चाडपर्वको मुखैमा बजारमा चिनीको अभाव, दुइ किलो चिनीको लागि दिनभरी लाईन बस्नु पर्ने बाध्यता

- आश्विन २४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बजारमा चिनीको अभाव भएको छ । केही दिनअघि सरकारले चिनीको अभाव नहुने दाबी गरेको थियो । तर यतिबेला दुइ किलो चिनीको लागि दिनभरी लाईन बस्नु परेको छ ।

कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाउनेलाई कारबाही गर्न बजार अनुगमन भइरहेको र थप चिनी आयातका लागि प्रक्रिया अगाडि बढिसकेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको दाबी थियो । तर, दाबी गरिएअनुसार चिनीको आयात हुन सकेको छैन भने कालोबजारी गर्नेलाई पनि कारबाही भएको छैन ।

व्यापारीले मौज्दात भएका चिनी लुकाउँदा बजारमा अहिले चिनीको अभाव भएको हो । धेरैजसो ठाउँमा अहिले चिनी पाइँदैन । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको उपभोक्ताले गुनासो गरेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीमा रहेको बिक्री कक्षमा चिनी सकिएको सूचना टाँसिएको छ । थापाथलीमा मात्र नभइ खाद्य व्यवस्था कम्पनीद्वारा ४२ जिल्लाका ४८ ठाउँमा सञ्चालित सुपथ मूल्य पसलमा चिनी सकिएको छ ।

साल्ट ट्रेडिङमै मौज्दात कम भएपछि चिनी ल्याएर बेच्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनमा पनि चिनीको मौज्दात सकिन लागेको छ । अहिले साल्ट ट्रेडिङसँग झण्डै चार सय मेट्रिक टन मात्र चिनी मौज्दात रहेको जनाइएको छ ।

खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलले एक व्यक्तिलाई अधिकतम दुई किलोभन्दा बढी नहुने गरी प्रतिकिलो ९७ रुपैयाँका दरले चिनी बिक्री गर्दै आएको थियो । केहीदिन अघिमात्रै सार्वजनिक लेखा समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द र साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मीला श्रेष्ठलाई चिनी अभाव हुनुको कारणबारे सोधेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर