राजनीति / कोशी प्रदेश : कांग्रेसमा बिद्रोहको खेलो > प्रधानमन्त्री दाहालको घाँटीमा तरबार राख्न ओली सफल

- आश्विन २६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अहिले कोशी प्रदेशमा नेपाली कांग्रेसको संस्थागत निर्णयका विरुद्धमा ८ सांसदले एमालेको उक्साहटमा विद्रोह गर्दै कांग्रेस सांसद केदार कार्कीको नेतृत्वमा सरकार बनाउन हस्ताक्षर गरेर हिंडेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७८ जेठमा आफ्ना सांसदले गरेको विद्रोहलाई अनैतिकताको संज्ञा दिइरहँदा कोशी प्रदेशमा भने त्यस्तै खेलमा लागेका कांग्रेसका सांसदलाई एमालेले नैतिकताको माला लगाइदिएको छ ।
यद्यपि कार्कीको मुख्यमन्त्रीमा दाबी बलियो देखिएको छ । किनकि कार्कीको हस्ताक्षरलाई समेत देखाएर माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी गरेका छन् । कार्की स्वयंले आङ्बोको पक्षमा आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताइसकेका छन् । कांग्रेसका विद्रोही ८ जना सांसदले प्रदेश प्रमुखसमक्ष हस्ताक्षर दुरुपयोग भएको भन्दै निवेदन दिएका छन् ।

प्रदेश प्रमुखले अन्तिममा सनाखत गराउँदा कांग्रेसका ८ जना नै सांसद कायम रहिरहेको खण्डमा कार्की शुक्रबार मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । आङ्बो नै मुख्यमन्त्रीमा नियुक्त हुने सम्भावना भने लगभग सकिएको छ । संविधानको धारा १६८ (५) अनुसार सरकार गठन गर्न आह्वान भएपछि यो नै कोशी प्रदेश सरकार गठनको अन्तिम विकल्प थियो । यो विकल्पमा सरकार नबने वा बनेको सरकारले ३० दिनभित्र विश्वासको मत लिन नसके स्वतः प्रदेशसभा विघटन हुने र मध्यावधि निर्वाचनमा जानेछ ।
तर, कोशी प्रदेश सरकार गठनमा देखिएको यो विषय केन्द्रीय सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा लगायतको लागि गम्भीर बनेको छ ।

शीर्ष नेताहरुले गरेको निर्णयलाई कांग्रेसका ८ सांसदले खुलेआम चुनौती दिएका छन् । उनीहरुले पार्टी अनुशासन उल्लंघन गरेको कतिपयले बताएका छन् ।यद्यपि संविधानको धारा १६८ को उपधारा ५ पनि केन्द्रीय सरकार गठनमा प्रयोग भएको धारा ७६ को उपधारा ५ जस्तै रहेको कारण नेताले भनेको नमानेमा अनुशासन उल्लंघन वा कारबाहीको विषय बनाउन पाइने छैन । जुन कुरा सर्वोच्च अदालतले दिएको २०७८ असार २८ को आदेशबाट नजिर बनिसकेको छ ।

यसअघि एमालेसँगको संघर्षका क्रममा गठबन्धनका नेताहरुले त्यसबेला गरिरहेको दाबी जस्तै एमालेले अब गर्नेछ । त्यसबेला एमालेले ह्वीप उल्लंघन गरेर कारबाही गरेका माधवकुमार नेपाल पक्षका २३ सांसदलाई जस्तै गठबन्धन दल कांग्रेसले प्रदेशका ८ सांसदलाई कारबाहीको विषय बनाउने देखिएको छ । जुन कुरा कांग्रेसका केन्द्रीयस्तरका केही नेताको अभिव्यक्तिले पुष्टि गरिसकेको छ ।
कोशी प्रदेशको बिहीबारको राजनीतिक घटनाक्रमले सरकार निर्माणको किचलो र दलहरुबिचको झैझगडा साम्य हुनेभन्दा बढाएको छ । यस्तै मध्यावधिको सम्भावना पनि उत्तिकै बढाएको छ । अर्कोतिर आफूलाई बर्खास्त गरेर प्रधानमन्त्री भएका देउवालाई एमाले अध्यक्ष ओलीले २८ महिनापछि बदला पनि लिएका छन् ।
गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसमा बिग्रहको बिउ रोप्न र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहालको घाँटीमा तरबार राख्न पनि ओली सफल भएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर