हाम्रो खानपान : बागलुङेको भान्सामा म्याग्दीको निउरो
- आश्विन १२, २०८० मा प्रकाशित
कासिन न्यूज,
गलकोट (बागलुङ) ।
निउरो यतिबेलाको मौसममा प्रायःको भान्सामा पाक्ने गर्दछ । बागलुङेको भान्सामा भने म्याग्दीको निउरो पाक्ने गरेको छ । लेकाली निउरो स्वादिष्ट हुने भएकाले म्याग्दीको निउरोको माग बागलुङमा उच्च छ ।
बागलुङ बजारका तरकारी व्यापारी शङ्कर रेग्मीले लेकाली निउरोको व्यापार तीन वर्षदेखि गर्न थालेको बताए । सिजनमा उहाँले लाखौँको निउरोको कारोबार गर्दै आएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको जङ्गलमा पाइने निउरो म्याग्दी सदरमुकाम बेनीबजार पुगेर निउरो सङ्कलनकर्ताबाट खरिद गरी बागलुङ ल्याउने गरेको उहाँले बताए । उनका अनुसार जिल्लाका जङ्गलमा निउरो उत्पादन खासै नभएकाले यहाँ निउरोको माग उच्च हुने गर्दछ । जिल्लामा दोवको निउरोको उच्च माग भएकाले निउरोको व्यापार गर्न थालेको रेग्मीको भनाइ थियो ।
निउरोको सिजन भएकाले अहिले अन्य तरकारीभन्दा व्यापार बढी हुने गरेको उनले बताए । “अघिल्लो दिनमा दोवाको जङ्गलमा निउरो सङ्कलन हुन्छ, त्यही मुठा पारिन्छ, भोलिपल्ट बिहानमात्रै बेनीबजार आउँछ, बेनीबाट सोझै बागलुङ ल्याउने व्यवस्था म आफैँ गर्दछु”, रेग्मीले भने , “यो सिजनको व्यापार हो, साविक धवलागिरिका अन्य जिल्लामा भन्दा बागलुङमा नै बढी निउरो खपत हुने गरेको छ । अहिले चितवनलगायतका जिल्लाबाट समेत बागलुङमा निउरो आयात भइरहेको छ । तर लेकाली निउरो निकै स्वादिष्ट भएकाले दोवाको निउरोको माग उच्च छ ।”
रेग्मीले होलसेल मूल्यमा बागलुङ बजारका एक दर्जन तरकारी व्यापारीलाई दोवाको निउरो बिक्री गर्दै आएका छन् । अहिले दोवाको निउरो होलसेल प्रतिमुठा रू ६५ र खुद्रा प्रतिमुठा रू ८० मा बिक्री हुँदै आएको उनले भने । दोवाको निउरो बिहानै तरकारी पसलमा खरिद गर्न नगए नपाइने अवस्था सिर्जना भएको रेग्मीको भनाइ थियो ।
तीन वर्षयता निउरो खरिद गरेर त्यहाँका सङ्कलकलाई रू आठ लाख रकम भुक्तानी गरिसकेको उनले जानकारी दिए । रेग्मीले अन्नपूर्ण गाउँपालिका–१ दोवा गाउँका स्थानीय मायाकुमारी पुन र शर्मिला पुर्जासहित स्थानीय महिलाद्वारा सङ्कलित निउरोको बजारीकरण गर्दै आएका छन् ।
अन्नपूर्ण गाउँपालिका–१ दोवाका मायाकुमारी पुनले जङ्गलमा पाइने निउरो सङ्कलन गरेर जीविकोपार्जन गर्दै आएको बताए । “म्याग्दीका धेरै स्थानमा निउरो पाइने भएकाले बेनीबजारमा निउरोको माग छैन । अहिले बागलुङ बजारमा माग उच्च छ”, उनले भने , “सिजनको व्यापार हो, निउरो सङ्कलन गर्न जङ्गलमा जानु कष्टकर नै छ, तर यहाँका महिलालाई परिवार पाल्न सहज भएको छ, निउरोको व्यापारले आयआर्जनमा सघाएको छ ।”
दोवाको निउरो अन्य स्थानको भन्दा स्वादिष्ट भएकाले बागलुङमा माग बढी भएको भन्दै पुनले म्याग्दीमा बिक्री नगरी बागलुङ पठाउने गरेको बताए । अन्नपूर्ण–१ का निउरो सङ्कलनकर्ता शर्मिला पुर्जाले दोवाको निउरोको माग धान्न गाह्रो भएको बताइन । “म्याग्दीमा निउरोको माग कम छ, बागलुङमा राम्रो मूल्य पाइन्छ, होलसेलमै प्रतिमुठा रू ६० सम्ममा बिक्री हुन्छ”, उनले भनिन , “दिनभरि जङ्गलमा टिपेको निउरो मुठा पारेर भोलिपल्ट मात्रै बेनीबजार पठाउने र बेनीबाट सोझै बागलुङ बजार पठाउँदै आएका छौँ । निउरो टिप्न जङ्गल प्रयोग गरेवापत केही राजस्व वन उपभोक्ता समितिलाई तिर्नेछौँ ।”
एउटा मुठामा रू १० देखि १५ नाफामा उपभोक्तालाई बिक्री गरिरहेको पुर्जाको भनाइ थियो । निउरो सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको स्वास्थ्यकर्मी बताउँछन् । वनजङ्गलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादीको प्रयोग भएको हुँदैन । निउरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ‘ए’लगायतका पोषकतत्व पाइन्छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments