सुनमालालाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश : पक्राउ परेका ९ जना पुर्पक्षका लागि थुनामा
- मंसिर १६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आलुको बोरामा सुन लुकाएर तस्करी गर्दैगर्दा दोलखा प्रहरीले बिगु गाउँपालिका–१ लमाबगरबाट ४ किलो, जामुने भन्ने ठाउँबाट ३ किलो र सुनसँगै पक्राउ परेकाहरुको वयानको आधारमा लामाबगरमा ढुंगा मुनि लुकाएको अवस्थामा थप ४ किलो गरी जम्मा ११ किलो सुन बरामद गरेको थियो । यही ११ किलो सुन बरामद प्रकरणमा अनुसन्धान गरी २६ जनाविरुद्ध अभियोगपत्र दायर भएको थियो ।
यसरी चीनबाट दोलखा हुँदै ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नौ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । तीनजनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएएको छ ।
जिल्ला अदालत दोलखाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठले शुक्रबार नौ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र तीन जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।
चिनियाँ नागरिकसँग मिलेर सुन तस्करीमा संलग्न महिमा माझीबाट १ करोड ७९ लाख ४० हजार रुपैयाँ, दीपेन्द्रराज शाक्यबाट ९३ लाख ५० हजार रुपैयाँ र तिलक विकबाट ८८ लाख रुपैयाँ धरौटी लिन अदालतले आदेश दिएको छ । महिमा विरुद्ध ३१ करोड ११ लाख ७० हजार ४४६ रुपैयाँ १५ पैसा विगो तथा दिपेन्द्र शाक्य र तिलक विकविरुद्ध २० करोड ७४ लाख ४६ हजार ९६४ रुपैयाँ १० पैसा विगो कायम गरी मुद्दा दायर भएको थियो ।
यही समूहका दावा भन्ने आकार लामा, टासी भन्ने गेङ्रु, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लालबहादुर तामाङ, केशर तामाङ र माधव कुमार मगरलाई थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय पठाइदिन अदालतको आदेश छ ।
केशर तामाङ र माधव कुमार मगरले ११ किलो सुन बोरामा राखेर ओसार पसार गर्दै लुकाइछिपाई राखेको अवस्थामा बरामद भएको थियो । यसैगरी सुनमाला तामाङ र चेतनाथ न्यौपानेलाई भने साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
पक्राउ परेकामध्ये चिनियाँ नागरिक गेङ्रुले नै चीनबाट सुन मगाएर काठमाडौंमा बेच्ने गरेको पाइएको थियो । यो गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेको थियो ।
पछिल्लो समय सुनसहितको आलुको बोरा लुटिएपछि यो विषय प्रहरीसम्म पुगेको थियो । त्यही अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्नहरु पक्राउ परेका थिए ।घटनाबारे जिल्ला प्रहरी कार्यालय, दोलखाबाट अनुसन्धान भइरहे पनि यसमा संगठित अपराधको कसुर पनि आकर्षित हुने भएपछि सीआईबीले पनि अनुसन्धान गरेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments