सुदूरपश्चिम क्षेत्रमा भूकम्प : भूकम्प प्रभावितलाई प्रधानमन्त्री दाहालले भने सरकार जनतासँगै छ, ५० हजार पाउनुहुन्छ
- आश्विन १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
चैनपुर ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार रु ५० हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मङ्गलबारको भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकनका लागि शुक्रबार बझाङको सदरमुकाम चैनपुर पुगेका उनले पीडित परिवारको आवश्यकतालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले सदस्य सङ्ख्याका आधारमा प्रभावित परिवारलाई रु १५ देखि २० हजार उपलब्ध गराउने जानकारी दिए । प्रधानमन्त्री दाहालले भने , “राहतमा पाल, कम्मल, औषधिलगायत तत्काल अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकार क्रियाशील छ ।”
भूकम्प पीडितलाई तत्काल राहत तथा अस्थायी टहरा निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भने, “सङ्घीय, प्रदेश र स्थानीय सरकार सबै प्रभावित जनताको साथमा छ, सरकार जनतासँगै छ ।”
प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन गरी क्षति पुगेका संरचनाको प्रबलीकरण वा पुनःनिर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
भूकम्पमा परी घाइते भएकाको निःशुल्क उपचार भइरहेको जानकारी दिँदै उनले भूकम्पपछि आएको पहिरोमा परी ज्यान गुमाएकी जयपृथ्वी नगरपालिका–११ स्थित ओखलकी ४० वर्षीया गुनमति धाँमीका परिवारलाई तत्काल दुई लाख राहत दिने बताए ।
स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट क्षति मूल्याङ्कनका आधारमा कार्यविधि बनाई भूकम्प प्रतिरोधी घर निर्माण गर्न सहयोग गर्ने उनले बताए । प्रधानमन्त्री दाहालले भने, “यसअघि गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लामा गरिएको पुनःनिर्माण जस्तै स्थानीय सामग्री प्रयोग गरी काम अघि बढाइनेछ । सरकारी, विद्यालय तथा स्वास्थ्य संस्थाको पुननिर्माण गरिनेछ । सबै संरचना भूकम्प प्रतिरोधी हुनेछन् ।” सो क्रममा उनले विश्व खाद्य कार्यक्रमले सहयोग गरेको पोषणयुक्त बिस्कुट जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments