अपरेसनमा प्रहरी / बढ्न थाल्यो अपराध : प्रहरीमाथि आक्रमण गर्दै हतियार खोस्ने ६ जना प्रहरीको कारवाहीमा
- भाद्र २४, २०८० मा प्रकाशित
कासिन न्यूज,
विराटनगर ।
मोरङ र सुनसरीमा रातको समयमा यात्रा गर्नेहरुलाई हतियार देखाएर लुटपाट गर्ने गरेको प्रहरीमा उजुरी परेको थियो । यो समूहले लुटपाट गरेको भन्दै ५ भदौमै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो । तर २२ भदौमा बुढीगंगा–४ पेठियामा यही समूहले प्रहरीमाथि आक्रमण गर्दै हतियार खोसेर लगेपछि चलाइएको कारबाहीमा ६ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका–४ का ३२ वर्षीय नसुदिन मिया, दुहबी–१ का ३० वर्षीय मोहम्मद अलिम मुर्तुजा, मोरङ बुढीगंगा गाउँपालिका–४ का ४० वर्षीय रिजवन मिया, बुढीगंगा–५ कै २१ वर्षीय मोहम्मद नजरूल मिया, २५ वर्षीय सिजाम आलम र भारत घर भई सुनसरी दुहबी नगरपालिका– ६ बस्ने ४० वर्षीय महम्मद आलम छन् ।
पछिल्लो समय भने उनी नयाँ समूह बनाएर रातको समयमा मोरङ र सुनसरीको विभिन्न स्थानमा लुटपाटमा संलग्न थिए । प्रहरीका अनुसार यो समूह राति ११ बजेदेखि विहान ३ बजेसम्म लुटपाट र चोरीमा सक्रिय भएको देखिन्छ ।
ड्युटीमा रहेका सादा पोशाकमा प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई त्यस दिन चार जनाको समूहले आक्रमण गरी हतियार लुटेर लगेको थियो । अनुसन्धानका क्रममा लुटपाट भएको पेस्तोलसहित गिरोहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
प्रहरीका अनुसार लुटपाट गर्ने गिरोहको नाइके रिजवान हुन् । उनी २०६४ सालदेखि २०७९ सालसम्म १० वटा अपराधिक घटनामा संलग्न भएको प्रहरीको दाबी छ । उनी विरुद्ध मोरङ र सुनसरी प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
रिजवानविरुद्ध डाका ज्यान, चोरी, हातहतियार खरखजाना, ज्यान मार्ने उद्योगलगायतका मुद्दा थिए । हातहतियार मुद्धामा केही समय उनी पुर्पक्षको लागि कारागार समेत बसेका थिए ।
भदौ २ गतेदेखि २२ गतेसम्म यो समूहले मोरङको विराटनगर, झोराहाट, बेलेपुर, ग्रामथान गिधनिया, तेतरीया, बेलबारीलगायतका स्थानमा १५ वटा लुटपाटका घटना गराएको थियो । त्यस्तै सुनसरीको दुहबी, बर्जु, गढीलगायतका स्थानमा लुटपाट गरेको थियो ।
अपरेसनमा प्रहरी
सुनसरीको धरान–इटहरी सडक खण्डको सेउती पुलमा गत साउन ५ गते विराटनगरका रोहित चौधरीको गोली हानी हत्या भयो । घटनापछि अनुसन्धान सुरु गरेको प्रहरीले हत्या आरोपी खोज्ने क्रममा मोरङ र सुनसरीको उत्तरी क्षेत्रमा लुटपाट गर्ने गिरोहलाई नियन्त्रणमा लिएको थियो ।
गत साउन १९ गते गिरोहका सदस्यहरु पक्राउ परेपनि लुटपाटको उजुरी भने रोकिएन । उत्तरी क्षेत्रबाट लुटपाटको उजुरी नआए पनि पूर्वपश्चिम राजमार्गबाट दक्षिणी ग्रामीण क्षेत्रबाट लुटपाट भएको उजुरी आइरह्यो । यसरी आउने उजुरीहरु मिल्दोजुल्दो थियो । दुवै क्षेत्रको घटनाको प्याटर्न उस्तै भएपनि कनेक्सन खुलिनसकेको डीएसपी दाहालले बताए ।
सुनसरी र मोरङका सडकमा लुटपाटको उजुरी आएपछि प्रहरीले ‘सेरा ब्राभो हन्ट’ अपरेसन चलायो । सोही अपरेसनका क्रममा प्रहरीले २२ भदौको राति गिरोहका सदस्यलाई पक्राउ गरेको थियो । यो समूहले रातको समयमा बाटो छेकेर हतियार देखाएर लुटपाट गर्दै आएको थियो । प्रतिकार गरेको अवस्थामा कुटपिट पनि गर्ने गरेको थियो ।
भदौ २२ गते राति साढे ११ बजे बुढीगंगा गाउँपालिका–५ बाट कोयलपुर क्षेत्रमा पैदल हिंडिरहेका ३ जना व्यक्तिहरुलाई लुटपाट गर्न खोजेको गुनासो आएपछि प्रहरी टोली घटनास्थल तर्फ गएको थियो। सो क्रममा राति करिब १२ बजे कोयलपुर क्षेत्रको नहरमा बसेको समूहलाई पक्राउ गरेको थियो । सोही दिन दुई जना सादा पोशाकका प्रहरीमाथि कुटपिट गरी हतियार खोसेर लगेका थिए ।
आरोपी पक्राउ परेपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले सो समूहको साथबाट कटुवा पेस्तोल, प्रहरीबाट लुटेको चाइनिज पेस्तोल पनि बरामद गरेको थियो । दुई वटा पेस्तोल, तीन वटा रड, चक्कु, पेचकस, दुई वटा मोटरसाइकल, एक लाख ७५ हजार नेपाली रुपैयाँ, ११ हजार ६ सय भारतीय नगद र लुटेको १६ वटा फोन बरामद गरेको थियो । पक्राउ परेकाहरुमाथि डाका मुद्दा र संगठित अपराधमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments