गुरुकूल शिक्षा : अनुशासन, समयको महत्व, सरसफाइ र कर्म ज्ञानको माध्यम
- आश्विन ६, २०८० मा प्रकाशित
कासिन न्यूज,
मध्यविन्दु (नवलपरासी) ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–८ का सुजन अधिकारी ज्योतिष बन्ने चाहनाले गुरुकूलमा भर्ना भए । गैँडाकोट–१ मा रहेको मौलाकालिका संस्कृत विद्यापीठ गुरुकूलमा कक्षा ८ मा अध्ययन गर्ने सुजनले अहिले आफूमा नियमको पालनासँगै अनुशासनको विकास भएको बताए ।
“यहाँ बिहान ४ बजे उठ्ने नित्यकर्म गर्ने, १५ मिनेट ध्यान, पाँच मिनेट प्रणायम र महर्षी पूजा गर्ने, पूजा पछि अखण्ड रुद्राभिषेक पाठ बिहान ६ बजेभित्र नै गरिसक्छौँ”, उनले भने, “जीवनमा अनुशासन, समयको महत्व, सरसफाइ र कर्मको ज्ञान मिलेको छ ।”
मौलाकालिका धार्मिक सेवा समिति गैँडाकोटमार्फत मन्दिर परिसरमा सञ्चालित संस्कृत विद्यापीठ गुरुकूलमा ३२ जना विद्यार्थी अध्ययनरत छन् । गुरुकूललाई धर्मशास्त्र सिकाउने केन्द्रका रूपमा धेरैले बुझ्ने गर्दछन् । यसको गहिराइ बुझ्दा धर्मशास्त्र सँगै व्यावहारिक ज्ञान एकै ठाउँमा सिकाउने थलो भएको अधिकारीले बताए । गुरुकूलमा अध्ययनरत विद्यार्थीमा संस्कृतप्रतिको मोहमात्र होइन, जीवन र जगतसँग परिचित हुने अभ्यासको विकास भएको अध्ययनरत विद्यार्थीको भनाइ छ ।
अर्घाखाँचीका १४ वर्षीय दिनेश पौडेल अहिले गुरुकूलको कक्षा ८ मा अध्ययनरत छन् । कक्षा ५ सम्म अर्घाखाँचीकै गाउँको स्कुलमा पढ्नुभएका पौडेल कक्षा ६ देखि गुरुकूलमा पढ्न थालेका हुन् । सामान्य विद्यालयको पढाइभन्दा गुरुकूलका कक्षाहरू उनका लागि विशेष भएको छ । गुरुकूलको पढाइ, रहनसहन, खाने, बस्ने सबै कुरा बेग्लै लाग्ने गरेको पौडेलले बताए । “म यहाँ आफ्नै इच्छाले पढ्न आएको हो, यहाँ आएपछि जीवनशैलीमा निकै परिवर्तन भयो”, उनले भने , “दैनिक कर्मले गर्दा अनुशासन र स्मरण क्षमतामा पनि परिवर्तन आएको छ ।”
गुरुकूल शिक्षामा धर्म, संस्कार र संस्कृति सिकाइन्छ । प्राचीनकालदेखिको प्रभावशाली शैक्षिक प्रणालीका रूपमा गुरुकूल शिक्षालाई लिने गरिन्छ । गुरुको आश्रममा गएर शिक्षा लिइने पद्धतिलाई गुरुकूल शिक्षाका रूपमा बुझिन्छ । पछिल्लो समय गुरुकूलको अस्तित्व मेटिँदै गएको बेला मौलाकालिका संस्कृत विद्यापीठ यसको नमूनाका रूपमा रहेको समितिका अध्यक्ष शालिकराम सापकोटाले बताए । गुरुकूल शिक्षाबाट धर्मशास्त्रसँगै व्यावहारिक ज्ञानले सानै उमेरमा असल मान्छे बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
यहाँ वैदिक धर्म संस्कृतिको संरक्षणका लागि बेद, व्याकरण, संस्कृत भाषा र कर्मकाण्ड विषयका साथै वैदिक संस्कारलाई आधुनिकतर्फ लैजानका लागि अङ्ग्रेजी, गणित र नेपाली विषय पनि अध्यापन हुँदै आएको सापकोटाले जानकारी दिए । “कक्षा ८ सम्म अध्ययन हुँदै आएकामा अब १२ कक्षासम्म अध्ययन गराउन मिल्ने गरी भवन निर्माण भएको छ”, उनले भने, “विद्यार्थीको उत्साह र बढ्दो महत्वले गुरुकूल सञ्चालनमा उत्साह मिलेको छ ।”
गुरुकूलमा मुख्यगरी विद्यार्थीलाई अनुशासित बनाई जीवन दर्शन र धर्मशास्त्रको ज्ञान दिइने सापकोटाले बताए । विद्यार्थीहरूलाई बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म व्यस्त राख्ने गरिन्छ । “खाने, बस्ने, खेल्ने, सुत्ने, पढ्ने, ध्यान गर्ने, पूजापाठ गर्ने, योग गर्ने, घर जाने सबै कुराको समय तोकिएको हुन्छ, समयको पालना गर्नु पनि अनुशासन हो”, उनले भने , “सामान्य स्कुलमा पढाइ हुने गणित, सामाजिक, अङ्गे्रजी जस्ता विषय यहाँ पनि अध्यापन गराइन्छ ।”
गुरुकूलमा धर्मसंस्कार पढाइने भएकाले पनि विद्यार्थीलाई असल काम गर्न प्रोत्साहित गरिन्छ । ध्यानले स्मरणशक्ति मात्र नभई दिमाग तेज हुनुका साथै गुरुकूलले अनुशासित हुन मद्दत गरेको विद्यार्थीहरूको अनुभव छ । नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारलाई मानमर्यादा गर्नेबारे सानै उमेरमा सिक्न पाउँदा असल नागरिक बनाउन गुरुकूल शिक्षा उदाहरणीय शिक्षा रहेको अध्यक्ष सापकोटाले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments