•  ११ पुष २०८१, बिहीबार

नेपाल आई पुगे राष्ट्रसङ्घका महासचिव गुटेरेस :यस्तो छ उनको आजको कार्यतालिका

- कार्तिक १२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा शनिबार राति नेपाल आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे । सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला–बेग्लै शिष्टाचार भेट गर्नेछन् ।

उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता हुनेछ । भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आज साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् । भ्रमणका क्रममा गुटेरेस सोमबार नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने कार्यक्रम छ ।

राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री दाहालको निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन् ।

यस्तो छ उनको आजको कार्यतालिका

– दिउँसो १ः३० बजे, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग परराष्ट्र मन्त्रालयमा भेटवार्ता ।

– पौने २ बजे उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता।

– २ बजे उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता।

– सवा २ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता। भेटघाट आधा घन्टा। पौने ३ बजे प्रधानमन्त्री कार्यालयमा  सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन।

– ३ः१० बजे, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग र ३ः२५ बजे पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेटवार्ता ।

– ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार वार्ता। १५ मिनेट शिष्टाचार वार्तापछि उनी पाटन दरबारस्क्वायर जाने।

– साँझ ७ बजेदेखि पौने ९ बजेसम्म प्रधानमन्त्री प्रचण्डले आयोजना गर्ने राजकीय रात्रिभोजमा सहभागी हुने। रात्रिभोज होटल सोल्टीमा।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर