विश्व सेरोफेरो : मोरक्को भूकम्प – २ हजारभन्दा बढीको मृत्यु, ३ दिन राष्ट्रिय शोक
- भाद्र २४, २०८० मा प्रकाशित
कासिन न्यूज,
ताफेघते (मोरक्को) ।
मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको अधिकारीहरूले बताएका छन् । पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६।८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेसमा नै भएको छ ।
शुक्रबारको शक्तिशाली भूकम्पमा परी दुई हजार १२ जनाको मृत्यु भएको तथा दुई हजार ५९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये एक हजार चार सय जनाको अवस्था गम्भीर छ । भैैचालोमो ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु रहेको अल–हौज प्रान्तमा सबैभन्दा बढी एक हजार दुई सय ९३ जनाको मृत्यु भएको छ भने ४५२ को साथमा ताराउदान्ट प्रान्तमा चार सय ५२ जनाले ज्यान गुमाएका छन् । मौले ब्राहिम गाउँमा कलिला केटाकेटीका शव देखेर भक्कानिएका ७० वर्षका बौचारा उद्धारकर्मीले घर नजिकै ५० जनाको शव गाडेको बताएका छन् ।
निरन्तरको पराकम्पले भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । उनीहरूले दुई रात घरबाहिर सडमा बिताएका छन् । अहिले पनि अधिकांश मानिस घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । सार्वजनिक स्थान, चौरस्ता एवं डबलीमा उनीहरूले आश्रय लिएका छन् ।
पहाडी क्षेत्रमा भएको क्षति एवं हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन । भूकम्पबाट अति प्रभावित दुर्गम पहाडी गाउँमा पुग्न सेना र आपतकालीन सेवाका अधिकारी खटिएका छन् । उद्धार टोलीहरू आवासीय भवनलाई भूकम्पले भग्नावशेषमा परिणत गरेका स्थानमा कोही जीवित भेटिन्छन् कि भन्ने आशमा दौडिएका छन् । उद्धारकर्मी र टोलीको सङ्ख्या बढाइएको गृह मन्त्रालयले जनाएको छ ।
“मैले सबै गुमाएँ,”श्रीमती र चार छोराछोरी गुमाएका मौले ब्राहिमको पहाडी गाउँका बासिन्दा लाहसेन बर्बरी आसुँ झार्दै भन्छन् । उद्धारकर्मीहरूले लाहसेनका तीन छोरीको शव घरको भग्नावशेषबाट निकालेका छन् तर अहिलेसम्म उनकी श्रीमती र छोराको शव फेला परेको छैन । “म अब केही गर्न सक्दिन, म संसारबाट टाढा जान चाहन्छु,” विलाप गर्दै उनको मुखबाट अवर्णनीय पीडा अभिव्यक्त हुन्छ ।
भूकम्प प्रभावित एउटा गाउँको एक स्थानमा भग्नावशेष पन्छाउँदा १८ जनाको शव निकालिएपछि एक जना ज्येष्ठ महिला नागरिकले डाको छोडेर रोयको दृश्यले उद्धारकर्मी तथा सञ्चारकर्मीलाई पनि भावुक बनाएको थियो । केन्द्रविन्दुभन्दा करिब ५० किलोमिटर पर अवस्थित ताफेघते गाउँमा केही भवनमात्र ठडिएका छन्भने अधिकांश ध्वस्त भएका छन् । बहत्तर वर्षीय ओमर बेन्हाना आफ्ना तीन जना नातिनातिनी र बुहारी एकै चिहान भएको बताउँछन् । शनिबार नै उक्त गाउँका स्थानीयले ७० जनाको शव व्यवस्थापन गरेका थिए ।
तीन दिन राष्ट्रिय शोक
मोरक्कोका राजा मोहम्मद छैटौँले तीनदिने राष्ट्रिय शोक घोषणा गर्दै पीडित परिवारलाई खाना आवासको व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ भने उद्धार टोलीहरूलाई सघाउन देशको राष्ट्रिय सेनालाई आग्रह गर्नुभएको छ । राष्ट्रिय शोकको यो घडीमा सार्वजनिक स्थल र सरकारी भवनहरूमा फहराईएका राष्ट्रिय झण्डा आधा झुकाइने सरकारी समाचार समितिले जनाएको छ ।
यसअघि सन् १९६० को भूकम्पमा परी मोरक्कोमा १५ हजार जनाको मृत्यु भएको थियो । भूकम्पबाट अगादिर शहर तहसनहस भएको थियो ।
(रासस/ एएफपी)
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments