विश्व सेरोफेरो : होन्डा र जीएमको सन् २०२६ मा चालकरहित ट्याक्सी बनाउने योजना

- कार्तिक २, २०८० मा प्रकाशित


कासिन न्यूज,
टोक्यो ।

जापानको होन्डा र अमेरिकाको जनरल मोटर्स (जीएम) ले सन् २०२६ मा टोक्योमा चालकरहित ट्याक्सी सेवा सुरु गर्ने योजना बनाएको बिहीबार घोषणा गरेका छन् । यसले वृद्धहरूको सङ्ख्या बढी भएको जापानमा श्रम अभावको समाधानमा सहयोग गर्ने बताइएको छ ।
होन्डाले विज्ञप्तिमार्फत सान फ्रान्सिस्कोमा रहेको सेल्फ ड्राइभिङ कार अपरेटर क्रुजद्वारा सहविकास गरिएको यो परियोजनाले जापानमा नयाँ प्रकारको गतिशीलताको अनुभव प्रदान गर्ने बताएको छ ।
“यो एउटा उन्नत गतिशील समाज प्राप्तितर्फ एउटा मुख्य कदम हुनेछ”, होन्डाका प्रमुख कार्यकारी तोसिहिरो मिबेले भने ।
यो परियोजनाले ट्याक्सी र बस ड्राइभरको कमीजस्ता जापानले भोगिरहेको सामाजिक मुद्दालाई पनि सम्बोधन गर्न सहयोग गर्ने लक्ष्य लिएको होन्डाले जनाएको छ ।

तीव्ररूपमा वृद्धहरूको बढिरहेको जनसङ्ख्या र श्रमको कमीसँग लगातार सङ्घर्ष गरिरहेको जापान सरकारले स्वायत्त सवारीलाई प्रश्रय दिँदै आएको छ । सन् २०२० मा केही परिस्थितिमा पूर्ण नियन्त्रण गर्न सकिने सक्षम सवारी साधनहरूलाई सार्वजनिक सडकमा चलाउन अनुमति दिने मुलुकमा जापान पहिलो बनेको थियो । टोयोटा र निसानजस्ता सवारी साधन निर्माता कम्पनीले पनि स्वचालक बस तथा ट्याक्सीको परीक्षण गरिरहेका छन् ।
(रासस/ एएफपी)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर