सांसद / संवाद : भ्रष्टाचार र अनियमितता गर्नेलाई छोड्नु भनेको चरम पाप हो यसमा जो–केही भए पनि कारबाहीको दायरामा ल्याउनु पर्छ > कांग्रेस सांंसद बजगाईँ
- कार्तिक १४, २०८० मा प्रकाशित
भीष्मराज ओझा,
काठमाडौं ।
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले आफूहरूले संसद्मा उठाएका विषय सरकारका तर्फबाट खासै कार्यान्वयन नहुने गरेको बताएका छन् । संसद्मा उठाएका महत्त्वपूर्ण विषयको कार्यान्वयन पक्ष फितलो भएकाले ती विषय आफ्ना मतदातालाई सुनाउन मात्र बोलेको जस्तो आफूलाई अनुभव हुने गरेको टिप्पणी गरे ।
“सदनमा कुरा राख्न पाइएको छ । सुनुवाइ हुँदैन, सरकारलाई सुनाउँदा सरकार सुन्दैन । सरकारले नसुनेपछि मिडियामार्फत सुनाउनुपर्ने अवस्था छ । जिम्मेवारी निर्वाह गर्ने सम्बन्धमा अनुशासन र नियम–कानुनको पालना भएको देखिँदैन । कर्तव्य निर्वाह नगरे पनि कसैलाई डर छैन ” सांसद बजगाईँले भने ।
संसद्मा नकारात्मक सोच रहने गरेको गुनासो गर्दै उनले कसले कसलाई छिड्की हान्ने भन्ने प्रवृत्ति रहेको उल्लेख गरे । सामूहिक सकारात्मक एकताको कमी रहेको उल्लेख गर्दै उनले भने , “संसद्मा बेलिरहने हो । संसद्मा बोलेको कुरा मतदातालाई सुनाउन बोलेको जस्तो हुने हो । हाम्रो माननीयले बोलेको थियो त भन्नेमात्र हुने हो ।” उहाँ दुईपटक पार्टीको केन्द्रीय सदस्य र एकपटक प्रदेशसभा सदस्यमा पराजय व्यहोरे पनि राजनीतिमा निरन्तर सङ्घर्षशील रहिआएका छन् ।
हाल गोरखा क्षेत्र नं १ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले साना मुद्दामा पनि प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दा संसद्ले अपेक्षाअनुसार काम गर्न नसकेको बताए । सरकारले सुरुमा पर्याप्त ‘बिजनेस’ दिन नसकेकाले पनि सदनले पर्याप्त काम गर्न नसकेको उल्लेख गर्दै उनले भने , “यद्यपि पछिल्लो समयमा सरकारले दौडधुप गरेको छ, बिजनेस पनि दिइरहेको छ ।”
विसं २०२९ मा गोरखामा जन्मनुभएका उनी सानै उमेरदेखि नै नेपाल विद्यार्थी सङ्घबाट कांग्रेसको सक्रिय राजनीतिमा लागेका हुन् । विसं २०४८ मा कांग्रेसको क्रियाशील सदस्यता लिएका उनले पार्टीमा पदबिना काम गरिरहेको बताए । सांसद बजगाईँले भ्रष्टाचार र अनियमितताका विषयमा सत्य, तथ्य छानबिन गरी दोषीलाई जो–केही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दलबीच एकजुट हुनुपर्ने सुझाव दिए ।
फरक प्रसङ्गमा उनले संसद्को सांसद विकास कोषलाई कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको विषयप्रति असन्तुष्टि जनाउँदै यसले विधायिकी अधिकार कुण्ठित भएको टिप्पणी गरे । यो राज्यको शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलनको सिद्धान्तविपरीत भएको उनको टिप्पणी छ । सांसदको पहिलो काम कानुन निर्माण भएको र त्यसबाहेक जनताको अपेक्षा र जनताबीच गरेका वाचा पूरा गर्न पनि केही गर्नुपर्ने भनाइ उनको छ ।
“संविधानअनुसार हामीले जनतामा गरेको वाचा पूरा गर्न पनि केही विकास निर्माणका काममा सहभागी हुनैपर्छ, अहिलेको प्रणालीमा यो कहीँ न कहीँ जोडिन्छ । यसलाई अस्वाभाविकरूपमा लिनु हुँदैन । आफ्नो क्षेत्रको विकासको जिम्मेवारी हाम्रो पनि हो”, सांसद बजगाईँले भने , “भोट माग्दैमा त्यसरी नै मागिएको छ, यसलाई अन्यथा सोच्नु हँुदैन र यस्तो प्रचलन विश्वका धेरै देशमा रहेको छ । जनताले पनि त्यही अपेक्षा गरेका हुन्छन् ।” तर विकास निर्माण स्थायी शक्तिले नै गर्नुपर्नेमा भने उनको स्पष्ट धारणा छ ।
सदनमा सांसदको प्रस्तुतिका सन्दर्भमा सांसद बजगाईँले जनताका प्रतिनिधिको सर्वोच्च थलो सङ्घीय संसद्मा अनुशासित र संयमित भएर छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गरे । “सदनलाई मर्यादित तुल्याउन जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ”, सांसद बजगाईँले भने , “केही सांसदले कहिलेकाहीँ बोलको कुरामा कुन शब्द हटाउने कुन नहटाउने भन्नेमा सभामुखलाई पनि जानकारी नभएको जस्तो देखिन्छ ।”
कांग्रेसमा १२औँ महाधिवेशनदेखि नियमतिरूपमा पार्टीको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदै आउनुभएका उनले सदनमा कार्यगत एकता नदेखिने, सांसदहरू स्वतन्त्र नहुने र सकारात्क सोचभन्दा बढी नकारात्मक हुने गरेको उल्लेख गर्दै यसमा सुधारको खाँचो औँल्याए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments