कृषि क्षेत्र : धानमा कृषकलाई झटारो > सरकार र व्यापारीको चेपुवामा कृषक

- कार्तिक १४, २०८० मा प्रकाशित


कासिन न्यूज,
टीकापुर (कैलाली) ।

“सरकारले तोकेको मूल्यमा व्यापारी किन्न मान्दैनन्, हाम्रो बिक्री गर्नुपर्ने वाध्यता छ”, किसान हरिमाया चौधरीले भने , “दसैँ–तिहार खर्च जुटाउन, गहुँबालीका लागि बीउ, मल र खेत जोताइ खर्च गर्न पनि धान बिक्री गर्नुपर्यो । धेरै घाटा भयो ।”
अहिले किसानमा धान बेच्ने र खर्चकोे जोहो गर्ने समय हो । तर धान किसानहरु जहिले व्यापारीहरुको मारमा परिरहेका छन् । उनीहरुको धान खरिद गर्ने व्यापारीहरुले उनीहरुलाई उचित मूल्य नदिंदा जहिले धान किसानले पुर्पुरोमा हात राख्नु पर्ने अवस्था छ ।
यही अवस्थामा भएपनि कैलालीका किसानले यस वर्षको धान बिक्री भने सुरु गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने मेसोमा छन् ।सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानको धान बेच्नुपर्ने बाध्यता छ । नेपाल खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा किसानले स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको गुनासो गरेका छन् ।
हरिमायाजस्तै अधिकांश किसान यतिबेला धान बिक्रीका लागि स्थानीय व्यापारीले भनेकै मूल्य स्वीकारिरहेका छन् ।
कैलालीमा नेपाल खाद्य संस्थानले भने यही कात्तिक अर्को साताबाट धान खरिद गर्ने बताएको छ । कात्तिक तेस्रो साताबाट धान खरिदको तयारी भइरहेको नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख एन्जिला बस्नेतले बताइन । “अर्को हप्ताबाट सुरु गर्ने तयारी छ । टीकापुर र धनगढीमा खरिद गर्ने हो”, उनले भनिन, “नागरिकको गोदाम भाडामा लिएर खरिद गर्दा समस्या हुन्छ । त्यसैले गोदाम भएका ठाउँबाटै खरिद गर्ने तयारी छ ।”
संस्थानले यस वर्ष कैलालीमा ६० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । टीकापुर र धनगढीबाट पहिलो चरणमा धान खरिद गर्ने तयारी भएको उनले बताइन । सरकारले यस आव २०८०/८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । सरकारले मोटा धान प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ र मध्यम धानप्रति क्विन्टल रु तीन हजार तीन सय ६२ न्यूनतम समर्थन मूल्य तोकेको छ ।
संस्थानले सरकारले तोकेको मूल्यमा धान गरिद गर्ने गरेता पनि समयमा सरकारी काँटा नलगाउँदा धेरै किसानले सस्तो दरमा गल्ला तथा स्थानीय व्यापारीकहाँ बेच्नुपर्ने बाध्यता छ । ढिलो खरिद सुरु गरे पनि संस्थानले खरिद गर्ने स्थानमा किसानलाई धेरै सास्तीसँगै हप्ता दिनसम्म बसेर बेच्नुपर्ने भएकाले समयमा सहजरूपमा धान खरिद गर्ने वातावरण मिलाउनु आवश्यक रहेको किसानको माग छ । “निश्चित कोटा र ढिलो खरिद सुरु हुन्छ, किसानको उत्पादन धेरै हुन्छ, त्यसैले बिक्रीस्थलमा ठूलो भीड लाग्छ”, किसान दीपक चौधरी भन्छन् , “त्यसैले पनि किसानले उचित मूल्य पाउन सकेका छैनन्, पालो कुर्नुभन्दा ब्यापारीकहाँ कम मूल्यमै बिक्री गर्ने गरेका छन् ।”

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर