खुलेन अग्रिम टिकट बुकिङ : बाटो बिग्रिएका कारण बुकिङ खुलाउन समस्या
- आश्विन १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
दसैं लक्षित गरेर समयमै टिकट खोल्दा घर जान चाहने विद्यार्थीलाई सहज हुने गरे पनि समयमा अग्रिम टिकट बुकिङ नखोली दसैँको मुखमा खोल्दा यात्रु दोब्बर÷तेब्बर भाडा तिरेर घर जानुपर्ने अवस्था आउने गरेको छ । यातायात व्यवसायी भने निरन्तर वर्षाका कारण बाटो बिग्रिएका कारण दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेको बताउँछन् ।
अहिले सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ । अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना सुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत खुल्ने तयारी देखिएको छैन ।
नेपालीको महान चाड दसैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुन्छन् । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला देशका मुख्य राजमार्ग बिग्रेका कारण अग्रिम टिकट बुकिङमा ढिलाइ भएको बताउछन् । देशभरका सडकमा रहेका खाल्डाखुल्डीले गर्दा सवारी दुर्घटनाको जोखिम रहेको उनको भनाइ छ । “दसैँ अगाडि नै सबै सडक मर्मत गरिसक्न हामी सरकारलाई अनुरोध गरिरहेका छौँ”, सिटौला भन्छन् ।
महासङ्घका अनुसार हाल मुग्लिङ–पोखरा, नारायणघाट–बुटवल, विपी, अरनिको, ढल्केवर, कोशी ब्यारेजलगायतका राजमार्ग बिग्रेका छन् । यस्तै, काठमाडौँबाट नुवाकोट हुँदै रसुवासम्म जाने बाटोसमेत बिग्रेको छ । सरकारले ३५ प्रतिशत भाडा पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत सवारी साधनलाई आवश्यक अन्य सामग्री र जनशक्तिलाई दिइने तलबलगायतका सुविधाका आधारमा निर्धारण हुँदै आएको छ ।
वरिष्ठ उपाध्यक्ष सिटौला पेट्रोलियम पदार्थको आधारमा ३५ प्रतिशत भाडा समायोजन भए पनि बैंकको ब्याजदर, लुब्रिकेन्ट, टायर, तलब भत्तालगायतका सुविधाका लागि ६५ प्रतिशत भाडामा समायोजन नभएको बताउछन् ।
“महासङ्घले बाटोसहित भाडा समायोजनको मुद्दालाई समेत अगाडि बढाउँदै आएको छ”, उनी भन्छन् । बाटोको अवस्था राम्रो भए आफूहरुलाई अग्रिम टिकट बुकिङ खोल्न कुनै आपत्ति नरहेको भनाइ उनको छ । दसैँका समयमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरबाट पनि एउटा जिल्लाबाट अर्काे जिल्लामा धेरै यात्रु जाने गरेका छन् । क्षमताभन्दा बढी यात्रु बोक्दा वा खराब अवस्थाका सवारी साधनका कारण दुर्घटनाको जोखिम रहन्छ । कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पु¥याउन सकिन्छ भन्नेबारे अहिलेदेखि नै तयारी हुनुपर्छ ।
यातायात व्यवस्था विभागले चाँडै नै अग्रिम टिकट बुकिङ खोल्नेबारे सरोकारवाला निकायसँगको छलफल सुरु गरेको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल अग्रिम टिकट बुकिङको बारेमा विभाग चाँडै नित्कर्षमा पुग्ने बताउछन् । “हामीले सकेसम्म आजै अग्रिम टिकट बुकिङबारे निर्णयमा पुग्छौँ”, उनी भन्छन् ।
महानिर्देशक रिजालले नेपालको सार्वजनिक यातायातको सङ्ख्या र यात्रुको चापलाई हेरेर विभाग अगाडि बढ्ने बताउछन् । विभागले चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्ने जनाएको छ ।
ट्राफिक प्रहरीले पनि चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गर्ने जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट काठमाडौँ महानगरपालिका र यातायात व्यवस्था विभागसँगको सहकार्यमा यात्रु सहायकता कक्षा स्थापना गरिने बताउछन् । दुर्घटना न्यूनीकरण र चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले ‘ट्राफिक सप्ताह–२०८०’ सञ्चालन गरेको भनाइ उनको छ ।
यातायात व्यवसायीका अनुसार प्रत्येक वर्ष चाडपर्वमा लाखौँ व्यक्ति काठमाडौँ छाड्ने गरेका छन् । हाल काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट लामो तथा मध्यम दूरीका सवारीसाधन देशका ६५ भन्दा बढी जिल्लामा सञ्चालन हुँदै आएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments