•  १२ पुष २०८१, शुक्रबार

बहत्तर वर्षमा नागरिकता …

- कार्तिक १, २०८० मा प्रकाशित


कासिन न्यूज,
अछाम ।

बहत्तर वर्षका वृद्धले जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका छन् ।

मेल्लेख गाउँपालिका–७ का ७२ वर्षीय डम्बर साउदले बुधबार जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका हुन् । साउदलाई प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गरेका थिए ।

रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा बस्दै आएका साउदले हालसम्म नागरिकता लिएका थिएनन् । बुढेसकालमा भए पनि नेपाली नागरिक हुन पाएकोमा उनले खुसी व्यक्त गरे ।

लामो समयदेखि नागरिकता नबनाएको कारण उनका छोराछोरीले समेत नेपाली नागरिकता पाएका छैनन् । उनले भने, “ढिलै भएपनि नागरिकता पाएको छु, अब छोराछोरीले पनि नेपाली नागरिक बन्न पाउने भए ।”

अछाम जिल्लाका धेरैजसो नागरिक रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा जाने गरेका छन् । आवश्यक कागजातसमेत नबोकी वृद्ध अवस्थामा नागरिकता बनाउन आउनेको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पोखरेले बताए ।

पछिल्लो समययता कर्मचारी अभावमा समेत जिल्ला प्रशासन कार्यालय अछामले आधा घण्टामै सेवा प्रदान गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीलाई ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि प्रशासनमा लाग्ने भीडसमेत कम भई सेवाग्राहीलाई सहज हुन थालेको छ ।

अछाम प्रशासनमा सेवा लिन आउने सेवाग्राहीले आवश्यक कागजात भएमा ३० मिनेटमै सेवा प्रदान गरेर पठाउने गरेको प्रजिअ पोखरेलले बताए । ३० मिनेटमै सेवा पाउन थालेपछि अछामका ग्रामीण भेगबाट आउने सेवाग्राही निकै सहज भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर