त्रासका बिच पठनपाठन : परम्परागत रुपमा पढाउन थाल्दा विद्यार्थीमा मनोवैज्ञानिक रुपमा असर पर्न सक्ने सम्भावना
- मंसिर ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
शैक्षिक मनोविदहरुको सल्लाहलाई मान्ने हो भने विद्यालयमा पाठ्यपुस्तक पढाउनुभन्दा विद्यार्थीलाई सिर्जनात्मक गतिविधिमा लगाउनुपर्ने देखीन्छ । विद्यार्थीलाई कक्षा कोठाभित्र भन्दा पनि उनीहरुले सुरक्षित महसुस गर्ने खुला चौर वा त्रिपालमुनि राख्न सकिने सुझाव उनीहरुको छ । ‘यदि कुनै बालबालिका अभिभावकसँग बस्न खोज्छन्, विद्यालय जान मानिरहेका छैनन् भने जबर्जस्ती गर्न नहुने राय पनि उनीहरुको छ ।
परम्परागत रुपमा पढाउन थाल्दा विद्यार्थीमा मनोवैज्ञानिक रुपमा असर पर्न सक्ने भएकाले स्थानीय तह र शिक्षकहरु सचेत हुनुपर्ने उनीहरुको सुझाव छ । तर जाजरकोटको नलगाड नगरपालिका–८ हल्चौरको पञ्चभयार मावि भूकम्पपछि पहिलो दिन खुल्दा ६ वटा कक्षाका विद्यार्थीले खुला चौरमै बसेर पढे । विद्यालयका साना ठूला गरी ५ वटा भवन थिए, २ वटा पूर्ण रुपमा क्षति भएको छ भने बाँकी ३ वटा भवनमा पनि क्षति पुगेको छ ।
तुलनात्मक रुपमा कम क्षति भएको भवनको ४ वटा कक्षाकोठामा कक्षा १, २, ५ र ६ को पढाइ सञ्चालन भयो । ‘अरु कक्षाका विद्यार्थीलाई प्रांगणमै राखेर पढाइयो’ विद्यालयका निमित्त प्रधानाध्यापक वीरबहादुर खत्रीको भनाई छ ।
भर्खरै बनेको नयाँ भवनको एउटा कोठामा काठ थुपारिएकाले त्यसलाई पन्छाएर पढाइ सञ्चालन गर्ने विद्यालयको तयारी छ । त्यति गर्दा पनि ५ वटा अस्थायी भवन बनाउनुपर्ने उनको भनाइ छ । ‘युनिसेफले ५ वटा त्रिपाल दिने खबर पाएका छौं, बाँसको टहरा बनाएर त्रिपालको छानो बनाउने योजना छ’, उनले भने ।
१० कक्षासम्म पढाइ हुने विद्यालयका ४७९ विद्यार्थीमध्ये सोमबार पहिलो दिन १३३ जना विद्यार्थी उपस्थित भएका थिए । गाउँमा घरहरु भत्किएको र परकम्प गइरहेका कारण विद्यार्थीहरु डराएका छन्’ निमित्त प्रधानाध्यापक खत्रीले भने, ‘हामीले आज हाजिर गरेर भूकम्पदेखि डराउनुपर्दैन । भवन भत्कियो भनेर पढाइ नहुने कुरा हुन्न अब अस्थायी टहरामा भए पनि नियमित पडढाइ हुन्छ भन्यौं ।’
१सय ५४ जनाको ज्यान जाने गरी १७ कात्तिकको राति जाजरकोटको रामीडाँडा केन्द्र भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका धेरै विद्यालय भवन भत्किएका छन् । कतिपय विद्यालयका विद्यार्थी र शिक्षकको मृत्यु भएको छ । अहिले पनि परकम्पहरु गइरहेका छन् । भूकम्पको त्रासका बाबजुद विद्यार्थी सोमबारदेखि पुनः विद्यालय आएका छन् ।
कतिपय विद्यालयले खुला चौरमा र कतिपयले अस्थायी टहरामा राखेर कक्षा सञ्चालन गरेका छन् । ‘बालबालिकाको मनोवैज्ञानिक त्रास कम गर्नका लागि विद्यालयसम्म ल्याएर सिकाइमा सहजीकरण गर्नुपर्छ भनेर आजदेखि कक्षा सुरु गरेका छौं’ रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टले भने ।
आठबिसकोटका ६४ विद्यालयमध्ये ५२ वटा विद्यालयमा क्षति पुगेको छ र ९ हजार ८४४ विद्यार्थी प्रभावित छन् । ११ जना विद्यार्थी र एक कार्यालय सहयोगीको मृत्यु भएको छ । करिब एक हजार ४ सय विद्यार्थीको शैक्षिक सामग्रीमा र ७६ वटा शौचालयमा क्षति पुगेको छ ।
छानाको लागि त्रिपाल, वरीपरी बार्नका लागि सिपोलिन, भुईंमा ओछ्याउन प्रिफर्म, विद्यार्थीको सिकाइ सामग्री, अस्थायी शौचालयको लागि आवश्यक सामग्री युनिसेफले दिन थालेको विष्टले जानकारी दिए । सोमबार ५ वटा विद्यालयको लागि आवश्यक सामग्री उपलब्ध भएको छ ।
जिल्ला शिक्षा समन्वय इकाइ रुकुम पश्चिमका प्रमुख तारा पुनका अनुसार जिल्लाभरका ६१ हजार विद्यार्थीमध्ये साढे १२ हजार जना प्रभावित भएका छन् । भूकम्पले जिल्लाका २ सय ८८ विद्यालयमध्ये ५२ वटा विद्यालयको भवन पूर्ण रुपमा भत्काएको छ । ५६ वटा विद्यालय सबलीकरण नगरी पठनपाठन सञ्चालन गर्न नसक्ने अवस्था छ । भूकम्पमा परी १८ जना विद्यार्थीको र एक कार्यालय सहयोगीको मृत्यु भएको छ । एक विद्यार्थी र एक शिक्षक घाइते भएका छन् ।
जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख पुनका अनुसार खुला चौरमा राखेर भएपनि विद्यार्थीलाई सामान्य दिनचर्यामा फर्काउने प्रयास भइरहेको छ । ‘तत्काल खुला चौरमा राखेर भएपनि बालबालिकालाई सामान्य दैनिकीमा फर्काउने भन्ने छ । आजदेखि कतिपयले सुरु गर्ने र कतिपयले छिट्टै सुरु गर्ने तयारी गरिरहेको जानकारी आएको छ ।’ भवन भत्केका विद्यालयहरुले स्थानीय तहको सहयोगमा अस्थायी सिकाइ केन्द्र निर्माण गरिरहेको उनको भनाइ छ ।
जाजरकोटको भेरी नगरपालिका र नलगाड नगरपालिकाले जोखिममा रहेका विद्यालयमा सुरक्षित स्थान छनौट गरी कक्षा सञ्चालन गर्ने निर्णय गरेका छन् । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयहरूलाई पालिकासँगको समन्वयमा पठनपाठन सञ्चालन गर्न भनिएको बताए । उनका अनुसार, भेरी नगरपालिकामा ५६ वटा विद्यालयमा १२ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् ।
।जाजरकोटको कुशे गाउँपालिकामा सोमबारदेखि नै विद्यालय खुलेका छन् । ‘जोखिममा रहेका विद्यालयहरूले तत्कालका लागि नजिकको सुरक्षित स्थानमा कक्षा चलाउने निर्णय भएको छ’, गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले भने । कुशे गाउँपालिकामा ५५ वटा विद्यालय छन् । तिनमा कम्तीमा ९ हजार जना विद्यार्थी छन् ।
जाजरकोट जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख रमेश मल्लका अनुसार जिल्लाका ४२३ विद्यालयमध्ये २९० विद्यालयको भवन पूर्ण क्षति भएका छन् । अधिकांश विद्यालय सवलीकरण नगरी पठनपाठन गर्न सकिने अवस्था छैन । भूकम्पबाट जिल्लाका करिब १० हजार विद्यार्थी प्रभावित भएको अनुमान छ । इकाइका अनुसार भूकम्पबाट ३२ जना विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ । ३६ जना विद्यार्थी र दुई शिक्षक घाइते भएका छन् । जाजरकोटका क्षतिग्रस्त विद्यालयमा अस्थायी केन्द्र बनाउन सुरु गरिएको छ । युनिसेफ र सेभ द चिल्ड्रेनले सहयोग गरेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments