•  ११ पुष २०८१, बिहीबार

चन्द्रबहादुरको डोकाले पालेको जीवन : वार्षिक रु सात/आठ लाखसम्म आम्दानी

- आश्विन १५, २०८० मा प्रकाशित


कासिन न्यूज,
भोजपुर ।
भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय चन्दबहादुर तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै छन् । यसको बिक्री बाट आएको आम्दानी नै उनको घर खर्चको माध्यम बनेको छ । दैनिक आठदेखि दश ओटासम्म डोका तयार गर्ने तामाङ डोका बिक्रीबाट मासिक रु ३० देखि ३५ हजारसम्म आम्दानी हुने बताउँछन् ।
डोकाबाट नै आफनो चिनारी बनेको बताउने तामाङले डोकाको स्थानीय बजारमा प्रतिगोटा रु तीन सय ५० देखि चार सयसम्ममा बिक्री गर्ने गरेका रहेछन् । घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक रु सात÷आठ लाखसम्म आम्दानी गरिरहेका छन् अहिले उनले ।

आफूले बुनेको मालिङ्गो (लेकमा पाइने बाँस प्रजातिको वनस्पति) का डोका जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उनको भनाइ छ । मालिङ्गोबाहेक, सिँगाने, निकालो, बाँसलगायतको चोयाबाट पनि डोका तयार गर्न सकिने पनि उनी बताउँछन् । उनले बुनेको डोकाको माग विभिन्न ठाँउ बाट हुने गरेको रहेछ ।

“मैले बुनेको डोकाको लागि जिल्लाका विभिन्न ठाउँबाट माग हुन्छ”, उनले भने , “गाईबस्तुपालनसँगै खेतीपाती पनि गर्छु । कहिलेकहीँ त मागअनुसारको डोका पु¥याउन समस्या हुन्छ ।” आफूले बुनेको डोकालाई भोजपुर सदरमुकाममा लगेर बिक्री गर्दै आएको भनाइ उनको छ । उनलाई बजारसम्म पुग्नको लागि घरबाट पाँचदेिख छ घण्टासम्म लाग्ने रहेछ ।

“डोकाको माग धेरै ठाउँबाट आउँछ”, उनले भने , “यसको मुख्य बिक्री गर्ने ठाउँ भनेको भोजपुर बजार नै हो । बजारमा लगेर बिक्री गर्छु । मैले बुनेको डोका किन्न गाउँ / गाउँबाट मानिस आउँछन् ।”सामुदायिक वनले कडीकडाइ गर्ने भएकाले कच्चा पदार्थ जुटाउन भने समस्या रहेको तामाङले बताए । मालिङ्गो काट्नको लागि वर्षमा एक पटक मात्र खुला हुने गरेको उहाँको भनाइ छ । आफ्नै निजी बारीमा उत्पादन हुने मालिङ्गो, सिँगानेलगायतबाट डोका बुन्दै आएको तामाङको भनाइ छ ।

“नयाँ पुस्ताले यो काम गर्न चाहँदैनन्”, उनले भने , “डोका बुन्नको लागि पनि धेरै दुःख हुन्छ । हामीलाई कच्चा पदार्थ जुटाउन समस्या छ । सहजरुपमा पाउने अवस्था छैन ।” प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएकाले यसको संरक्षण गर्न आवश्यक रहेको तामाङले बताए।

यस्ता खालका परम्परागत पेसालाई स्थानीय सरकारले संरक्षणसँगै विकासमा ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।
“पछिल्लो समय विभिन्न खालका सीपमूलक पेसा लोप हुने अवस्था छ”, उनले भने, “मैले गरेको काम मेरो छोरा नातिले गर्न चाहँदैनन् । यस्ता खालका परम्परागत पेसालाई जोगाउन आवश्यक छ । यसमा सरकारले पहल गर्नुपर्छ ।”

आफ्नो गाउँघरमा बूढापाकाले मात्र यस्ता चोयाका सामग्री बनाउने गरेको तामाङ बताउँछन् । यस्ता खालका परम्परागत कामलाई व्यावसायिकीकरण गर्नसके अझ सहज हुने उनको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर