लाग्न थाल्यो दशैैं पर्व : ३ हजार खसी, बोका र च्याङ्ग्रा काठमाडौं भित्राउने तयारी

- आश्विन १५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

मौसम परिवर्तन लगत्तै धान काट्ने चटारो फेरी त्यस पछि नेपालीहरुको महान पर्व दशैं अर्थात चाडपर्वको मौसम । यही मौसमलाई उज्यालो बनाउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३ हजार खसी, बोका र च्याङ्ग्रा काठमाडौं भित्राउने तयारी गरेको छ । बजार मूल्यभन्दा केही कम (सुपथ) मूल्यमा सर्वसाधारण उपभोक्तालाई खसी, बोका र च्याङ्ग्रा उपलब्ध गराउने गरी कम्पनीले आवश्यक तयारी गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने अधिकारीले बताइन ।
कम्पनीले खसी र बोका २ हजार र च्याङ्ग्रा १ हजार गरी कुल ३ हजार खसी, बोका र च्याङ्ग्रा काठमाडौँ उतार्ने तयारी गरेको छ ।

तर, बजारको माग र आवश्यकता अनुसार खसी, बोका र च्याङ्ग्राको सङ्ख्या थपघट हुन सक्ने पनि सूचना अधिकारी न्यौपानेले जानकारी दिइन ।स्थानीय निकाय उपभोक्ता समूहमार्फत खसी, बोका तथा च्याङ्ग्रा सङ्कलन थालिसकेको कम्पनीले घटस्थापनाको अघिल्लो दिनसम्ममा काठमाडौँ ल्याइसक्ने र सकभर घटस्थापनाको दिनदेखि नै बिक्री वितरण सुरु गरिने सूचना अधिकारी न्यौपानेले बताइन ।

दसैँका लागि ३ हजार खसी, बोका र च्याङ्ग्रा ल्याउन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ८ करोड ३६ लाख रुपैयाँ बजेट छुट्याएको छ । स्थानीय बजारदेखि बिक्री केन्द्र (राजधानी) सम्म ल्याउँदासम्म लाग्ने सबै (खरिद, ढुवानी तथा व्यवस्थापन) खर्च यसैभित्र रहने न्यौपानेको भनाइ छ ।
गत वर्ष कम्पनीले कुल एक हजार ६२५ खसी, बोका र च्याङ्ग्रा खरिद–बिक्री गरेकोमा २ करोड २६ लाख रुपैयाँ खर्च गरेको थियो । कम्पनीले खसी–बोका प्रतिकेजी ६८० (जिउँदो) र च्याङ्ग्रा प्रतिकेजी एक हजार २५० रुपैयाँमा बेचेको थियो । यसो गर्दा कम्पनीलाई ५ लाखभन्दा बढी फाइदा भएको थियो ।

यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले स्थानीय सहकारीमार्फत पनि खसी–बोका खरिदको तयारी गरेको बुझिएको छ । ‘विगतका वर्षहरूमा खाद्य कम्पनीकै कर्मचारीहरू मार्फत स्थानीय बजारबाट खसी बोका सङ्कलन गरिँदै आएको थियो । तर यस वर्षदेखि स्थानीय सहकारीमार्फत उत्पादित तथा सङ्कलित खसी–बोका किन्ने कि भन्ने तयारी छ,’ सूचना अधिकारी न्यौपानेले बताइन ।

अघिल्लो वर्ष खाद्य कम्पनीले एक हजार ४६३ वटामात्र खसी, बोका र १६२ वटा च्याङ्ग्रा ल्याएको थियो । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि खाद्य कम्पनीले हेटौँडा, धादिङ, दाङ, तुलसीपुर लगायतका क्षेत्रबाट खसी, बोका ल्याउने तयारी गरेको छ । यस्तै, मनाङ र मुस्ताङबाट च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । सङ्कलित खसी, बोका र च्याङ्ग्रा काठमाडौँको थापाथलीस्थित खाद्य कम्पनीको बिक्री केन्द्रबाट बिक्री वितरण गर्ने तयारी छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर