क्रिकेटर ‘भीम’ को आफनै कथा : परिवारको जीविका चलाउन मुस्किलको अवस्था भएपनि बुबा वीरभानको कर्तव्यले बनेका ‘भीम’

- आश्विन १३, २०८० मा प्रकाशित


शेरबहादुर सिंह,
महेन्द्रनगर (कञ्चनपुर) ।

परिवारको मेहिनेत र सहयोगले सफल क्रिकेटर बनेका भीम सार्की अहिले नेपाली क्रिकेटका जानेमाने हस्ति बनेका छन् ।
बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए । त्यही आम्दानी नै छोराको सफलताको लगाए ।
दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन मुस्किलको अवस्था थियो । साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर अहिले पनि खेती गर्दै छन् ।
चार छोरा र एक छोरीका पिता वीरभान अन्यको खेत कमाएर माइला छोरा २२ वर्षीय भीमलाई क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि वीरभानको परिवार अनौठो रौनक छाएको छ ।
“क्रिकेट टिममा महत्वपूर्ण खेलाडी भए पनि हाम्रो परिवारको त उ (भीम) खम्बा नै हो ।” बुबा वीरभानले खुसी व्यक्ति गर्दै भने , “खेलमा उसको प्रगति देखेर हामी परिवार नै खुसी छौँ ।” तर परिवार पाल्न भाडामा जमिन लिएर छाक टार्नुपर्ने अवस्था यथावत रहेको भनाइ उनको छ ।

“ऋण तिर्नदेखि जीविका चलाउनसम्म सङ्घर्ष त छ नै”, उनले भने , “तर क्रिकेटबाट छोराले दिएको खुसीले हाम्रो दुःख नै ओझेलमा प¥यो ।” महेन्द्रनगरमा ऋण लिएर छ वर्ष अघि रिक्साको ‘डिलर’ सञ्चालनमा ल्याएका वीरभानलाई अहिले सोही व्यापारको ऋणले छोडेको छैन ।

क्रिकेटर भीम

“अटो, ई–रिक्सा आएपछि साइकल रिक्सा विस्थापित हुँदा रु १५÷२० लाख ऋणमा डुबे”, उनले भने , “रु ९÷१० लाख छोरा भीमले क्रिकेटबाट ल्याएको आम्दानीबाट ति¥यौँ ।” कक्षा ५ पढ्दादेखि नै महेन्द्रनगरमा क्रिकेट पछ्याउन लागेका भीमले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमबाट खेलिसकेका छन् । यस पटक भने १९ औँ एसियन खेलकुदमा उनी टिममा परेनन् ।
थुप्रै अन्तर्राष्ट्रियस्तरमा समेत उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन् ।

“क्रिकेटमै राम्रो गरेकाले होला मलाई पनि अहिले पहिलो एसिया कप छनोट हुँदा काठमाडौँ बोलाएर क्रिकेट हेर्न विशिष्ट कक्षको टिकट दिएर मैदानसम्म पु¥यायो”, उनले भने , “ अझ पनि राम्रो गर्दै जाने छ भन्ने विश्वास छ, बाँकी भगवानको कृपा ।” कक्षा ८ सम्म यहाँस्थित भृकुटी मावि पढेका भीमले प्रवेशिका परीक्षा (एसएलसी) सन्राइज हायर सेकेण्ड्री स्कुलबाट गरे ।
“सन्राइजबाट भीम क्रिकेटमा राइज भयो”, बुबा वीरभानले भन्नुभयो, “स्कुल पढ्दै धेरै ठाउँमा खेल्न जान थालिसकेको थियो ।” एउटा सामान्य दलित परिवारमा जन्मिएका भीमले क्रिकेटबाट भएको आम्दानीबाट दाजु विनोदलाई वैदेशिक रोजगारीका लागि मलेसिया र भाइ करनलाई दुवई पठाएका छन् ।
“जमिन घरबासका लागि डेढ कट्ठा मात्रै छ”, उनले भने, “क्रिकेटबाट भीमले परिवारकै ठूलो परिचय बनाइदियो ।” परिवारको नेतृत्व गर्नसक्ने क्षमता पाएपछि भीमलाई नै परिवारले मुलीको जिम्मेवारी दिएर अघि बढेको छ । “ऋणदानदेखि आर्थिक हरहिसाब सबै भीमले नै सम्हालेको छ”, उनले भने , “काठमाडौँबाट प्रवीणता प्रमाणपत्र तह पास गरेपछि उतै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा जागिरसमेत खान थाल्यो ।”

भीमले क्रिकेट सुरु गर्दा मैदान छेउमा उभिएर हेर्दा त्यो बेलाको सिनियर खेलाडी चन्द्र साउँदले उनले क्रिकेटमा भित्र्याएको वीरभानले बताए । “क्रिकेट हेर्न गएकाले बेला भीमलाई बाहिर गएको बल ल्याउन चन्द्रले भनेछन्”, उनले भने , “त्यसपछि चन्द्रले क्रिकेट खेल्न आउन आग्रह गरेपछि भीमले भोलीपल्टैबाट क्रिकेटमा जोडिन थाले ।”

त्यसअघि भीमका दाजु विनादे पनि क्रिकेट खेलाडी थिए । तर सल्लाहमै विनोद वैदेशिक रोजगारमा गएपछि भीम खेलतिर लागेका हुन् । “भीमले खेलमा गरेको मेहेनतले परिवारमा पनि सुखद् परिर्वतन ल्याइदियो”, उनले भने , “कहिलेकाहीँ उसको टेलिभिजनमा खेल हेर्दा सपना जस्तै लाग्छ ।”बुबाको घाटाको व्यापारमा समेत क्रिकेटलाई निरन्तरता दिएका भीमलाई सनराइज स्कुले निकै सहयोग गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर