राजनीति / लोसपा : नेतृत्व आफूतिर तान्ने महतोको संकेत > अध्यक्ष ठाकुरले बोलीको ‘मूल्य’ दिएनन

- आश्विन १८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले खुलेर बिरोध गरेपछि पार्टी अध्यक्ष महन्थ ठाकुरले महतोलाई जवाफ दिदैं अध्यक्ष ठाकुरले भने , ‘मेरो मार्केट भ्यालु कम भएको छ । चन्दा, सहयोग पनि कसैले दिन मान्दैनन्, म त्यस परिस्थितिमा आइसकेको छु । अब तपाईहरुले नै संगठन चलाउनुस् ।’
संगठन निर्माणदेखि आर्थिक कारोवार लगायतका कामहरु पनि गर्न अध्यक्ष ठाकुरले आग्रह गरेका थिए । तर, त्यो आग्रहमा आफूले अध्यक्ष पद नै छाड्ने र अरुलाई जिम्मेवारी दिने कुरा राखेनन् । बरु उनले भनेका थिए, ‘काँधसम्म राखेको छु । त्यो भन्दा पर जानु भयो भने लड्नु हुन्छ ।’
उनले पार्टीका नेताहरुको राय सुझावको आधारमा नै कार्य समिति बनाइएको, त्यसमा कोही छुटेका छन् भने त्यसलाई समावेश गर्न सकिने धारणा राखेका थिए । पार्टीको अन्तरिम विधानअनुसार ४०१ जनाको केन्द्रीय समिति बनाउन सकिन्छ । अझै ९० जना राख्न बाँकी छ, ककसलाई समावेश गराउनु हुन्छ थप्नुस् भन्दै अध्यक्ष ठाकुरले ४०१ भन्दा बढी संख्या बढाउने हो भने विधान नै संशोधन गर्नुपर्ने बताए ।
यो अहिलेको तदर्थ समिति हो । चाँडै नै विधान अधिवेशन गराएर विधान बनाउने र त्यसमा भएको सांगठनिक संरचनाअनुसार महाधिवेशन गराएर पार्टीलाई चुस्त र दुरुस्त बनाउने आफ्नो योजना रहेको र त्यसमा सबैले साथ दिनुपर्ने भनाई अध्यक्ष ठाकुरले राखेका थिए ।
उनले अब चाँडै नै अन्य समिति तथा भातृ संगठनहरु निर्माण गर्ने र त्यसको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिए ।
साथै, उनले नेताहरुलाई संगठन निर्माणमा आआफ्नो जिल्लामा क्रियाशील हुन निर्देशन दिँदै चाँडै नै कार्य समितिमा रहेका नेताहरुको कार्य विभाजन गरिने धारणा राखेका थिए । र, उनले फेरि दोहो¥याए, ‘अब यी सबै काम तपाईहरुले नै गर्ने हो ।’
असोज १६–१७ गते दुई दिनसम्म चलेको बैठकमा लोसपाका वरिष्ठ नेता महतोले अध्यक्ष ठाकुरको खुलेर आलोचना गरेका थिए । अध्यक्ष ठाकुरसँगको सहकार्यपछि यति तिखो आलोचना उनले पहिलो पटक गरेको बैठकमा सहभागी नेताहरु बताउँछन् ।

नेतृत्व आफूतिर तान्ने संकेत
‘तपाईको स्वास्थ्य र उमेरले पनि धेरै कुरा गर्न दिइरहेको छैन, धेरै कुरा बिर्सिन थाल्नु भएको छ,’ नेता महतोले अध्यक्ष ठाकुरलाई इंगित गर्दै बैठकमा भने, ‘तपाई सक्नु हुन्न भने अरुलाई काम गर्न दिनुस् । यहाँ थुप्रै साथीहरु काम गर्न तयार हुनुहुन्छ । तपाई आफू पनि नगर्ने अरुलाई पनि गर्न नदिने अनि पार्टी कसरी अगाडि बढ्छ ?’
साथै, पार्टीमा काम गर्न अध्यक्ष ठाकुरबाट नेता महतोले आर्शिवाद पनि मागेका थिए । अध्यक्ष ठाकुरले तत्कालै भनेका थिए, ‘तपाईलाई मेरो आर्शिवाद छ ।’
नेता महतोले खुलेर आफूलाई कार्यकारी भूमिका दिन नभने पनि पटक पटक संकेत गरेका थिए । उनले अध्यक्ष ठाकुरसँग यसअघि पटक पटक कार्यकारी अध्यक्ष बनाउन आग्रह गरेका थिए । कार्यकारी अध्यक्ष नभएपनि कार्यवाहक अध्यक्ष दिनसमेत आग्रह गरेका थिए । तर अध्यक्ष ठाकुरले महतोलाई ‘भ्यालु’ दिएका छैनन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर