अपराध : प्रेमिकाको हत्या गरेर भागेका मिझार प्रहरीको फन्दामा

- आश्विन ८, २०८० मा प्रकाशित


कासिन न्यूज,
मलेखु (धादिङ) ।

प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचन (साविक काचन गाविस–६) का ३५ वर्षीय अरुणकुमार मिझारलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ विराटनगर महानगरपालिका–५ की ३२ वर्षीय ललिताकुमारी रामको हत्या गरी फरार रहेका मिझारलाई छ वर्षपछि यही असोज ५ गते सप्तरी काचन वोदेबर्साइन नगरपालिका–८ काचनबाट पक्राउ गरिएको पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।
कानूनबाट बच्न मिझारले देशै छाडेर बस्दै आएको एसपी मिश्रले बताए । उनी मलेसिया, दुबई, भारतलगायतका मुलुकहरूमा लुकिछिपी बस्दै आएका थिए । एसपी मिश्रले , “हाल नेपाल आएको समयमा प्रतिवादी मिझारलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटाँैडा मकवानपुरको सहयोगमा सप्तरीबाट पक्राउ गरिएको हो ।”
“ललिता २०७४ भदौ २१ गते मोरङबाट काठमाडौँ आएको परिवारले जानकारी दिएका थिए । धादिङको धुनीबेँसी नगरपालिका–९ टायलघरस्थित पृथ्वी राजमार्ग अधेरीखोलामा २०७४ साल असोज १२ गते साँझ बेवारिसे दुर्गन्धित अवस्थामा उनलाई मृत भेटिएको थियो । मृतकले लगाएको कपडा चप्पल हेरी भाइले मृतक ललितालाई पहिचान गरेको हो”, एसपी मिश्रले भन्नुभयो ।
एसपी मिश्रका अनुसार मृतक ललिता पेसाले स्टाफ नर्स हुन् । मृतकको मोबाइल तथा प्राविधिक अनुसन्धानपछि मृतक ललिता र प्रतिवादी मिझार प्रेम सम्बन्धमा रहेका थिए । “उनीहरू बीचको सम्बन्धबाट मृतक ललिता गर्भवती रहेको खुलेको छ । उनीहरूबीच असमझदारीका कारण मिझारले हत्या गरेको पुष्टि भएको हो । अहिले मिझारलाई धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ”, उनले भने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर