विचार / सन्दर्भ : बिपी जयन्ती – प्रजातन्त्रको आदर्शहरू छाडेर केवल सत्ताको राजनीति जसले गर्छ त्यो निरर्थक भएर जानेछ > जननायक बिपी

- भाद्र २४, २०८० मा प्रकाशित


सुधीर नेपाल ।

जुन दिन नेपाली कांग्रेसले राष्ट्रियताको आफ्नो अडान छोड्नेछ ,यो निरर्थक भएर जाने छ । जुन दिन यसले प्रजातन्त्रको आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्ने छ , यो निरर्थक भएर जानेछ ।” ( जेल जर्नल) ( बिश्वेस्वर प्रसाद कोइराला )।
बिपी भन्नुहुन्थो राजनीति गर्ने व्यक्ति सरल, सहज र खुला किताब अर्थात् जोगीसरह जनतामा समर्पित हुनुपर्छ ।
हो आज त्यही दिन हो जुन दिन बिपी कोइरालाले यो धर्तीमा पाइला टेकेको थिए । अर्थात आज जननायक, राजनेता बिपी कोइरालाको ११० औं जन्म जयन्ती ।
आज पनि बिपी कोइरालाले दिएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नितिलाई कांग्रेसले पछ्याई रहेको छ भन्ने एउटा बहाना बाजी मात्र भएपनि मूलत रुपमा बिपीको सिद्धान्तलाई प्रक्षेपण गरेर लाने सार्मथ्य अहिले सम्म पनि कांग्रेसमा देखीएको छैन् ।
कांग्रेस कसको भन्दा जननायक बिपीको भन्ने कुरा सुनिन्छ । तर बिपीले चालेको हरेक कदमको ठिक विपरीत अहिले कांग्र्रेस परिमार्जित हुँदै गइरहेको छ । बिपीका आर्दशलाई कोटको भित्री खल्तीमा राखेर जति कुरा गरिन्छ । त्यसको एक छेउ पनि अहिले सम्म कांग्रेसले गर्न सकेको छैन् ।
नेपालको राजनीतिका शिखर व्यक्तित्व बिपी कोइरालाको आदर्श र मूल्यको राजनीति नेपालको राजनीतिक इतिहासमा चीरकाल पर्यन्त स्मरणीय रहने छन् । उनमा भएका निजत्वको प्रतिविम्ब स्पष्ट राजनीतिक विचार र नेतृत्वका हिसावले राष्ट्रवादी समाजवादी चिन्तकका रुपमा राजनीतिक वृत्तमा स्थापित नाम हो । विश्व राजनीतिक परिवेशलाई अत्यन्त शुष्मतम् दृष्टिकोणसम्म पुगेर विश्लेषण गर्न सक्ने र त्यसको सान्दर्भिकतालाई नेपालको भू–राजनीतिक धरातलमा विविध आयामसहित स्पष्ट प्रयोग गर्ने खुबी भएका नेताका रुपमा कोइरालालाई लिन सकिन्छ ।

कोइरालामा अन्तरनिहित बहुआयामिक प्रतिभाको सोपानको अलग पाटोको प्रतिनिधित्व साहित्यिक व्यक्तित्व र आख्यान साहित्यमा अलग धारका अग्रज श्रष्टाका रुपमा नेपाली साहित्याकाशमा उच्च मुल्यांकन गरिन्छ । उनका कालजयी सिर्जनाहरुमा सुम्निमा, तीन घुम्ती, मोदि आइन तथा हिटलर र यहुदी जस्ता औपन्यासिक कृृति तथा जेल जर्नललगायतका आत्म वृत्तान्तहरुले राजनीतिक वैचारिकताको आत्मबोध, यौन मनोविज्ञानको विश्लेषण तथा सामाजिक रुपान्तरण र मनो—सामाजिक सांस्कृतिक द्वन्द्वलाई वैचारिक धरातलमा सटिक प्रस्तुती गरेको पाइन्छ ।
जीवन र जगतका मूल्य र मान्यतालाई राजनीतिक विचार र साहित्यिक पक्षबाट उजागर गर्न सक्ने विलक्षणता बिपी कोइरालामा राजनीतिक विचार तथा सिद्धान्त र साहित्यिक सिर्जनाका प्रतिविम्ब बग्रेल्ती देखिन्छन् ।महामानव बिपी कोइरालालाई नेपाली राजनीतिमा अग्रज समाजवादी चिन्तक तथा पथ पर्दशकका रुपमा आम राजनीतिक वृत्तमा लिइन्छ । सही मानेमा बिपी कोइराला विश्व समाजवादी आन्दोलनका अग्रणी व्यक्तित्व थिए ।

नेपालमा लोकतान्त्रिक समाजवादको अभ्युत्थानमा बिपी कोइरालाको नेतृत्वदायी भूमिका दक्षिण एशिया तथा सिंगो एशियाका लागि मार्गदर्शक हुन सकेको छ । जसले गर्दा कोइरालालाई नेपाली कांग्रेसका अग्रणी नेता तथा जननायकका रुपमा मात्र स्थापित नगरेर समसामयिक विश्व राजनीति र बिशेषतः दक्षिण एशियाको अग्रज लोकतान्त्रिक समाजवादी नेताको रुपमा उभ्यायो ।
बिपी कोइरालाले आफ्नो प्रजातान्त्रिक सरकारको नेतृत्वका समयमा कुशल परराष्ट्र नीति अवलम्बन गरेका थिए । उनको कार्यकालमा देशले असंलग्न परराष्ट्र नीतिलाई निर्देशक सिद्धान्तका रुपमा लियो । जसको फलस्वरुप नेपालले दुई ठूला छिमेकी भारत तथा चीनलगायतका विश्वका सबै मित्र राष्ट्रहरुसँग यसै नीतिका आधारमा कुटनीतिक सम्बन्ध स्थापना र बिस्तार गर्न सकेको छ ।
शितयुद्धको चरम अवस्थाको विश्व परिवेशमा राजनीतिक घटनाक्रमहरुको विश्लेषण गरिएको खण्डमा विश्व कम्युनिष्ट खेमा र पुँजीजवादी खेमामा ध्रुविकरण भएको अवस्था थियो । तात्कालिक समयमा पुँजीवादी प्रजातान्त्रिक खेमाको नेतृत्व संयुक्त राज्य अमेरिका र साम्यवादी कम्युनिष्ट खेमाको नेतृत्व तात्कालिक साम्यवादी देश सोभियत संघले गरेको थियो ।
त्यस समयमा विश्व राजनीतिक परिवेश यस्तो चरम वैचारिक राजनीतिक ध्रुविकरणको अवस्थाबाट गुज्रिरहेको थियो कि कुनै पनि राष्ट्र–राज्यले आफ्नो राजनीतिक विचार, आर्थिक नीति तथा विकास र सामरिक सुरक्षाका फरक रणनीति र वैदेशिक नीतिका अलग मान्यता बोकेका विश्वव्यापी दुई खेमाका सदस्यका रुपमा सामरिक सुरक्षा तथा आर्थिक विकास र रुपान्तरणका लागि प्रयत्न गर्नु नितान्त स्वाभाविक र आवश्यक थियो ।

यस्तो विषम तथा अतिसंवेदनशील राजनीतिक काल खण्डबाट गुज्रिरहेको अवस्थामा बिपी कोइरालाले माथिका प्रमुख राजनीतिक तथा वैचारिक गुट भन्दा पृथक पहिचान, राजनीतिक आस्था र सिद्धान्तलाई अनुशरण गरी चरम साम्यवादी कम्युनिष्ट वैचारिकधारा र खुल्ला पुँजीवादी धारभन्दा पृथक विचारको उदार समाजवादी विचारधाराका मूल्य र मान्यतालाई अघि बढाउनु भयो ।
उदार समाजवादी नीति तथा त्यसै नीतिको जगमा उभिएको आर्थिक विकास र सामाजिक रुपान्तरणका कार्यक्रमलाई तात्कालिक बिपी कोइरालाको जनमुखी सरकारले प्राथमिकताका साथ लागू गर्ने कार्यको थालनी पनि भएको हो । जननिर्वाचित बिपी कोइरालाको छोटो समयको सरकारले उनकै समाजवादी चिन्तन र नीति अनुसारको राज्य व्यवस्था सञ्चालन र विकासलाई अघि बढाउन सक्यो ।
जनताविच बिपी कोइरालाका आर्थिक विकासका नीतिगत कार्यक्रम तथा त्यसैको जगमा उठेको सामाजिक, सांस्कृतिक परिवर्तनका कार्यहरुले नेपालको विकासमा नयाँ बिहानीको शुरुवात गर्न सकेको थियो । तर, हठात् रुपमा बिपी कोइरालाको लोकप्रिय जनउत्तरदायी सरकार तात्कालिक राजा महेन्द्रको उच्च महत्वाकांक्षा तथा राजनीतिक शक्तिआर्जन र प्रत्यक्ष प्रयोग गर्ने मनसायले प्रेरित भई २०१७ साल पौष १ को गैर प्रजातान्त्रिक कदमका कारण अवसान गरियो ।
लोकतान्त्रिक समाजवादले आफ्नो वैचारिक आधार खडा गर्ने क्रममा धेरै आरोह अवरोहलाई पार गर्दै आएको छ । लोक कल्याणकारी राज्यको अवधारणालाई मुर्तता दिने सवालमा समाजवादका विविध मूल्य र सारको फ्युजका रुपमा लोकतान्त्रिक समाजवादलाई लिन सकिन्छ ।

पाश्चात्य जगतका समकालिक चिन्तक सेन्ट साइमन, चाल्र्स फोरियर तथा बेलायती समाजवादी चिन्तक रोबर्ट ओवेनले सर्वहारा वर्गको उन्मुिक्त र उत्थानका लागि पुँजीपति वर्ग र श्रमिक वर्गका बीचमा हितको संरक्षण हुन सक्ने वैचारिक आधार प्रस्तुत गरे, जसलाई कुनै न कुनै रुपमा माक्र्स र एंगेल्सले आफ्नो कम्युनिष्ट विचार र माक्र्सवादी चिन्तनका वैचारिक बहस चलाएका थिए ।

लोकतान्त्रिक समाजवादको सारभूत महत्वपूर्ण पक्ष वर्ग समन्वयको आधार यिनै समाजवादी चिन्तक तथा दार्शनिकहरुले तयार गरेका हुन् । वर्ग समन्वय तथा उदार आर्थिक विकासका आयामलाई महत्व दिएर लोकतान्त्रिक समाजवादले तेस्रो विश्वका अतिकम विकसित तथा विकासोन्मुख देशमा राजनीतिक व्यवस्थाको आधार र समग्र आर्थिक सामाजिक रुपान्तरणका लागि नविन विचारधाराका रुपमा काम गर्यो ।

यस दिशामा नेपालको समुल आर्थिक राजनीतिक इतिहासको विश्लेषण गरिएको खण्डमा उदार समाजवादी विचारका नीति तथा कार्यक्रमले नेपाली जनताको आर्थिक उत्थान, सामाजिक रुपान्तरण तथा विकासका लागि कुनै न कुनै रुपमा योगदान दिई आएको छ । जसलाई कसैले पनि नजरअन्दाज गर्न सकिँदैन् ।आजको समसामयिक परिवेशमा विकास, परिवर्तन तथा राजनीतिक स्थायित्वका लागि बिपी कोइरालाले आजभन्दा छ दशकअघि प्रतिपादन गरेको लोकतान्त्रिक समाजवादी आर्थिक नीतिको अनुप्राणिकता सान्दर्भिक रहेको विश्लेषण गर्न सकिन्छ ।

तसर्थ बिपी कोइरालाको बिचार, आदर्श, सिद्धान्त, समाजवाद राष्ट्रियता र लोकतन्त्रको आदर्शलाई आत्मसात् गर्दै युवा जगतलाई समेत समेटेर नयाँ जोश जाँगरका साथ केवल सत्ता केन्द्रित राजनीति होईन देश र जनताको हितमा काम गर्ने राजनीति गर्न सकेमा मात्र बिपी कोइराला प्रति उच्च सम्मान र सद्भाव हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर