भारतबाट भन्सार छलेर ल्याइएका च्याउले गर्दा नेपाली बजारलाई घाटा

- मंसिर ३, २०८० मा प्रकाशित


कासिन न्यूज,
जानकी (बाँके) ।

बाँकेको गाभार भ्यालीमा ३१ वर्षीय मिलन बस्नेतले च्याउखेती गर्दै आएका छन् । उनले एक बिघा जग्गामा छ वर्षदेखि गोब्रे प्रजातिको च्याउखेती गर्दै आएका हुन् ।
छ करोड लगानीमा निर्माण गरिएको च्याउ फार्ममा दुई भारतीय नागरिकसहित १३ जनाले रोजगारी पाएका बस्नेतले बताए । साथीहरुसँग मिलेर १० कठ्ठा जमिन भाडामा लिएको र बाँकी १० कठ्ठा आफ्नै जमिनमा खेती सुरु गरेको उनको भनाई थियो ।
भारतबाट इञ्जिनियरिङ ब्याचलर गरेका बस्नेतले परदेशमा दुख गरेर कमाएको पैसालेभन्दा आफ्नै माटोमा मेहनत गरेर फलाएको नतिजाले लोभ्याएको बताए । “उपयुक्त योजना बनाएर कार्यान्वयन गर्न सके आफ्नै देशमा सुन फलाउन सकिने रहेछ”, उनले भने, “अहिले फार्ममा १३ जनाले रोजगारी पाएका छन् । यो सबै योजना र मेहनतको प्रतिफल हो ।”

जग्गा भाडामा लिएर व्यावसायिकरुपमा गरिएको गोब्रे च्याउखेती थालेका मिलन र उनका साथीहरुलाई स्वदेशमै काम गर्न हौसला दिएको छ । बाह्रैमास च्याउखेती गर्दै आएका बस्नेतले यस वर्ष मात्रै एक लाख केजी च्याउ फलाएका छन् । उक्त च्याउ सुदूरपश्चिमको धनगढी, बाँकेको नेपालगञ्ज र कोहलपुर, सुर्खेत, दैलेख, दाङ र काठमाडौँको कालीमाटीलगायत ठाउँमा पठाउने गरेको उनले बताए ।

बस्नेतका अनुसार च्याउ फलाउनका लागि चार वटा एसी जडान गरिएको कोठा निर्माण गरिएको छ । एउटा कोठामा १० टनको एसी जडान गरिएको भनाई उनको थियो । च्याउको बीउ छरेर उमार्नलाई १६ डिग्री तापक्रम चाहिने मिलनले बताए । “च्याउ उमार्नलाई १६ डिग्रीको तापक्रम चाहिन्छ । च्याउ आफैँमा असाध्यै नै संवेदनशील प्रजातिको भएकाले यसलाई उमार्न तापक्रममा निकै ध्यान दिनुपर्ने हुन्छ”, उनले भने ।

काठमाडाँैको कालीमाटीमा च्याउ पठाउँदा प्रतिकिलो रू ६० का दरले जहाजमार्फत पठाउने गरेको मिलनले जानकारी दिए । “हामीले यहाँबाट काठमाडौँको कालीमाटीमा पनि च्याउ पठाउने गरेका छौँ”, उनले भने , “त्यहाँ प्रतिकेजी रू ६० का दरले जहाजमार्फत पठाउने गरेका छौँ ।” धेरै मेहेनत गर्नु नपर्ने र बजारभाउ पनि राम्रै हुने भएकाले च्याउखेती गर्दा सन्तुष्टि मिलेको उनको भनाई छ ।

बीउ छरेको लगभग एक महिनामा च्याउ टिप्नलाई तयार हुने मिलनले बताए । च्याउ खेतीमा राम्रो सम्भावना भए पनि भन्सार छली गरेर आयात गरिएका भारतीय च्याउका कारण स्वदेशी च्याउले राम्रो बजार भाउ पाउन नसकेको उनले गुनासो गरे ।
“हामीले आफ्नो सबै लगानी लगाएर, दुःख र मेहनतका साथ च्याउ फलाएका हुन्छौँ । बेच्ने बेलामा भारतबाट भन्सार छलेर ल्याइएका च्याउ नेपाली बजारमा सस्तो मूल्यमा आइपुग्छ । यसले गर्दा हाम्रो च्याउले बजार भाउ पाउन सकिरहेको छनै”, बस्नेतले भने , “भन्सार छली गरेर ल्याइने भारतीय च्याउमा प्रशासनको ध्यान जानसक्यो र आयातित च्याउ भित्रिन पाएन भने हामीलाई च्याउखेतीमा अगाडि बढ्न सजिलो हुन्छ ।”
उनका अनुसार प्रतिदिन नेपालगञ्ज बजारमा दुई सयदेखि पाँच सय केजी भारतीय च्याउ आउने गर्दछ । प्रतिकेजी साढे तीन सयदेखि चार सय रुपैयाँमा नेपालमा उत्पादन गरिएको च्याउ बिक्री हुने भन्दै भारतबाट आयात गरिएको च्याउ प्रतिकेजी डेढ सयमा बिक्री हुने गरेको बस्नेतको भनाई छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङले भन्सार छली गरी ल्याइने च्याउलगायत अन्य तरकारीका विषयमा सिमा नाकामा अनुगमनलाई कडा गरिएको बताए । “हामीले च्याउमात्र नभई भन्सार छली गरेर ल्याइने अन्य सामान नेपाल भित्रन नपाओस् भनेर अनुगमनलाई कडाइकासाथ पालन गरेका छौँ”, उनले भने , “सीमानाकामा जाँच कडाइ गर्दागर्दै पनि अन्यत्र बाटा प्रयोग गरी सामान भित्र्याइन्छन् । यसतर्फ प्रशासनले सम्बन्धित निकायसँग समन्वय गरी अनुगमनलाई अगाडि बढाइरहेको छ ।”

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर