मन्थली–लुक्ला उडाने ठप्प : खराब मौसमका कारण पर्यटकले सास्ती ब्यहोर्दै झेल्दै

- आश्विन २४, २०८० मा प्रकाशित


कासिन न्यूज,
मन्थली (रामेछाप
) ।
खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् ।
नागरिक उड्ययान प्राधिकरण रामेछापले दिएको जानकारी अनुसार शनिबारदेखि बुधबारसम्म करिब दुई सय भन्दाबढी उडान स्थगित भएका छन् । सोलुखुम्बुको लुक्ला विमानस्थलमा पर्यटक ओसार्ने विमान कहिलेकाहीँ फाप्लुको मौसम खुलेपछि त्यहाँ अवतरण गर्ने प्राधिकरण प्रमुख आशोक थापाले बताए ।
पाँच दिनदेखि उडान प्रभावित भएपछि केही कम्पनीले हेलिकप्टरमार्फत पर्यटक ओसारपसार गरिहेका भन्दै हेलिकप्टरका लागि पनि भिजिविलिटि कम भएको उनले जानकारी दिए । प्रमुख थापाका अनुसार तीन वायुसेवा कम्पनीले सात जहाज तथा आवश्यक पाइलटसहितका अन्य जनशक्ति तयारी अवस्थामा राखेका छन् ।

“सीता एयरका दुई, यति एयरलाइन्सका दुई र समिट एयरका तीन जहाज विमानस्थलमा पार्किङ गरी राखिएका छन्”, उनले भने , “शनिबारदेखि एक्कासि मौसम बिग्रिएपछि हेलिकप्टर बाहेक अन्य उडान लुक्लाका लागि हुन सकेका छैनन् ।”
लुक्लातर्फको मौसम एकदमै खराब भएकाले जहाजलाई अवतरण गर्न असजिलो हुने प्राधिकरणले जनाएको छ । “अवतरणका लागि पाइलटले केही टाढा देखिनै विमानस्थल देख्नपर्छ । तर लुक्लाको विमनस्थलमा बाक्लो हुस्सु लाग्ने, हावाको वेग नराम्ररी चल्ने भएपछि पछिल्लो समयमा अवतरणमा समस्या भएको छ”, थापाले भने ।
यो मुख्य पर्यटकीय सिजन भएकाले अधिकांश पर्यटक सगरमाथा आधार शिविरतर्फ जाने तथा केहीले सगरमाथाको आरोहणमा गर्ने गर्दछन् । हिमाली दृश्यावलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । यसअघि दोलखाको जिरीबाट पैदल हिँडेर लुक्लासम्म जाने गरेका पर्यटक अहिले सुविधा थपिएसँगै जहाज र हेलिकप्टरमा जानेआउने गरेका हुन् । सगरमाथाको आधार शिविरबाट फर्कदा पनि पर्यटकले खराब मौसमका कारण सास्ती ब्यहोर्नु परेको प्रमुख थापाले बताए ।

निश्चित समयसम्मका लागि भिसा लिएर नेपाल आएका पर्यटक समयमा लुक्ला जान र फर्कन नपाएपछि चिन्तित बनिरहेका छन् । कति पर्यटकले आफ्नो देश फर्कन टिकट नै लिइसकेका बताएका छन् । काठमाडौँबाट लुक्ला जाने पर्यटकलाई विभिन्न कम्पनीले काठमाडौँदेखि मन्थलीसम्म सडकमार्गबाट ल्याएपछि लुक्लासम्म जहाज तथा हेलिकप्टरमा पठाउने गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर