सुरक्षा नजर : प्रसाईं नेतृत्वको प्रदर्शनमा ९ हजार भन्दा धेरै प्रदर्शनकारी – युवा संघको प्रर्दशनमा ७ हजार सहभागी

- मंसिर ७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

काठमाडौंमा बिहिबार कम्युनिष्टहरुको ठूलो दलको रुपमा रहेको नेकपा एमालेको भातृ संगठन युवा संघ र चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको समूहले आ आफनो शक्ति प्रर्दशन गरेका छन् । प्रसाईं नेतृत्वले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का समर्थकहरूले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बिहीबार काठमाडौँको बल्खुमा प्रदर्शन गरेका थिए ।
भने युवा संघले तिनकुनेमा प्रर्दशन गरेको थियो । युवा संघको भन्दा निकै हिसांत्मक शैली प्रस्तुत भएको प्रसाई नेतृत्वको समूहलाई कन्ट्रोल गर्न नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो ।
दुवै समूहले माइतीघरमा प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले फरक–फरक स्थान तोकेर माइतीघरमा ‘निषेधाज्ञा’ जारी गरेको थियो ।
प्रसाईं नेतृत्वको प्रदर्शनमा ९ हजार भन्दा धेरै प्रदर्शनकारी सहभागी भएको रिपोर्ट सुरक्षा निकायले गृह मन्त्रालयमा बुझाएको छ । गृह मन्त्रालयका एक अधिकृतका अनुसार ‘बल्खुमा ९ हजार भन्दा केही बढी प्रदर्शनकारी सहभागी भएको रिपोर्ट सुरक्षा निकायको छ ।’
तीनकुनेमा युवा संघले गरेको प्रदर्शनमा ७ हजारको सङ्ख्यामा सहभागिता रहेको सुरक्षा निकायको आकलन छ । गृह मन्त्रालयका ती अधिकृतले भने–‘युवा संघको कार्यक्रममा ७ हजार हाराहारीमा सहभागिता रहेको आकलन छ ।’

बल्खुमा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ता बिच एकपटक र प्रहरीसँग दुई पटक झडप भएको छ । प्रदर्शन सुरु हुनुअघि नै बल्खु चोकमा प्रसाईं समर्थक समूह र युवा संघका कार्यकर्ता बिच झडप भएको हो । कीर्तिपुरबाट तीनकुनेतर्फ आउँदै गरेका युवा संघका कार्यकर्तालाई प्रसाईं समर्थक सन्तोष राजावादी सहितका युवाहरूले ढुंगा हानेपछि झडपको अवस्था आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकृतले कासिन सँगको कुराकानीमा बताए ।
ती अधिकृत भन्छन्–‘सन्तोष राजवादी सहितका युवाहरूले ढुंगा हानेपछि झडपको अवस्था सिर्जना भएको थियो ।’ बल्खु स्थित पुलमा भएको सो ढुंगा हानाहानबाट केही मोटरसाइकल र गाडीमा क्षति पुगेको छ ।

प्रसाईंले प्रदर्शन स्थलमा सम्बोधन गरेर हिँडेपछि आन्दोलनकारी र प्रहरी बिच दुईपटक झडप भएको छ । सुरक्षा कर्मीको घेरा तोडेर प्रदर्शनकारीहरू कालिमाटी तर्फ जान खोजेपछि झडपको अवस्था आएको सुरक्षा अधिकारीहरू बताउँछन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले भने–‘प्रदर्शनकारीहरू माइतीघर तर्फ जाने भन्दै घेरा तोड्न लागेपछि झडपको अवस्था आयो ।’ प्रहरीको घेरा तोडेर प्रदर्शनकारी कालिमाटी तर्फ अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहरा प्रहार गरेर रोकेको थियो ।

आन्दोलनकारी चढ्ने गाडीको साँचो पनि प्रहरीले खोसेको आरोप छ । तेस्रो पटकको झडपमा प्रहरीले पानीको फोहरा हानेर स्थिति नियन्त्रणमा लिएको छ । स्थिति नियन्त्रणमा लिन १५७ सेल अश्रुग्याँस र १ राउन्ड रबर बुलेट प्रहार गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर