राजनीतिमा स्याल हुँइया : भर्खर उडेर आएको पन्छिले हल्लायो राज्य

- मंसिर ६, २०८० मा प्रकाशित


सुधीर नेपाल

राष्ट्रिय राजनीतिमा निकै अग्रसर भएर आएको नेकपा माओवादी केन्द्र अहिले गलित अवस्थामा पुगेको छ । राज्यमा परिवर्तन ल्याउँछु । राज्यको लागि केही गर्छु भन्दै जनताको माझमा पुगेको माओवादी केन्द्र अहिले दोधारको स्थितीमा छ । नेपालीमा एउटा उखान छ पाप धुरीबाट कराउँछ भन्ने । त्यहि पाप अहिले धुरीबाट कराउन थालेको भान नेपालीहरुले गर्न थालेका छन् ।
सबै दलको राजा भनेर आफूलाई अगाडी सारेको माओवादी केन्द्रलाई अहिले एउटा भर्खर उडेर आएको पन्छिले सताएको छ । माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्न पुगेका महामहिम अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड अहिले देशको प्रधानमन्त्री छन् ।

उनकै दलका अर्का वरिष्ठ नेता नारायण काजी श्रेष्ठ गृहमन्त्री छन् । तर दाहाल नेतृत्वको सरकार अहिले एमालेको भातृ संगठन युवा संघ र बिगतमा विभिन्न दलहरु चाहारेर आएका मेडिकल व्यवसायी दुर्गा प्रसाई देखी डराएको भान नेपाली जनताहरुले गर्न थालेका छन् ।बिगतमा यस्ता प्रर्दशनहरुको लामो यात्रा गरेका नेपाली जनहरुमा अहिले सन्त्रास फैलिन थालेको छ । त्यो सन्त्रासको मुल कारण भनेको दाहाल नेतृत्वको सरकार नै हो । अहिले हरेक जनको भिन्न भिन्न आंकलन अगाडी आईरहेको छ । जसको कारणले सामान्य बिहान बेलुका काम गरेर खानेहरु देखी शिक्षा क्षेत्रमा लागेका शिक्षा सेवीहरुमा सन्त्रासको एउटा बातावरण सिर्जना हुन् थालेको छ । अहिले सबैको मुखमा मंसिर ७ गते बिहिबार के हुन्छ भन्ने प्रश्न ठडिएको छ ।

प्रर्दशनले कस्तो मोड लिन्छ भन्ने एक प्रकार बेकामे प्रश्न तैरिन थालेको छ । यो सबैको मूल जड भनेको दाहाल नेतृत्वको सरकार नै हो ।एउटा सामान्य नेपाली जनलाई सुरक्षाको प्रत्याभूती दिन नसक्ने दाहाल नेतृत्वको सरकारमा अब जनको विश्वास कहाँ होला त्यो अर्को सोच्नु पर्ने बिषय हो । झन् सरकारको माथिल्लो निकाय प्रशासन संयन्त्रले नै बिज्ञप्ती प्रकाशीत गर्न थालेपछि अब जन ले कस्को बिश्वास गर्ने त्यो पनि अर्को प्रश्न हो । १० वर्षे जनयुद्धको नेतृत्व गरेर जनताको बिश्वास जितेर राज्य सत्तामा आफनो प्रभुत्व कायम गर्न सफल भएका प्रधानमन्त्री दाहाल साच्चै डराएका हुन् ।

नत्र किन यस्तो हँगामा ? जन ले यो प्रश्न पनि गर्छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीको निकट भएर काम गरेका प्रसाई कुनै दिन अध्यक्ष ओलीका दाहिने हात मानिन्थे । अहिले अध्यक्ष ओलीको सम्पत्ति बारे हल्ला गरेर चर्चा बटुलिरहेका प्रसाई स्वयंको अर्बौ माथि कर्जा छ भनेर सुनिन्छ । हुन् त प्रसाई मेडिकल व्यवसायी हुन् कर्जा नहुने कुरै भएन । यता युवा संघका नेता बस्नेत आफना अध्यक्ष ओलीको लागी लडिरहेका छन् । उनले प्रसाईलाई ओलीको सम्पत्ति बारे प्रमाणित गर्न ठूलै चुनौती दिएका छन् ।
झापाका प्रसाई र युवा संघका नेता भक्तपुरका बस्नेत दुबै राजनीतिक चर्चाको खेती गर्न माहिर मानिएका राजनीतिककर्मी हुन् । सामाजिक सञ्जाल र मिडियामा देखीएर चर्चामा आउनको लागि यी दुई राजनीतिककर्मीहरुलाई सिकाई रहनु पर्दैन् । ओली नेतृत्वले नै अगाडी तानेको व्यक्ति प्रसाई । अहिले किन यसरी ओली विरुद्ध जाँदै छन् भन्ने प्रश्नहरु सडकका चिया पसलका चर्चाका बिषय बनेका छन् ।
कतिले त प्रसाई कर्जाले गर्दा पागल हुन् लागेका रे पनि भन्ने गर्छन् । कतिले पैसाको भरमा आफ्ना अभिलाषा पूर्ण गर्न कसिएका भनेर आरोप लगाउने गर्छन् । प्रसाई अहिले पूर्ण रुपमा गणतन्त्र बिरोधी भएका छन् । राजतन्त्रको वकालत गर्दै हिंडेका प्रसाईलाई टिकटक बन्दले पनि सताएको रहेको छ ।अहिले सामाजिक सञ्जालमा आफनो चर्चा चुलिएकोमा प्रधानमन्त्री दाहाल डराएको जस्ता मनगणन्ते कथाहरु बाचन गर्न थालेका छन् प्रसाई ।
जहिले पनि आफनो क्षमता भन्दा अरुको आड भरोसामा रम्ने गुण पालेका भक्तपुरका बस्नेत र झापाका प्रसाईलाई राजनीतिक नौटंकीमा कसैले पनि उछिन्न सक्दैन भन्ने कुरामा केही सत्यता पनि देखीन थालीएको छ । अब प्रतिक्षा गरौै मंसीर ७ मा देखाइने भनिएको प्रसाई र बस्नेतको नाटक मञ्चनको पूर्व तयारीमा सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाल डराएको अनुभव अहिले नेपाली जन ले गर्न थालेका छन् । नत्र यस्तो बिघ्न स्याल हुँइयाको आवश्यक नै थिएन । नेपालमा यस्ता आन्दोलन र प्रर्दशन नभएका होइनन । र यस्ता प्रर्दशनमा अनुभव नेपाली जनहरुले नलिएका पनि होइनन ।
भनिन्छ ओरालो लागेको बाघलाई मृगले पनि खेद्छ । यहाँ त्यस्तै अनुभूति गराउन खोजिदै छ ।

थोरै कुरा सत्य भए पनि धेरै कुरामा गलत प्रचार गरिदै छ । स्याल हुँइया चलाइदै छ । खोलाको किनारमा एउटा स्याल कराउँछ अनि त्यस क्षेत्रका सबै स्यालहरुले सो क्षेत्रलाई अरु प्राणी नै नभएको जस्तै स्यालमय बनाइदिन्छन् । केही समयको लागि अरु प्राणीको कुनै आवाज नै सुनिदैन । स्मरण रहोस् यो स्याल हुँइया केही समय पछि स्वतः बन्द हुने गर्दछ । अझ यहाँ अचम्म मान्नुपर्ने कुरा के छ भने समाजमा असल मानिने व्यक्तित्व पनि स्याल हुँइयाको रोगले ग्रसित भएको अनुभव गरिएको छ । आशा राखौँ, वहाँहरुलाई यस रोगबाट छिटोभन्दा छिटो छुट्कारा मिल्नेछ , अन्यथा यो समाज अझै पनि कागकै पछि लागेर आफ्नो कान छाम्न बिर्सिरहने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर