै सही जहाज बनाएर आकाशमा उडाएको
आफूले देखेका गुडिया र परीका सपनाको
कसैलाई स्पष्टीकरण दिनु नपर्ने
त्यही बालापन नै ठीक …..

घुम्टो ओढेर गाउँदै नाचेको त्यही झ्याउरे गीत
अनि मादल र खैँजडीका तिनै ताल ठीक
घरघर चहारी दशैँको टिका लगाउँदै घर फर्केर
उत्सुकतामा गनिएका त्यही डबल रुपियाँ ठीक
भैलो र देउसी भन्दै आँगनीमा नाचेर पाएको
थालीका तिनै सेलरोटीको स्वाद ठीक ….

चिप्लेटी खेलेका ढुंगाहरुको तातोपन
छप्ल्याङ् छुप्लुङ गर्दै हाम फालेका पोखरी
बनजंगलका चराका आवाज
खोला छेउका बालुवामा बनाएका थुम्काहरु
बेल र जामुन अनि
अम्बा र सुन्तलाका रुखमा लटरम्म फलेका फलहरु
यी सबैसबैको स्मृति नै ठीक …

सम्झनाका तरेली त आइ रहन्छन् –
कहिलेकाहीँ सपनीमा जिस्काइ पनि दिन्छन्
तर कति भ्रमित रहनु र ?
बरु सल्लाघारीमा सुसाउँदै आएको हावाले
गालामा गरेको त्यही चुम्बन नै ठीक
आँगनका डीलमा फुलेका चमेली र गुलाफको वास्नाले
रंगाएको त्यो मधुर साँझ नै ठीक ….

आफ्नै हुँ भन्दै समीपै बसेर तीरले घोची
नदेखिने मुटुमा बनेको घाऊ
जीवनभर दुखिरहने रहेछ
बरु गल्ती नै गर्दा पनि उत्तिबेलै निको हुने
आमाको त्यही चड्कन ठीक ….

बाल्यकालको बार्दलीबाट जीवनलाई हेर्दै गर्दा –
बादलको घेरामा परेको चट्याङबाट निस्केको
प्रकाशको झिल्कोसँगै
बिलाएको त्यही अनिश्चित भविष्य नै ठीक …

झमझम पानी परेको समयमा
बादलका थुम्कासँगै उडेर अनन्तमा गइरहेको
फेरि कहिल्यै नफर्किने त्यही सपनाको लहर नै ठीक …..

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर