फिचर स्टोरी / मिलनलाई फर्काउने प्रयासमा : तारे होटलका भान्साहरु रंगाउँदै छन् थपलिया
- भाद्र ३०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
घरमा आमा एक्लै हुनुहुन्छ । यसो दाइहरुले बेलाबखत याद गरिदिनुहोला । हुन् त उनको घर नजिकै उनको साख्खे मामाको घर छ । तर पनि उनलाई मामा प्रति त्यति विश्वास छैन् । किनकी यो आधुनिक समाजले आफन्तहरुलाई हामी बाट टाढा लाँदै छ । यसैको एक उदाहरण हुन् बत्तिसपुतलीका मिलन बस्नेत ।
बस्नेतले रोजगारीको लागि दुबईको तातो मौसममा पसिना बगाउन थालेको पनि ५ वर्ष बित्न थालेछ । अविवाहित बस्नेत भर्खर २७ वर्षको पारोमा उक्लिदैछन् । तर उनको जिम्मेवारीता देख्दा लाग्छ उनले युवा अवस्था पार गरिसकेका छन् ।
मिलन त एक उदाहरण मात्र हुन् । मिलन जस्ता हजार युवाहरुको अहिले वैदेशीक रोजगारीको बाहिरीने यात्रा जारी छ ।
बडो टिठलाग्दो देखिन्छ अन्तराष्ट्रिय विमानस्थलको दृश्य । वृद्ध बाआमा तथा परिवार, छोराछोरीलाई बिदाइ गर्न नसकिरहेको दृश्य झन कारुणिक हुन्छ । आँखाभरि आँशु पार्दै मनले नमान्दै परिवारका सदस्यले बिदाइ गरिरहेका हुन्छन् । यो देख्दा लाग्छ, यो देशमा रोजगारीको सम्भावना नै छैन । त्यसैले गरेर खाने उमेरका युवायुवती यसरी दिन प्रतिदिन हजारौँको सङ्ख्यामा विदेशिएका छन् । अर्कातर्फबाट बाकसमा भित्रिएका शव बुझ्न आउनेको हालत त झन हेर्न नसकिने छ । त्यो दृश्यको बयान यहाँ शब्दले कोर्न कठिन छ ।
यी दृश्य देखेपछि जसका मनमा पनि प्रश्न उब्जिन्छ– के देशमा काम गरेर खाने वातावरण नै छैन त ? अधिकांश यस्तै मानसिकताले ग्रसित भएर युवाले देश छोडेका छन् र खाडी पसेका छन् । अनि बजारमा सधैँभरि सुनिने निरासा त छँदैछ, जसले यहाँ केही हुँदैन भन्ने नकारात्मक सन्देश मात्र पर्वाह गर्ने गरेको छ ।
तर नराम्रा दृश्य र अवस्था मात्र छैन देशमा । गर्नसके देशभित्रै सबथोक छ भन्ने सन्देश पनि खोजीपसे प्रसस्तै भेटिन्छ । यसका लागि धेरै टाढा जानुपर्दैन, राजधानीबाट केही किलोमिटर पर काभ्रेको पाँचखाल नगरपालिका बाँस्कोट पुगे हुन्छ । यहाँ पुग्ने जोसुकैले पनि देशिभित्रै सम्भावनाको थुप्रो देख्न सक्छ ।
यहाँका स्थानीय गोविन्द थपलियाको कृषि फार्ममा पुग्नेले रोजगारीका लागि विदेशिनु पर्दैन भन्ने सन्देश मात्र पाउँछन् । यतिमात्र नभएर बजारमा जताततै पोखिने गरेको ‘यो देशमा केही हुँदैन’ भनिने निरासा पनि यहाँ पुग्ने मानिसको दिमागबाट हटेर जान्छ । गोविन्दको पौरख देख्ने जोसुकैको मनमा पनि यही माटोमा पसिना पोख्न सके सुन फल्दोरहेछ भन्ने सोच पलाउँछ ।
पूर्व प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द थपलियाले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका बाँस्कोटमा १५ वर्षअघि ‘फार्म एग्रो प्रालि’ खोले । प्रहरी सेवामा रहँदा देशविदेश देखेका थपलियालाई कृषिकर्म गर्ने हुटहुटीले छोयो । त्यसपछि आफ्नै पैत्रिक जमिनको करिब ९० रोपनीमा उहाँले तरकारी र फलफूल खेती सुरु गरेका हुन् । ऊ बेलादेखि नै उनले काठमाडौँका तारे होटललाई बजारको ‘टार्गेट’ गरेका रहेछन् ।
गोविन्दले कोरोना महामारीपछि त्यही जमिन वरपर थप विस्तारित स्वरुपमा पशुपन्छी पालन थाले । त्यसपछि सो फार्ममा मिट मेकर प्रालि र मिट प्रोसेसिङ एण्ड मार्केटिङ कम्पनी हुँदै अहिले फार्म ग्रो ट्रेडिङ प्रालि सञ्चालित छन् । मागअनुसार जिउँदा तथा मासु बनाएरै उनले आपूर्ति गरेका छन् । अहिले त बजार खोज्न उनीहरुलाई काठमाडौँसम्म आउनुपरेको छैन, बजारले उनीहरुलाई खोज्दै पाँचखाल पुगेको छ ।
थप ५४ रोपनी जमिन लिजमा लिएर पशुपन्छी पाल्न थाल्नुभएका उनको फार्ममा अहिले तरकारी र फलफूलका अतिरिक्त करिब ३० हजार ब्रोइलर कुखुरासहित बाख्रा, गाई, भैँसी, बङ्गुर, स्थानीय जातका कुखुरा, टर्की आदि छन् । एकै स्थानमा रहेको करिब डेढ सय रोपनी जमिनमा अहिले तरकारी र फलफूलका साथै मासु उत्पादन हुन्छ ।
काठमाडौँका प्रमुख पाँचतारे होटलमा आपूर्ति गरिने मासु यिनै कम्पनीमा प्रोसेसिङ गरेर पठाउने गरिएको उनी बताउँछन् । यही फार्मबाट नै काठमाडौँका याक एण्ड यति, होटल र्याडिसन र हायात होटलमा उनकै फार्मबाट तरकारी, फलफूल र मासु आपूर्ति हुँदै आएको छ । अहिले यहाँ करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन् ।
यिनै कृषि फार्मबाट वर्षमा रु ७० करोडभन्दा बढीको कारोबार हुने गरेको थपलिया बताउँछन् । पन्ध्र वर्षअघि रु एक करोडबाट सुरु भएको उनको कृषि कर्मको यात्रा अहिलेको मूल्याङ्कनमा कम्तीमा रु ४५ करोड बराबरमा उक्लिएको छ । त्यसमा रु २० करोड जति बैंकको ऋण पनि रहेको उहाँ बताउनुहुन्छ । सन्ताउन्न वर्षीय थपलियाको यो फार्म १५ वर्षे यात्राको क्रममा नै नमूना बनेको छ । यसको अध्ययनका लागि स्वदेश तथा विदेशबाट पनि मानिस आउने गरेका छन् । उहाँको पशुपन्छी पालनलाई जर्मनीको पशु सेवासम्बन्धी संस्थाले एक सफल कृषक र सफल फार्म भनी संसारका पशुपालकको साइटमा राखेको छ । त्यसको अध्ययन गर्ने र थप बुझ्न उहाँको फार्ममा आउने विदेशी पनि थपिँदैछन् ।
“सबैको प्रश्न हुन्छ– काम गर्ने वातावरण कतिको छ ? बजारको सुनिश्चितता के छ ?” थपलिया भन्छन् “यो सबै नकारात्मक बजारको उपज हो । किन भने हामी नछजताततै सुन्छौँ कि अहिले देशमा गरिखाने वातावरण नै छैन । तर मलाई त्यस्तो छैन । मैले त्यस्ता ठूला चुनौतीको सामना गर्नुपरेको छैन ।”
उनको यो आत्मबल नै व्यावसायिक सफलताको जग हो । मानिस आफूले काम थालिहाल्न डराउने र सुरुमै वातावरण नभएको देख्ने गरेको बताउने थपलियाको प्रश्न छ “उद्यम नै सुरु नगरी उद्योगी या व्यवसायी कसरी बन्ने ? कामै नथाली सफल कसरी हुने ?”
सफलताको सबैभन्दा प्रभावकारी सूत्र मेहनत, स्पष्ट ‘भिजन’ र विश्वास हो भन्छन् थपलिया । पछिल्लो समय उनको कुखुरापालनबाट स्वदेश मात्र होइन विदेशीले पनि राम्रोसँग सिकेका छन् । ब्रोइलर कुखुरा पालनबाट आम्दानी धेरै भए पनि सबै सफल हुँदैनन्, कुखुराको मृत्युदर तीन / चार प्रतिशतसम्म हुने गर्दछ । उनको फार्ममा मृत्युदर त्यस्तै एक प्रतिशत छ । उनले हरेक दुई महिनामा एक लट कुखुरा बजारमा पठाउनुहुन्छ । वर्षमा छ लटसम्म कुखुरा उत्पादन गर्ने गरेका छन् । अहिलेका ३० हजारको बुकिङ भइसकेको छ अर्काे लटको तयारी सुरु भएको छ ।
बजारमा अहिले बुङ्गुरको मासु अभाव छ । तर वर्षमा केही लाख कमाइका लागि नेपालका लाखौँलाख युवा खाडी पसेका छन् । मानिसले रु पाँच÷सात लाखबाटै बङ्गुरपालन थाल्ने हो भने यहीँ राम्रो कमाइ छ । दसैँ आयो खसीको आयात पहिलेभन्दा झन बढेका समाचार आउँछन् । तिहारमा फूल या भाइमसला लगायतका सामग्रीका लागि विदेशमै भर पर्नुपरिरहेको छ । यसको शूक्ष्म अध्ययन गरेर देशभित्रै काम गर्ने वातावरणका लागि सरकारले युवा जनशक्तिलाई प्रेरित गर्नुपर्छ भन्छन् थपलिया ।
उनी भन्छन् , “डाँडापाखा खाली छन्, खेतबारी बाँझै छन् । तर हामी खाडीबाट अएको रेमिट्यान्सबाट अन्न निर्यात गर्छौं । आखिर के अर्थ भयो त ?” सरकारले कृषिमा दिएको अनुदान वास्तविक किसानले नपाएको उहाँको अनुभव छ । सरकारले किसानलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम नल्याउँदासम्म कृषि क्रान्ति सम्भव नभएको बुझाई उनको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments